शुक्रबार, चैत १६, २०८०

प्रचण्ड बेला-बेला किन धाउँछन् रिसोर्ट ?

तीन महिनामा ४ पटक ‘रिफ्रेसमेन्ट’का लागि प्रचण्ड राजधानी नजिकैका रिसोर्टमा

शित्तल शर्मा । काठमाडौं २०७८ कार्तिक ५ गते १३:५७

नेकपा (माओवादी) केन्द्र अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अचेल राजनीतिक मात्र होइन, मिल्दासम्म परिवारलाई पनि समय निकाल्छन् । अहिले उनका नाति प्रशिद्ध दाहालको स्कुल बिदाको सयम हो । उनी स्कुल छुट्टीमा हजुरबा (प्रचण्ड)सँग र अन्यबेला आमा (सिर्जना)सँग बस्छन् । उनैले योपटक प्रचण्डलाई कतै घुमाउन लैजान प्रस्ताव गरे ।

स्कुल छुट्टीमा हजुरबा–हजुरआमासँगै बस्न आएका नातिले समय निकालेर घुमाउन र ‘रिफ्रेसमेन्ट’का लागि लैजान आग्रह गरेपछि प्रचण्डले नकार्न सकेनन् । उनैलाई सोधे– कहाँ जाने ?

प्रशिद्धले नै जवाफ दिए – सिन्धुपाल्चोक सुकुटे । त्यसपछि बनेको थियो, प्रचण्ड परिवारको पछिल्लो सुकुटे पारिवारिक ‘रिफ्रेसमेन्ट’ भ्रमण ।

बिहीबार (४ कात्तिक)मा स्थायी कमिटीको बैठक बिहान पार्टी मुख्यालय पेरिसडाँडामा सकेर प्रचण्ड परिवार दिउँसो २ बजे खुमलटारबाट सिन्धुपाल्चोकको सुकुटेका लागि निस्केका थिए । ४ बजे प्रचण्ड परिवार त्यहाँ पुगे ।

सुकुटे ‘रिफ्रेसमेन्ट’का लागि प्रचण्ड गइरहने रोजाई मध्येमै पर्छ । तर, यसपटक उनी झण्डै ३५ महिनापछि मात्र सुकुटे पुगेका हुन् । सुकुटेमा पुग्दा उनको बस्ने रिसोर्ट सधै एउटै हुन्छ- भोटेकोशी बीच रिसोर्ट ।

Advertisement

त्यहाँ पुग्दा उनले र्‍याफ्टिङसमेत गर्ने गर्छन् । योपटक पनि उनले र्‍याफ्टिङ गरेका थिए । यसपटक सुकेटबाट फर्किदा प्रचण्डले काभ्रे धुलिखेलमा जीपलाइन समेत गरेका छन् ।

यसअगाडि उनी २०७५ पुस २२ गते सुकुटे पुगेका थिए । एक रात त्यहाँ बसेर फर्केपछि उनले भोलिपल्टै अर्थात पुस २३ मा तत्कालीन नेकपाका उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटीमा नेकपाको बहुमत सचिवालय सदस्यहरूको छलफल डाँकेर केही महत्वपूर्ण निर्णय लिएका थिए ।

जस्तो कि त्यसबेला नेकपामा अबको सभामुख कसलाई बनाउने भन्ने चर्काे विवाद थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा परेपछि सभामुख पद रिक्त थियो । संसदमा झण्डै दुई तिहाई बहुमतमा रहेको नेकपामा त्यसबेला प्रधानमन्त्रीसमेत रहेका दुई अध्यक्षमध्येका एक अध्यक्ष ओली आफूनिकटका सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।

तर, अर्का अध्यक्ष प्रचण्ड माओवादी खेमाकै कुनै नेतालाई सभामुखमा अगाडि सार्न चाहन्थे । तर, ओलीले दबदबा यस्तो बनाएका थिए कि, प्रचण्डले सभामुखमा नेम्वाङलाई नै छाडिसके भन्नेसम्मको राजनीतिक वातावरण बालुवाटारबाट बनाइएको थियो । त्यसलाई उनी क्रस गर्न चाहन्थे । त्यसपछि गौतम निवासमा प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालको बैठक बसेको थियो । त्यही माओवादी खेमाका प्रचण्डले अगाडि सार्ने उम्मेदवारलाई सबैले सहयोग गर्ने समझदारी जुटेपछि अग्नि सापकोटा सभामुखका लागि छानिएका थिए ।

त्यही बैठकको प्रेसरमा ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहे पनि गह्रौ मन बनाएर सापकोटाको पक्षमा निर्णय लिन बाध्य भएका थिए । गौतम निवासको बैठक त्यतिमा मात्र सीमित थिएन । त्यही छलफलले गौतमलाई राष्ट्रिय सभामा लैजाने, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी गौतमको महत्वकांक्षाभित्र रहेर ‘संविधान संशोधन’ गराउनेसम्मका विषयमा एक खालको ‘रोडम्याप’ निर्माण गरेको थियो ।

प्रचण्ड त्यसबेला पनि गृह जिल्ला चितवनबाट सीधै हेलिकप्टर चढेर सुकुटे पुगेका थिए । खासगरी पार्टीका महत्वपूर्ण राजनीतिक दस्तावेज लेखन होस् अथवा अन्य कुनै महत्वपूर्ण निर्णय लिनु पर्दा प्रचण्ड सुकुटे जाने गरेका थिए । तर, योपटक उनको कुनै राजनीतिक निर्णय लिनुअगाडिको ‘रिफ्रेसमेन्ट’ भ्रमण थिएन, सुकुेटे भ्रमण । योपटकको सकुटे यात्रा भने विशुद्ध रिफ्रेसमेन्टका लागि मात्र भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘यसपटक सुकेट रिफ्रेसमेन्टकै लागि मात्र हो, अरु कुनै कारणले गएको होइन,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘विशुद्ध पारिवारिक मुडफ्रेसका लागि मात्र अध्यक्ष सुकेटे जानु भएको हो ।’

यसअगाडि अग्नि सापकोटा सभामुख नहुँदासम्म बेला–बेला उनी सिन्धुपाल्चोक पुगिरहन्थे । तर, सभामुख सापकोटा निर्वाचित भएपछि भने उनको यो पहिलो सिन्धुपाल्चोक भ्रमण हो । योपटक उनको साथमा अग्नि थिएनन् । थिए त, केवल सिन्धुपाल्चोकका युवा नेताहरू – माधव सापकोटा, रामप्रसाद सापकोटा (दीपशीखा), सरल सहयात्रीलगायत सिन्धुपाल्चोकका अन्य नेता ।

प्रचण्डलाई दशैँका बेलामा पनि सिन्धुपाल्चोकका नेताहरूले दशैँ उतै रिफ्रेसमेन्टका रुपमा मनाउन आउन आग्रह गरेका थिए । तर, उनले सुकुटे गइहाल्ने सोच बनाएका थिएनन् । तर, यसपटक नातिको आग्रहलाई उनले टार्न सकेनन् । त्यसपछि पुगेका थिए परिवारसहित सुकुटे ।
झण्डै १६ घण्टाको सुकुटे बसाईपछि यतिबेला प्रचण्ड सपरिवार खुमलटार निवास फर्किसकेका छन् ।

३ महिनामा ४ पटक पुगे रिसोर्ट

प्रचण्ड बेलाबेला रिफ्रेसमेन्ट भइरहन रुचाउने नेता हुन् । उनको पारिवारिक अवस्था पनि उस्तै छ । छोरी ज्ञानु र छोरा प्रकाशको निधनले पनि प्रचण्ड परिवारमा बेला-बेला पीडा दिएकै थियो । त्यसमाथि पत्नी सीता लामो समयदेखि विरामी छिन् । पारिवारिक तनाव प्रचण्ड परिवारमा छ । अर्काेतिर राजनीतिक रुपमा अनेक उतारचढाव । एउटै कम्युनिष्ट केन्द्र निर्माण गरेर समाजवादको कोर्स अगाडि बढाउने प्रचण्ड योजना केपी ओलीसँग राजनीतिक लाइन नमिलेपछि भताभुङ मात्र बनेको छैन, ओलीलाई सरकारबाट हटाउन उनैले निक्कै ‘पापड’ पेल्नु परेको थियो ।

ओलीसँगै टाँसिन खोजेका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत मनाएर उनले कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका बीचमा गठबन्धन निर्माण गर्न सफल भएका छन् । तर, यो गठबन्धन भत्काउन उत्तिकै ओलीले ‘हम्मर’ हिर्काउन छोडेका छैनन् ।

यो उतारचढावमै पनि प्रचण्डले पहिले भन्दा वढी नै परिवारलाई पनि समय छुट्टाउन थालेका छन् । सोही कारण फूर्सद मिल्दा सम्म प्रचण्डले अहिले परिवारलाई समय दिने गरेका छन् । परिवारभित्रको ‘दिग्दारी’लाई रिफ्रेससमेन्ट गराउने उदेश्यले महिना दिन जस्तोमा उनी कुनै न कुनै रिसोर्ट पुग्ने गरेका छन् ।

त्यस्तो बेला प्रचण्डको रोजाई पर्ने गर्छ, राजधानीबाट नजिककैको वातावरणीय सुन्दरता र ट्रेकिङ, र्‍याफ्टिङ, स्विमिङ जस्ता सुविधा भएका रिसोर्टहरू । गत भदौ यतामात्रै पनि उनले सुकुटेसम्म गरेर ४ ओटा रिसोर्टमा पारिवारिक रिफ्रेसमेन्ट भ्रमण गरिसकेका छन् । कात्तिक ४ मा सिन्धुपाल्चोकको सुकुटे परिवारसहित पुगेका प्रचण्ड असोज ८ मा थानकोट चन्द्रगिरीस्थित चन्द्रागिरी हिल्स रिसोटमा बास बस्न पुगेका थिए ।

एक रात चन्द्रागिरीमा बास बसेर उनको परिवार भोलिपल्ट मात्रै निवास फर्केको थियो । त्यसको एक साताअगाडि मात्रै अर्थात १ असोजमा पनि प्रचण्ड परिवार फर्पिङस्थित हात्तिवन रिसोटमा ‘रिफ्रेसमेन्ट’ हुन पुगेका थिए । त्यहाँ भने प्रचण्ड परिवारले दुई रात बास बसेका थिए ।

परिवारलाई त्यही छाडेर उनी २ असोजमा जनकपुरको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका थिए । पछि साँझ त्यही रिसोर्ट फर्केका प्रचण्ड ३ असोजमा मात्र परिवारसहित निवास फर्केका थिए ।

गत साउन ३२ मा पनि उनको परिवार बूढानीलकण्ठको डाँडामा रहेको रिसोर्टमा बास बस्न पुगेका थिए । त्यहाँ पनि एक रात बास बसेर भदौं १ मा प्रचण्ड परिवार निवास फर्केका थिए ।

०००

प्रतिक्रिया