मंगलबार, वैशाख ११, २०८१

विपीको ‘सेक्युरेटी’ बनेँ, गिरिजासँग कहिल्यै विश्वास लागेन

पुरुषोत्तम अमात्य २०७८ कार्तिक ३ गते १७:२२

२००४ साल साउन ५ मा काठमाडौँमा जन्मिएँ, कुपन्डोल हनुमानथान पछाडि अमात्य टोलमा । मेरो बुवा त्यसबेला राणा जीको गुरु, त्यसमा पनि खासगरी जुद्ध शमशेर राणाको । २००१ सालमा जुद्ध शमशेरले सायद जाने बेलामा आफ्ना शुभ चिन्तकलाई बिर्ता (जग्गा दान) दिएर जानु भयो । हाम्रो परिवारमा पनि त्यही क्रममा विराटनगरमा २ सय बिघा जमिन उहाँले बिर्ता दिनुभएको थियो, त्यसबेला ।

राणाले बिर्ता दिएको जग्गा जमिन सम्हाल्न को जाने ? घरमा बहस भयो । दाइहरू जान मान्नु भएन । त्यसपछि हाम्रो खलक २०१२ सालमा विराटनगर गएका हौँ । त्यसपछि मेरो पढाई त्यही भयो । पछि कलेज पनि मोरङ कलेज (अहिले नाम फेरिएर महेन्द्र मोरङ)मा अध्ययन गरेँ । २०२१ सालमा म कलेज पढ्न मोरङ कलेजमा भर्ना भएको थिएँ । त्यहीबेला देखि हो, म राजनीतिमा लागेको पनि ।

ख्यालख्यालैमा राजनीतिमा

राजनीतिमा शुरुमा ख्यालख्यालैमा लागेँ । धेरै बुझेर भन्दा पनि तत्कालीन प्रहरी प्रशासनको दमनले मलाई राजनीतिमा डोर्याएको हो । २०२१ को अन्त्य या २०२२ सालको शुरुवाती समयतिर हुनुपर्छ, त्यसबेला नारायण सिहं नामका एक जना डिआइजी थिए । पञ्चायत कालमा उनले राष्ट्रिय नाचघरमा एक जना महिलालाई दुर्व्यवहार गरेछन् ।

त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भए । शुरुमा त्रिचन्द्र कलेजबाट शुरु भएको विद्यार्थी आन्दोलन क्रमशः अरु कलेजमा विस्तारित हुँदै उपत्यका बाहिरका कलेजमा पनि जोडिन पुगेको थियो । देशभर एकखालले विद्यार्थी आन्दोलनको डडेलो सल्किएको थियो । त्यतिबेलासम्म मलाई राजनीतिका बारेमा केही थाहा थिएन । आफूभन्दा माथिल्लो कक्षाका सिनियरहरु कलेज छोड्दै आन्दोलनमा जोडिन थालेका थिए । त्यही क्रममा म पनि सँगै आन्दोलनमा जोडिन पुगेँ ।

त्यसबेला मेरो आँखाअगाडि नै कांग्रेस नेता महेश आचार्यको दिदी दुर्गा आचार्यलाई प्रहरीले पिट्ने काम गर्यो । दुर्गा आचार्य मभन्दा सिनियर । अलिक मोटी मोटी हुनुहुन्थ्यो । पछि साहित्यकार जगदिश घिमिरेसँग विवाह गर्नु भयो । उहाँलाई पुरुष प्रहरीले कुटिरेहेका थिए । त्यो देख्न नसकी म प्रहरीसँग मुकाविला गर्न पुगेँ ।

‘तिमी प्रहरीहरु मर्द हौँ भने हामीलाई पिट । महिलालाई जथाभावी गाली गर्दै किन पिट्छौ ? यो अधिकार कसले दियो ?’

त्यो दिन प्रहरीसँग मेरो झोक्काझोकी भयो । त्यसमध्येका एक जना पुलिसले मलाई चिन्ने रहेछन् । उनले त्यहाँ नबस्न, झगडामा नआउन र घर जान आग्रह गरिरहेका थिए । तर, हामीले पुलिससँग त्यसदिन भिडेरै छोड्यौं । त्यसपछि त पुलिसले पनि हामीलाई खोज तलास शुरु गरिहाल्यो । मख्खनबहादुर पोखरेल (मात्रिका कोइरालाका आफ्नै ज्वाई) लगायत हामी रातभर सँगै बस्यौँ । त्यसपछि नै हो म राजनीतिमा लाग्न थालेको ।

त्यसको केही दिनपछि त्रिचन्द्रबाट सल्केको विद्यार्थी आन्दोलनको डडेलो साम्य त भयो । तर, जसलाई हामीले कारबाही गर्नु पर्छ भनेर आवाज उठाएका थियौँ, उनै दोषी नारायण सिंहलाई भने कुनै कारबाही भएन ।

कोइराला निवासअगाडि विपीको भाञ्जाको रामधुलाई

विराटनगरमा मोरङ कलेज अध्ययन गर्दै गर्दा जहिल्यै हाम्रो मण्डलेहरुसँग लडाई झगडा भइरहने । उनीहरुले जहिल्यै हामीलाई रामधुलाई गर्थे, पिट्थे । हामी पिटाई खाइरहने । २०२५/०२६ सालमा अब मण्डलेहरुसँग भिडौँ, कति कुटाई मात्र खाइरहने ? भन्ने भयो । त्यसपछि हामीले एक दिन बिहानभर मण्डलेहरुलाई खोजी खोजी रामधुलाई गर्यौं । हामी उनीहरुलाई त्यसबेला खरानी भन्थ्यौँ, खरानीहरुलाई खोजी-खोजी बिहानभर हामीले रामधुलाई गर्याैं ।

त्यसपछि त उनीहरु पनि के कम, मिटिङ बसेछन् । अनि, जो कांग्रेस भेट्यो, उसैलाई बजाउन थालिहाले । त्यही क्रममा विपीका भाञ्जाले पनि रामधुलाई भेटेछन् । भर्खर-भर्खर बनारसबाट आएका विपी कोइरालाका भाञ्जा रञ्जन उपाध्याय (नलिनी दिदीका छोरा, जो केही समयअगाडि मात्रै कोरोनाका कारण ज्यान गुमाए) ले कोइराला निवासअगाडि नै मर्ने गरी रामधुलाई खाएछन् ।

सायद, त्यही पिटाईको पीडाले हो या के कारण हो, उनले पछि सक्रिय राजनीति नै छाडे । पिटाईले उनको मुख नै बाङ्गिएको थियो । बनारसमा एक महिनासम्म झोल खाएर बिताए । पछि उनले कांग्रेसको सक्रिय राजनीति नै बिर्सिए । पछि टिम्बर कर्पोरेसनमा जागिर खाए ।

विपी सुन्दरीजेलबाट छुट्ने बेला उनै भाञ्जाले मलाई एक दिन बोलाएर भने, ‘पुरुषोत्तम ! सान्दाई (विपी कोइराला)ले बलिया हात पाखुरा भएका कम्तीमा ढेड सय क्याडर उत्पादन गुर्नपर्यो भन्नु भएको छ, लौ न केही गरौँ, मण्डलेहरुको जगजगी उस्तै छ, त्यसबाट सान्दाईको सुरक्षा पनि आवश्यक छ ।’

मैले उनलाई जवाफ फर्काए, ‘एक /ढेड सय किन खोज्ने ? म जस्तो एक जना मात्र खोजे हुन्छ ।’ त्यसबेला म निक्कै लडाकु थिएँ ।

विपीको सेक्युरेटी बन्दा

जुन दिन विपी कोइराला सुन्दरीजेलबाट छुटेर विराटनगर आउँदै थिए । त्यही दिन मेरो परीक्षा थियो । बिहान ७ बजे देखि १० बजेसम्म । कलेजको बाहिर गेटमा ट्रक लाइन लागिसकेको थियो, एर्यरपोटमा जान ।

त्यसबेला एक जना गुरुङ सर हुनुहुन्थ्यो, मलाई असाध्यै माया गर्ने । उहाँले मैले पढेर जाँच देला भन्ने विश्वास गरेका थिएनन् । उहाँले कक्षाका अरु साथीहरुलाई भन्थे, ‘पुरुषोत्तम फेल भयो भने कुटाई तिमीहरुले खान्छौँ ।’

त्यही दिन एकातिर परीक्षा, अर्कोतिर विपी लिन जानु पर्ने । ५ ओटा हिसाबमा मैले ४ ओटा अरुकै सारिदिए । त्यसपछि दौडिदै म एयरपोर्ट पुगेँ । त्यही दिन हो मैले विपीलाई पहिलोपटक भेट गरेको । म त्यसबेला लामो लामो कपाल पाल्थे । एयरपोर्टमा प्लेन रोक्नेबित्तिकै म सरासर प्लेनको छिँढीमा गएँ । विपीले मलाई चिन्दैन्नथे । त्यसबेला मैले गर्धन गर्धनसम्म कपाल पालेको थिएँ । प्लेनको छिँडीमा गएर विपीको पछाडि बसेपछि उहाँलाई लागेछ, ‘यो गुण्डा हो कि, को हो ?’

युवा अवस्थामा अमात्य (उभिएका) । जुनबेला उनी कान कान हुने गरी कपाल पाल्थे ।

त्यहाँबाट कोइराला निवाससम्मै उहाँ चढेको गाडीमा पनि सेक्युरेटी दिँदै पुगेँ । विपीलाई कोइराला निवासभित्र छिराएर गेटबाट फर्कें । त्यतिबेला अहिले जसरी फोटो खिच्ने कुरा थिएन । तैपनि, विराटनगरको देवकोटा पुस्तकालयले हाम्रो फोटो लिएका थिए । एक जना बर्मेली रिजाल थरका शरणार्थीले थुप्रै फोटो खिचेका रहेछन् । उनले गएर सान्दाई (विपी)लाई देखाएछन् ।

सान्दाईले मार्क गर्नु भएको रहेछ, मलाई । सान्दाईले मलाई एयरपोर्टमा प्लेन ल्याण्ड भएदेखि घरसम्म छोडेर हिड्ने मान्छे फेरि यहाँ देख्दिन को हुन् ? भन्दै सोधीखोजी गरेछन् ।

त्यहाँ मलाई चिन्नेहरुले भनेछन्, ‘पुरुषोत्तम अमात्य हो, यो यस्तै मान्छे हो, आफ्नो काम सक्छन्, कसैको अगाडि देखिदैनन् ।’

त्यसपछि सान्दाईले मलाई बोलाउनु पठाउनु भएछ । मलाई एक जना साथी बोलाउन आइपुगे । ‘सान्दाई एक छिनमा गइहाल्नुहुन्छ, भेट्न बोलाउनु भएको छ,’ ती साथीले भने । त्यसपछि म विपीलाई भेट्न कोइराला निवास पुगेँ ।

सान्दाईले मलाई देख्नेवित्तिकै भन्नु भयो, ‘मैले त यार ! तिमीलाई गुण्डा भन्ठानेको थिएँ, तिमी त मेरो सुरक्षा दिन पो बसेका रहेछौ, हेर पुरुषोतम अब म एकछिन पछि गइहाल्छु, फुर्सद भयो भने बनारस आउ न है ।’

त्यसपछि मेरो बनारस आउजाउ चलिरह्यो । एक दुई महिनामा बनारस जाने, विराटनगरतिर हुलदंगा भएपछि जोगिन परे फेरि उतै बनारस जाने, सान्दाईसँग भेटघाट गर्ने, फर्किने । यही सिलसिला मेरो चलिरह्यो धेरैपछि सम्म पनि ।

मनिषाको बाबुको बिहेको फण्डा

मनिषा कोइरालाको बाबु प्रकाश कोइरालाको विवाहको किस्सा पनि रमाइलो छ । सम्झदा अहिले पनि त्यसबेलाको युवा जोश उम्लेर आउँछ । प्रकाश कोइरालाको विवाहमा जानका लागि गाडी चाहिने । तर, गाडी छैन । मात्रिका कोइरालासँग दुई ओटा गाडी थिए । हामी मात्रिकालाई बाबा भन्थ्यौँ ।

भाउजु कञ्जुस । गाडी लैजादा पेट्रोल तिमीहरुले नै हाल्नु पर्छ भन्ने । भाउजुले पेट्रोल आफै हाल्नु भनेपछि हामी मात्रिका बाबा कहाँ पुग्यौँ ।

‘गाडी माग्दा भाउजुले पैसा माग्दै हुनु हुन्छ, बाटोभरि लाग्ने पेट्रोल र खाने पैसा त तिमीहरुले तिर्ने होला नि भन्थे भाउजुले बाबा,’ हामीले मात्रिकालाई सुनायौँ । त्यसपछि भाउजुले मात्रिका बाबाको गाली भेटिन बेस्करी ।

त्यसपछि मात्रिकाले हामीलाई भने, ‘‘जे -जे मन लाग्छ तिमीहरुले निर्धक्कसँग खाओ, पैसा म तिरिदिन्छु ।’

मात्रिका कोइराला असाध्यै विद्वान मान्छे, कहाँ के भइरहेको छ ? सबै अपडेट लिने । जानकारी लिने मान्छे । उनले १४ भाषा बोल्थे । मसँग नेवारीमै वातचित पनि गर्थे ।

बनारस पुग्दा झण्डै दुर्घटनामा परिएको । राइड साइटबाट आइरहेको रिक्सा बचाउन खोज्दा रिक्सा उछिट्टिएर गएको थियो । रातको समय एकोहोरो गतिमा गाडीहरु ओहोरदोहोर गर्ने बाटो । त्यसपछि रोकिनुभन्दा सबैलाई गाडीमा कोचेर गाडी हाक्न लगाए । अशोक कोइराला लगायत पनि थिए त्यही गाडीमा । पछि मात्रिका बाबा भन्थे, ‘तिमीहरुले मेरो ज्यान बचायौं ।’ पछि उनीपछाडि फर्केर दुर्घटना भएकै स्थान आएछन्, कसैलाई केही भयो कि भनेर ।

त्यसरी विवाह भएको थियो प्रकाश कोइरालाको । त्यहाँ हामीलाई पनि कांग्रेसका अन्य नेताहरु भेटाउने, भारतीय नेताहरु भेटाउने उद्देश्यले निम्ताइएको थियो ।

युवा अवस्थामा अमात्य (चस्मा लगाएका) ।

लञ्चमा भरत शमशेरसँग झगडा

प्रकाश कोइरालाको विवाहमा भरत शमशेर (कांग्रेसका संस्थापकमध्येका एक)सँग भने निक्कै झगडा पर्यो । उनी कलकत्ता बस्थे । पार्टीका नेताहरु बनारस, कलकत्तातिर बस्ने । हामी भने देशभित्रकै भूगोलमा बसेर पञ्चहरुसँग सधैँ मुकाविला गरिरहनु पर्ने । भिडिरहनु पर्ने । सधै कुटाई खाईरहनु पर्ने ? अब के के गर्ने हो ? पार्टीले एउटा दह्रो लाइन दिनुपर्यो भन्ने त्यसबेला हाम्रो माग थियो ।

त्यही कुरा भरत शमशेरसँग पनि प्रकाश कोइरालाको विवाहमा भयो । हामीले लञ्च खाने बेला भरत शमशेरसँग भन्यौँ, ‘तपाई कलकता बस्ने, हामी चाहिँ सधै कुटाई खाने, के के गर्ने । एउटा दह्रो लाइन दिन सक्नुहुन्छ भने दिनुस्, नत्र राजा गाली गरेर गाली गर्न शब्द फुराउनु पर्दैन । अब कुरा गरौँला भनेर मात्र हुँदैन, जवाफ दिन नसक्ने ?’

भरतशम्शेरले राति भीमबहादुर तामाङसँग वाफ रे वाफ ! विराटनगरका केटाहरु त अर्ना जस्तो पो रहेछ । भिड्न पो आए त ? भनेछन् । भीम पनि हाम्रो साथी । ‘तिमीहरुले के भन्यौँ, भरत शमशेरलाई । उसले त विराटनगरका केटाहरु अर्ना जस्ता रैछन् भन्दै थिए भनेर भीमबहादुर तामाङले हामीलाई सुनाए ।

त्यसपछि झन रिस उठ्यो । ‘हाम्रो जवाफ पनि नदिने, पर्ख दिन्छु मात्रै भन्ने ? जवाफ दिन्छु भनेर सबै पोल पो खोल्यो ?’ त्यसपछि अशोक कोइराला र म टन्न वियर खाएर भरत शमशेर खोज्दै गयौँ ।

‘ए भरत शमशेर तिमी कहाँ छौँ ?’ हामी वियर खाएर रन्थनिँदै पुगेका थियौँ ।

शुशिल दा (शुशिल कोइराला)सान्दाईसँगै रहेछन्, ‘ए के गरेको ?’
ह्या छोड । कहाँ छ भरत शमशेर ?

भरत शमशेर गइसक्यो भोलि बिहान कुरा गरौँला, भोलि कुरा गर अहिले जाउ भने । भोलिपल्ट बिहानै हामी फर्किनु पर्ने । ५ बजे मेरो निन्द्रा खुल्ने । राति वियर खाएर भरत शमशेरलाई देखाउने भन्दै गएर कराएको सान्दाईले देखेका थिए ।

गाली बेस्मारी खाइन्छ होला भन्ठानेर झिसमिसेमै गाडीमा सामान हालेर डराइ-डराइ गाडीमा बसेका थियौँ । बाहिर त सान्दाई पनि बसिरहनु भएको रहेछ ।

भरत शमशेरले यस्तो भनेको थियो । त्यही भएर उनलाई यसो झकार्न खोज्दा रातिको घटना भएको सान्दाईलाई मैले त्यसपछि सबै बेलिविस्तार लगाए ।

तर, उनले हामीलाई गाली गरेनन्, हकारेनन् । थप हौसला दिँदै भन्नुभयो, ‘तिम्रो जोश ठिक छ ।’

त्यसपछि मैले उनलाई पनि भने, ‘सधैँ यसै गरी नहोला सान्दाई ! के गर्ने निचोड एउटा निकाल्नु पर्ला ।’

गिरिजासँग कहिल्यै विश्वास जागेन

२०२२ सालमा मैले विराटनगरमा एउटा क्लब खोलेको थिएँ, तरुण क्लब । त्यो कमिटीको अध्यक्ष म । त्यसका सदस्यमा अशोक कोइराला, हरि शर्मा, जयहरि शर्मा, गोविन्द प्याकुरेल, कृष्णबहादुर राउत ७ जनाको कमिटी बनाएर क्लब चलाइरहेका थियौँ । मोरङ कलेजकै एक जना पियन गणेशलाई सहयोगीका रुपमा राखेका थियौँ ।

त्यसबेला उनलाई ढेड सय रुपैयाँ दिएर सहयोगीका रुपमा राखेका थियौँ । दुई महिनादेखि उसले तलब पाएको रहेन छ । त्योबेला ढेड सय रुपैयाँ भनेको धेरै ठूलो पैसा हुन्थ्यो ।

क्लबका सबैलाई बोलाएर ३०-४० रुपैयाँ उठाएर उसलाई पैसा दिऔँ भनेर मैले प्रस्ताव राखेँ । तर, क्लबमा बसेका साथीहरुले पैसा दिने त के उल्टै मलाई हटाउने मिसन बनाउन थालेछन् ।

त्यहीबेला गिरिजाप्रसाद कोइराला कहाँबाट विराटनगर आइरहेका रहेछन् । बिहान उठेर साइकलमा आउँदै थिएँ । गेटमा त्यही गणेश जसलाई हामीले काममा राखेका थियौँ, उही ठिङ्ग उभिइरहेको रहेछ ।

मलाई दाइ भनेर बोलाउथ्यो । ‘दाइ यो क्लब विघटन गरेको रहेछ नि !’ उसले त्यसपछि मलाई सुनायो । क्लबको अध्यक्ष म ! मैले राजीनामा नै दिएको छैन । कसले गर्यो विघटन ? उसले पछाडि हातमा एउटा पत्र लुकाइराखेको रहेछ । ५ जनाले राजीनामा दिएका । बाँकी २ जनामा म र हरि शर्मा मात्र राजीनामा नदिएका ।

त्यसपछि उनीहरुले नयाँ कमिटी पनि गठन गरेका रहेछन् । त्यसपछि त्यो पत्र बोकेर कोठामा आएर सीधै म कोइराला निवास पसेँ – गिरिजाप्रसाद कोइरालालाई भेट्न ।

‘हामी क्लबलाई बचाएर लैजान सक्छौँ भन्ने, तर सक्दैनौँ भन्ने यिनीहरु विघटन गर्ने अनि सक्दिनँ भन्नेले हामीले राजीनामा नदिँदै अर्को कमिटी बनाउने ? यिनीहरुले यस्तो गरे, म छोड्ने वाला छैन’ गिरिजालाई मैले घटना विवरण सुनाएँ ।

मलाई गिरिजामाथि शुरुमै विश्वास थिएन । त्यसपछि पनि जिन्दगीभर कहिल्यै विश्वास लागेन । गिरिजा भेटेपछि म गएँ, शम्भु रिजाललाई भेट्न । उनी चाहिँ कम बोल्थ्थे । तर, पार्टीका लागि खटिने मान्छे ।

नोना आमाबाट धेरै ‘रुढ’ भएका मान्छे उहाँ । शम्भुले उल्टै मलाई गिरिजा कहाँ नै गएर मिलाउन सिफारिस गरे । त्यसपछि म महाप्रसाद रिजाल कहाँ पुगेँ । उनले पनि म गिरिजावावुसँगै कुरा गर्छु भनेर धेरै कुरा नै गर्न चाहेनन् । उनीप्रति पनि विश्वास भएन । त्यसपछि साइकल चढेर म चिरञ्चिवी रिजाल कहाँ पुगेँ । उनीपछि राष्ट्रियसभा सदस्य पनि भएका थिए ।

‘म अन्तिममा तपाईसँग कुरा गर्न आएको । भोलि तरुण क्लबको मिटिङ बोलाएका छन्, उनीहरुले । मैले राजीनामा दिएको छैन । अध्यक्ष हुँ । के आधारमा उनीहरुले बैठक बोलाए, थाहा छैन । आजसम्म रोकेन भने भोलि बैठकमा के हुन्छ ? मलाई केही नभन्नु होला ।’

त्यसपछि अशोक कोइराला मसँग टाँसिन आए । हरि शर्मा मसँगै आए । ‘तेरो के प्लान छ ?’

‘म बैठक नै हुन दिन्न’ मैले भने ।

कुर्सी सबै सजाएको थियो । मलाई मात्रै मास्टर सेरोमेनी गरेर बस्न लागेको थिए । मेरो पालो कुर्सी उचालेर फालिदिएँ । ‘यो के गरेको ?’
मेरो राजीनामा देखाउनुस् पहिले भनेपछि कार्यक्रम नै तितरवितर भयो ।

गिरिजाले मलाई पछि बोलाउन पठाए । गिरिजाले मलाई तिमीलाई कारबाही हुन्छ भने ।

म पनि के कम ! ‘साच्चै कारबाही गर्ने हो भने तपाई (गिरिजा)लाई गर्नुपर्छ पहिले,’ भनिदिएँ । समस्या बताएपछि समाधान दिनु पर्दैन ? समस्या समाधान गर्नुको साटो बैठकमा जाने ? पुरुषोत्तम अमात्य यस्तो /उस्तो भनेर अरु पार्टीका अगाडि, मण्डले /कम्युनिष्टहरुका अगाडि हाँसीमजाक गर्ने ? मिटिङ हुन दिन्न भनेर मैले पहिले नै भनेको थिइनँ ?

सँगै रहेकाले मलाई गिरिजा बावुको कुरा काट्ने ? भने ।

‘गिरिजा-सान्दाई भन्ने यहाँ हुँदैन, सिद्धान्ततः यो मिल्दैन, म मान्दिनँ,’ मैले भने । त्यसयता गिरिजासँग कहिल्यै मलाई विश्वासै भएन ।

०००

प्रतिक्रिया