बिहीबार, वैशाख १३, २०८१

कार्यालयमै तास खेल्ने सिडिओसहित ३ सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो

मेरोन्यूज २०७८ कार्तिक ८ गते ११:५२

काठमाडौँ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाही जिल्लाका ३ जना सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाईएको छ ।

गृह मन्त्रालयका अनुसार सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ भने प्रहरीका एसपी राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ र सशस्त्र प्रहरीका एसपी श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको छ ।

उनीहरुले कार्यालय परिसर भित्र नै तास खेलेको भन्दै गृहमन्त्रालयले विभागीय कारबाही गरेको हो । कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनीहरूमा कारबाही गर्न गृह मन्त्रालयमा गत कात्तिक ४ गते छलफल भएको थियो । गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव टेकनारायण पाण्डेलाई घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

जुवातास खेल्नु कानुनविपरीतको काम हो । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा ९ महिना कैदको व्यवस्था गरेको छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया