शुक्रबार, वैशाख ७, २०८१

राजनीतिमा म यसरी प्रवेश गरे

सुरेन्द्र पाण्डे, नेता एमाले २०७८ असोज ३१ गते ९:०९

म २०३१ सालमा सानो उमेरबाट राजनितिमा लागेको हुँ । एसएलसी पास गरेपछि काठमाडौं आएँ । ठमेलमा रहेको सरस्वती क्याम्पसमा आइकम पढ्नका लागि २०३१ सालमा भर्ना भए । त्यसवेला प्राय विधार्थीहरुको रोजाई कर्मश या मानविकि अध्ययन गर्दा पनि मुख्य विषय अर्थशास्त्र हुने गर्दथ्यो । कलेज भर्ना भएकै वर्ष अर्थात २०३१ भदौंमा भारतले सिक्किमलाई आफ्नो छाताभित्र विलय गराएपछि ठुलो विद्यार्थी आन्दोलन भयो । त्यो विद्यार्थी आन्दोलनबाट नै म विद्यार्थी आन्दोलनमा सहभागी भएको थिए । दाई राजेन्द्र पाण्डे पनि सँगै हुनुहुन्थ्यो । म भन्दा एक वर्ष जेठो हो । उहाँ पनि सरस्वती क्याम्पसमै पढ्नु हुन्थ्यो । म एक वर्ष पछि त्यही पढ्थे । दाजु तेस्रो सेमेस्टरमा, म पहिलो सेमेस्टरमा । त्यँहीवाट राजनीतिमा क्रमशः प्रवेश गदै जान थाले ।

त्यसपछि त पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुन थालियो । धेरै मान्छेहरु प्रक्राउ पर्न थाले । म र दाई राजेन्द्र पनि प्रक्राउ पर्यौं । करिब एक महिना संगै बसेर छुट्यौं । पञ्चायत भनेको के हो ? यसले कसरी दमन गर्दै छ ? भन्ने वुझदै गर्दा हामी वामपन्थी विचारप्रति नजिकिन थाल्यौं । सुरु देखि कम्युनिष्ट हुनुपर्छ भन्ने धारणा म मा थियो । त्यसपछि कोओडिनेसन केन्द्र (कोके) को राजनीतिमा जोडिन पुग्यौं । ३२ सालमा कोके (कोओडिनेशन केन्द्र)बन्यो । त्यो बेला वामपन्थी कम्युनिष्ट पार्टी विभाजित थिए । मलाई राजनीतिमा डोर्याउन दाजु राजेन्दको ठूलो भूमिका छ ।

हामी कलेज पढ्दादेखि नै कोकेसँगको सम्पर्कमा थियौं । काेकेका साथीहरु हाम्रो कोठामा आउनुहुन्थ्यो । खासगरी अमृत बोहोरा लगायतका नेताहरु हामी कहाँ आउनुहुन्थ्यो । त्यसवेला उहाँलाई अर्काे नामले बोलाइन्थ्यो । उहाँकै माध्यमवाट म पार्टीको सम्पर्कमा पुगेको हुँ । उमेरले सानो भएपनि पार्टी किमिटमा जोडिएर २०३६ देखि २०४६ सालसम्म काठमाडौँमा रहेर पार्टीको काम गरे ।

भुमिगत भएर काठमाडौंको पार्टी काम गर्थे । २०४६ सालको बीचमा काठमाडौँको सचिव भएर करिब ६/७ वर्ष काम गरे । पार्टीको त्यसबेलाको सचिव, उपत्यका कमिटीको सदस्य भएर । उपत्यका कमिटीको सचिव माधव नेपालजी हुनुहुन्थ्यो । म सदस्य भएर काम गरे । त्यो बेला उपत्यका कमिटि जम्माजम्मी तीन÷चार जनाको हुन्थ्यो । काठमाडौँको सचिव भनेको धेरै ठुलो जिम्मेवारी भित्र पर्दथ्यो । काठमाडौंको भूगोलमा रहेर काम गर्दा त्यसवेला कामको चाप पनि उस्तै । देशभरका सम्पर्क काठमाडौं केन्द्रीत हुने, पार्टीका डकुमेन्टहरु पनि यहीवाट वितरणमा लैजानुपर्ने, जनवर्गीय संगठनहरुका ठूला-ठूला राष्ट्रिय सम्मेलन देखि सारा गतिविधि यही हुने । जेलको केन्द्र पनि यही हुने । एक किसिमले काठमाडौंको भूगोलमा बसेर काम गर्न त्यसवेला निक्कै चाप हुन्थ्यो ।

पार्टीको चौथो महाधिवेशनमा मलाई काठमाडौंबाट पार्टीले कोशीमा काम गर्न पठायो । त्यही वेला बहुदल आयो । त्यसपछि भने म कर्णाली इन्चार्ज भएर पार्टी काममा पुगे । त्यही वेला म पार्टीको केन्द्रीय कमिटिमा पुगिसकेको थिए । ३० वर्षको उमेरमा म पार्टीको केन्द्रीय कमिटिमा पुगिसकेको थिए ।

चौथो महाधिवेशनबाट लगातार म पार्टीको केन्द्रीय कमिटिमा छु । नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार थिए । इश्वर पोखरेलजीसँग जम्माजम्मी ६ भोटले चुनाव हारे । त्यसवेला पनि प्राविधिक कारणले हार देखिएको तर फेरि पून मतगणनाको कुरा उठिरहेकाे थियाे । तर त्यसतिर लागिएन । थोरै मतले म पराजित भए ।

मेरो राजनीतिक जीवनको दौरानमा जिम्मेवारी कोसीबाट कर्णाली, कर्णालीबाट फर्केर बाग्मतीको इच्चार्ज भए । उपत्यकाको पनि इच्चार्ज भए । २०५४ सालमा म पहिलो पटक राष्ट्रिय सभा सदस्य भए । ०६४ सालमा संविधान सभाको सदस्य भए । त्यसपछि ०६६ वैशाख देखि ०६७ माघ २० सम्म अर्थमन्त्री भए । २०७० मा चितवनबाट संविधान सभा सदस्य भए । २०७४ मा पनिप्रतिनिधि सभाको सदस्य भए । अहिले सांसद छु । संविधान निमार्णका क्रममा म संवैधानिक संवाद समितिमा रहेर संविधान निमार्णको काममा लागे ।

त्योभन्दा अगाडि पनि पार्टी भित्रका अनेक कार्यादलमा सहभागी भए । २०३९ सालपछि विवाद भएको काठमाडौं उपत्यकाको समस्या मिलाउन त्यसवेला पनि म कार्यादलमा रहेको थिए । ५३ सालमा अखिलको विवाद मिलाउन पनि मैले इच्चार्ज भएर काम गरे । त्यसपछि ०६२÷०६३ को जनआन्दोलको कोर्श र त्यसपछिको अवस्थामा चलेका बहसहरु राज्यपूर्नसंरचना कसरी गर्ने, संघीयता तर्फ कसरी जाने ? निर्वाचन पद्दती कस्तो हुने ? भन्ने जस्ता प्रसंगहरुमा पनि मैले काम गरे ।

पूर्नस्थापित संसदले २०६३ जेठ ४ मा संसदवाट घोषणा गरेको मस्यौदा तयार पार्ने काममा पनि म सहभागी थिए । कृष्ण सिटौला सहित हामी वसेर त्यो घोषणाको मस्यौदा गरेका थियौं । पछि धर्मनिरपेक्षता थपिने वाहेक अन्य सवै विषय त्यही समेटिएर संसदवाट घोषणा भयो । त्यसवेला म संसदमा थिइन ।

अन्तरिम संसदमा म थिएन । त्यो प्रक्रियामा म कार्यादलमा रहे । त्यो भन्दा अगाडि माओवादी जनयुद्ध सुर भएपछि माओवादी समस्या अध्ययन कार्यादल बनाएको थियो । एमालेले दुई कार्यादल बनायो । दुई कार्यादलको म सदस्य थिए । एउटामा झलनाथ संयोजक थिए, अर्कोमा सिपी मैनाली थिए । पछिल्लो समयपनि पार्टीमा देखिएको समस्याको सन्दर्भमा पटक पटक कार्यादलमा बसेर काम गरे । पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भनेर लागेको थिए ।

अहिले दश बुँदे कार्यान्वयन समितिको पनि म सदस्य छु । कसरी नेकपा एमालेको यो विभाजन रोक्न सकिन्छ भन्ने ढंगले निकै प्रयास पनि हामीले गरेका थियौं । नेकपाकै एकता कसरी जोगाउने ? नेकपा एमालेको एकता कसरी जोगाउने भन्नेमा पनि महिले काम गरीरहेको छु ।

पार्टीमा राजनीतिक संर्घष

संघर्ष जिन्दगीको एउटा अध्याय हो । संर्घष जीवन हो, जीवन संघर्ष । एउटा कुनै मान्छेको खुट्टा भाँचियो । अस्पतालमा भर्ना भएर प्लास्टर गरिसकेपछि त्यो खुट्टामा बोरा झुन्ड्याएर त्यसलाई सोझ्याउन समय लाग्छ ।

डाक्टरले हिँड् भन्छ । हिँड्न सकिदैन । दुख्ने स्थिति हुन्छ । डाक्टरले के भन्ने गर्छन् भने तपाइले अहिले दुख मान्नु भयो, दुख्यो भनेर तपाइले फिजियो थेरापी अभ्यास गर्नु भएन तपाईको खुट्टाले काम गर्दैन भन्छ । विज्ञानमा पनि के हो भने तपाईले दुख नगरी त्यसलाई परिवर्तन गर्न सक्नु हुँदैन ।

जिन्दगी भनेको यस्तै बाटाे गुज्रिएको हुन्छ । हरेक क्षण परिश्रम नगरी, दुःख नगरिकन कोही पनि सफल हुदैन । पार्टी राजनीतिमा होस् या वाहिरी राजनीति त्यहाँ भित्र पनि अन्तरसंर्घष चलिरहेकै हुन्छ । तपाई विरामी पर्नु भयो रोगसँग प्रतिरोध गर्न तपाईलार्ई डाक्टरले साहस प्रदान गर्छ । त्यो काम गर्न तपाई तयार हुनु भएन भने रोगसँग तपाईले जुध्न सक्नु हुन्न ।

त्यो त सामान्य कुरा हो । पार्टी भित्र वैचारिक संर्घष हुन्छ । अरु किसिमका संर्घष हुन्छन् । प्रतिष्पर्धा छ । धेरै मानिसको बीचबाट निस्कनु पर्ने हुन्छ । सबैले आफुलाई म सक्षम हुँ भन्छ । सक्षम हो÷होइन भन्ने कुरा अभ्यासबाट, व्यवहारबाट प्रमाणित गर्नु पर्ने हुन्छ । यसका निम्ती संर्घष हुन्छ । एकता, सर्घष अझ उच्च स्तरको एकता हामी गर्दै जान्छौँ ।

यस क्रममा आफ्नो साथीभाई सबैसँग हाम्रो संर्घष हुन्छ । एकता पनि हुन्छ । एकता संर्घष र अझ नयाा खालको एकताबाट नै नेतृत्व खारिने हो । स्थापित हुने हो । मदन भण्डारीले भन्नु भएको छ –पहदकदमी र प्रतिष्पर्धाबाट नेता जन्मिने हो । ’ त्यसकारण आफुले लिने पहलकदमी र प्रतिस्पर्धाबाट नै नेता हुने÷नहुने निर्धारण हुन्छ । यो आज पनि सत्य छ । भोलीको लागि पनि सत्य हुनेछ ।

अवरोध छन् भनेर चुप लागेर बस्नु हुदैन । बाँधाहरु छन् भनेर चुप बस्ने होइन, बाधालार्ई पन्छाउँदै आफू अनुकुल बनाउनदै अगाडि बढ्ने आँट गर्नु पर्छ सवैले । तवमात्र सफलतामा पुग्न सकिन्छ ।

पार्टीभित्रकै अफ्ठ्यारो
धेरैलाई लाग्न सक्छ– हामीले आफ्नै पार्टी एमालेभित्र एक खालको अन्तरसंर्घष गर्यौं । अन्तिममा अन्तरसंर्घषमा हामीसँगै रहेका माधव नेपाल कमरेडहरु नयाँ पार्टी बनाएर अलग हुनुभयो । तर हामी एमालेमै अन्तरसंर्घष गरिरहेका छौं । जसले हामीलाई एमालेभित्र अप्ठ्यारो अवस्था होला भन्ने धेरैले प्रश्न गरिरहेका हुन्छन् ।

हाेला हामी अप्ठ्यारोमा हौंला, सजिलो पनि होला । तर अप्ठ्यारालाई पार लगाउँदै जाँदा अवसरका लागि सजिलो बाटो पनि त होला नी ? यसरी हामीले किन नसोच्ने ? कहाँ अप्ठ्यारा छन्, त्यसलाई कसरी हटाउने भनेर पहिला प्रयास गर्न चुक्नु हुदैन । यो म मा मात्र होइन, सवैमा लागु हुने नियम हो ।

अवसर र समस्या सँगसँगै हुन्छ मान्छेको । समस्या सँगसँगै समाधान पनि हुन्छ भनेर सोच्नुपर्छ मान्छेले । अनि समस्या समाधान गर्ने विधिको खोजी गर्नुपर्छ ।

मलाई लाग्छ मैले मेरै अप्ठ्यारो फुकाउन पनि त्यसको ठिक विकल्प के हुन सक्छ भनेर खोजी गर्न सक्नुपर्छ । समस्याहरु स्वभाविक रुपमा मेरो जीवनमा आउँछन्, भन्ने कुरा मलाई सुरुदेखि नै थाहा छ ।

अहिले पनि थाहा छ । त्यसैले त्यो कुरालाई मेलै भेनेर हिड्ने होईन, मैले आफैले अनुभुत गरेर यी कुरा छन् है भनेर हेक्का राखेर त्यसलाई समाधान गर्दै जानुपर्छ । म यसरी हल गर्छु भन्ने कुरा पनि बुझेर उचित हुँदैन । मैले मनमा राख्नु पर्यो यी मेरा समस्या छन् यी मेरा चुनौति छन् । यसलाई मैले यसो गरेर समाधान गर्छु भनेर जानु पर्छ । त्यो वाटोमा म सक्षम छु भन्ने मेरो दावी छ ।

(हरि भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया