मंगलबार, चैत ६, २०८०

प्रधानमन्त्रीकै जिल्लाको एउटा विभत्स हत्या : ४ महिना बित्यो, हत्याराबारे छैन कुनै ‘क्लु’ !

दया दुदराज २०७८ कार्तिक ७ गते १४:०६

काठमाडौँ । अस्मिता देवी धामीको हत्या भएको ४ महिनाभन्दा बढी समय भएको छ । तर उनको हत्यामा संलग्न कुनै अभियुक्त समक्ष प्रहरी पुग्न नसक्दा अनुसन्धान थप जटिल बन्दै गएको छ । हत्याको ४ महिना पुग्दासमेत प्रहरीले हत्यामा संलग्नबारे कुनै ‘क्लु’ फेला पार्न नसक्दा थप जटिल बन्दै गएको हो ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन हिँडेकी डडेलधुरा जिल्लाकको परशुराम नगरपालिकास्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता देवी धामीको हत्या भएको चार महिना पूरा भएको छ । तर, उनको हत्यामा संलग्न कुनै अभियुक्तको नजिक प्रहरीपुग्न सकेको छैन ।

गत असार ६ गते मृत अवस्थामा फेला परेकी २६ वर्षीय धामीको २ असारमा हत्या गरिएको प्रहरीले पुष्टि गरेको थियो । उनको हत्या भएको ४ महिना बित्दासमेत प्रहरीले घटनासँग सम्बन्धित कुनै अभियुक्तको नजिक पुग्न सकेको छैन ।

परशुराम नगरपालिका ८ स्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत २६ वर्षीय धामी कोरोनाविरुद्ध भेरोसेल खोप पुर्याउन जोगबुढा अस्पताल पुगेकी थिइन् । तर, उनले अस्पतालमा खोप पुर्याउन पाउँदा नपाँउदैबीच बाटोमा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक (ईन्सपेक्टर) राजेन्द्र चन्दले जानकारी दिए ।

अनुसन्धान गर्न सिआईबी
धामीलाई परशुराम नगरपालिका ९ स्थित हट्वानी सामुदायिक जंगलमा परिवारले मृत अवस्थामा फेला पारेको थियो । परिवारले प्रहरीलाई खबर गरेसँगै सोही दिन घटनाबारे अनुसन्धान सुरु भएको थियो ।

Advertisement

घटनालगत्तै अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीसमेत पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुरा, सुदुरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले यस घटनाको अनुसन्धान थालनी गरेको थियो । तर, प्रहरीको ठूलो टोली खटाइए पनि घटनालाई निचोडमा पुर्याउन सकेको छैन । घटनाको कुनै निचाड निकाल्न नसकेपछि उक्त घटनाको छानबिन गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)समेत लागि परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्दका अनुसार घटनाको उचित छानबिनका लागि सिआईबीले समेत मद्दत गरीरहेको हो । उनले भने,‘हामीले प्रहरीका विभिन्न निकायहरुसँग समन्वय गरेर काम गरी रहेका छौ । सिआईबीले समेत हामीलाई सहयोग गरीरहेको छ ।’

के गर्दै छ प्रहरी ?
घटनाको अनुसन्धानका लागि ठूलो समूह खटाइएको छ । तर, घटनाले कुनै निचोड पाउन सकेको छैन । अस्मिताको घटनालाई विशेष ध्यानमा राखेर अनुसन्धान निरन्तरता दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक (एसएसपी) विक्रम बहादुर चन्दले मेरोन्युजलाई बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्र चन्दका अनुसार घटनाको थप अनुसन्धान जारी छ । पछिल्लो अनुसन्धानको अवस्थाबारे बुझ्दा जिल्ला प्रहुरी कार्यालयका प्रहरी प्रवक्ता चन्दले आफूहरु पुर्ण निष्टाका साथ अनुसन्धानमा लागिरहेको बताएका छन् । उनले भने,‘हामी अनुसन्धानमै छौ, ठ्याक्कै यही मितिमा अभियुक्त पक्राउ पर्छ भन्ने त छैन तर ढिलो चाडो अभियुक्त पक्राउ पर्छ ।’

प्रहरीले के–के गर्यो ?

असार ६ मा अस्मिताका श्रीमान र देवरसहित गाउँलेले अस्मिताको शव फेला पारेका थिए । त्यससँगै उनकी देवर दिनेशले जिल्ला प्रहरी कार्यालयमा खबर गरे । खबर प्राप्त पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान र शवको प्रकृति हेर्दै हत्या भएको पुष्टि गरेको थियो । दिनेशले मेरोन्युजसँग भने, ‘भाउजुको अनुहारमा चोट थियो, उनको चप्पल नजिकै एउटा ढुंगा थियो, शवलाई घिसारेर एउटा सालको बुटोमा अड्किएको अवस्थामा राखेको भेटियो ।’

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरीक्षक चन्दले शवको अवस्था र घटनाको प्रकृतिलाई हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरे । शव पोष्टमार्टमका लागि प्रहरीले जोगबुढा अस्पताल पुर्यायो । पोस्र्टमार्टम रिपोर्टमा हत्या गरिएको पुष्टि भएको थियो ।

न्यायको आशामा परिवार
अस्मिताका परिवारहरुले न्याय पाउने आशा गरेका छन् । अस्मिता देवीकी देवर दिनेश धामीले आफुहरु न्याय पाउने आशामा रहेको बताएका छन् । उनले भने,‘घटना घटेको आज ४ महिना बढी भयो केही न केही त होला नी, प्रहरीले आशा लाग्दो काम त गरेको पाईएको छैन तर उहाँहरुको आश्वासनकै भरमा न्याय पाउँने आशामा बसेको ४ महिना बढी भयो । अब पनि पाईन्छ की भन्ने आशा छ र हामी निरन्तर सम्बन्धीत निकायमा घचघच्याई रहेका छौँ ।’

प्रहरीले कुनै अभियुक्त सार्वजनिक गर्न नसकेपछि जनस्तरबाटै संघर्ष समिति गठन गरिएको थियो । प्रहरीको ढिला सुस्तीका कारण तीव्र गतिमा काम गराउन संघर्ष समिति गठन गरिएको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इञ्चार्ज रमेश बोहेराले जानकारी दिए ।

प्रहरीले घटनाबारे कुनै चासो नदेखाएपछि उनीहरू प्रहरी कार्यालय अगाडि उत्रिएका हुन् । स्थानीय जनप्रतिनिधि र सम्बन्धित इकाईहरूले कुनै चासो नदिएपछि संघर्ष समितिले धर्ना दिएको उनले बताए । ‘न त जनप्रतिनिधिले चासो दिएका छन्, न प्रहरीले नै, के भयो, कस्तो भयो हामीलाई केही अत्तोपत्तो छैन,’ उनले भने, ‘हामीले केही प्रश्न गर्यौं भने अनुसन्धानमा छौँ भन्दा केही भन्दैनन्, यस्तो हर्कतले आजित भएर न्यायका आएका हौँ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया