शनिबार, वैशाख ८, २०८१

बेमौसमी वर्षाले देशभर काहाँ के कति पुग्यो क्षति ?

देशभर ९ जनाको मृत्यु, वझाङमा मात्रै २४ जना वेपत्ता, महाकाली नदीमा शताब्दीकै सवैभन्दा ढूलो बाढी, किसानको धानबालीमा भारी क्षति

मेरोन्यूज २०७८ कार्तिक २ गते २०:४८

काठमाडौं । वेमौसमी वर्षा र त्यसपछि आएको वाढी पहिरोले देशभर ९ जनाको मृत्यु भएको छ । दर्जनौ वेपत्ता भएका छन् । कयौं विस्थापित भएका छन् । किसानहरुले लहैलह भएर झुलिरहेको र भित्राउने वेला भएका धान वाली गुमाएका छन् ।

सदुरपश्चिममा मात्रै ६ जनाको निधन भएको छ ।

बैतडीमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु


बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । माटोसंगैको पहिरोले स्थानीय रामी पार्किको घर बगाउँदा उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको सोम पार्कि रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको छ । डडेलधुराकै अमरगढी नगरपालिका–१ मा पहिरो खस्दा स्थानीयवासी भीम रावलको पक्की घरमा पूर्णरूपमा क्षति पुगेको छ । उक्त घटनामा देवकी रावल र ग्रिस रावल घाइते हुनुभएको छ । सोही घरको गोठमा पशु चौपाया, खाद्यान्न र भाँडावर्तन, लत्ताकपडा पुरिएर क्षति पुगेको छ ।

यस्तै वर्षाका कारण डोटी जिल्ला सायल गाउँपालिका–६ मेल्लेक गाउँका वीरबहादुर कुन्जेडाको घर भत्किँदा ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडाको मृत्यु भएको छ । डोटीको सायल गापामा भएको घटनामा विन्दा कुन्जेडा, वीरबहादुर कुन्जेडा, वासुदेवी कुन्जेडा घाइते भएका छन् ।

कैलालीको खुटिया नदीमा आएको बाढीमा गोदावरी नगरपालिका–८ का गणेश आउजी नदीमा बेपत्ता भएका छन् । खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

धरानमा दुई बालबालिकाको मृत्यु

अविरल परेको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी ८ वर्षीया निसु राई र चार वर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


मंगलबार दिउँसो करिब २ बजे घरमाथि पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।

उदयपुरमा बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु


बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले ४० वर्षीय टुकबहादुर खड्कालाई बगाउँदा उनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले उनलाई बगाएको थियो । खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ साढे ६ बजे एक किलोमिटर तल खोलाको बगरमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता


बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका ४ डिक्लामा २४ जना वेपत्ता भएका हुन् । । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको थियो ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, एक जना नाम नखुलेका रहेका छन् भने मदन (सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन्। यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर पाँच जना रहेका छन्।

महाकालीमा शताब्दीकै ठूलो वाढी


महाकाली नदीमा शताब्दीकै सवैभन्दा ढूलो वाढी आएको छ । महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ । सो नदीमा पाँच लाख ४७ हजार २२४ क्यूसेक वहाव पुगेको छ । साढे चार लाख क्युसेक बहाव पुगेमा खतराभन्दा माथि मानिन्छ ।

उक्त नदीको बाढीका कारण भीमदत्त नगरपालिकाको ओदाली गाउँमा १५० घर डुबानमा परेको छ । यस्तै दोधारा–चाँदनी नगरपालिका–१० को शान्ति टोल, बैदीफाँट, निशानी टोलमा समेत गरी ७० घर डुबानमा परेको छ । आइतबार रातिदेखि भइरहेको निरन्तरको वर्षाका कारण धान उत्पादन हुने मुख्य क्षेत्र कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलको धानबाली नष्ट गरेको छ । बाली काटेर भित्र्याउने समयमा अचानक भएको वर्षाले काटेर खेतमै सुकाइएको धानबाली बगाएपछि नष्ट भएको हो ।

दुवै जिल्लाको अधिकांश क्षेत्रको धानबाली डुबानमा परी क्षति पुगेको छ । दुवै जिल्लाको होचो भागको खेतमा काटेर सुकाइएको धान खेतमा तीन-चार फिटसम्म पानी जमेको छ । वर्षाका कारण भर्खरै काटेर भित्र्याउन लागिएको धानबाली भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए । भारी वर्षाका कारण धनगढी डडेलधुरा राजमार्गको भासुभिर, सल्लाघारी, जयपृथ्वी राजमार्ग, अछामको चौरपाटी क्षेत्रलगायतका सडकखण्डका ठाउँठाउँमा पहिरो गएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

झापामा बस्ती नै डुबानमा
झापाको कनकाई नदीमा आएको बाढी पस्दा दक्षिण झापाको गौरीगञ्ज गाउँपालिकाको एउटा बस्ती नै डुबेको छ । गौरीगञ्ज १ जोडा होकलबाडीका ४० घर डुबानमा परेका हुन् । प्रहरीले डुबानमा परेका स्थानीयलाई सुरक्षित स्थानतिर सार्ने प्रक्रिया सुरु गरेको जनाएको छ

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण ९६० घर डुबानमा परेका छन् ।

राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ । गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताएका छन् ।

कर्णाली नदीको पानीले खतराको तह पार गरेको छ ।

सञ्चार सेवा अवरुद्ध


अविरल वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध


लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ । अविरल वर्षाले यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए ।

प्रतिक्रिया