शनिबार, वैशाख ८, २०८१

‘कोरोनाबाट एक लाख ८० हजार स्वास्थ्यकर्मीले गुमाए ज्यान’

मेरोन्यूज २०७८ कार्तिक ५ गते ११:२०

काठमाडौँ । विश्वमा ८० हजारदेखि एक लाख ८० हजार स्वास्थ्यकर्मीले कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । सन् २०२० को सुरुदेखि मे महिना (५ महिना)को बीचमा सो संख्यामा स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको हो । १३ करोड ५० लाख विश्वमा स्वास्थ्यकर्मी रहेको अनुमान गरिएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीलाई खोपका लागि प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । उनले खोपको अन्यायपूर्ण वितरणलाई लिएर आलोचना पनि गरेका छन् ।

‘विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको छन्,’ महानिर्देशक टेड्रोसले भने । खोपको अभावमा महामारी अर्को वर्षको अन्त्यसम्मै लम्बिन सक्ने चेतावनी दिँदै आएको छ ।

अफ्रिकामा १० जना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् । जबकी, उच्च आय भएका देशमा दश जनामध्ये आठ जनाले खोप लगाइसकेको गेहब्रेयससले बताए ।

अफ्रिकाका पाँच प्रतिशतभन्दा कम जनसंख्याले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । अरू, अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । अधिकांश कोभिडविरुद्धको खोप उच्च वा मध्यम आय भएका देशहरूले पाएका छन् ।

कम आय भएका देशहरुमा कोरोना खोप समयमा नपाउँदा संक्रमण एक वर्ष लम्बिनी डब्ल्यूएचओ चेतावनी दिएको छ । बीबीसी

प्रतिक्रिया