शुक्रबार, चैत १६, २०८०

कोलम्बिया सरकारको मोस्ट वान्टेड सूचिमा रहेका कुख्यात लागुऔषध कारोबारी उसुगा पक्राउ

मेरोन्यूज २०७८ कार्तिक ७ गते ९:२०

काठमाडौँ । कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ परेका छन् । कोलम्बियाको सरकारले ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई पक्राउ गरेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट पक्राउ गरिएको राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।

पक्राउ परेका उसुगामाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेको लगायत आरोप छ ।

राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको बताएका छन् । उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो ।

उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए । उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन् । कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो ।

Advertisement

कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख इनाम दिने घोषणा गरेको थियो । अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो ।

प्रतिक्रिया