शुक्रबार, वैशाख ७, २०८१

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो

मेरोन्यूज २०७८ असोज २७ गते १८:४९

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालका लागि अञ्जन बिष्टले खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

यसअघि खेलको ९ मिनेटमा बंगलादेशका सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए । खेलमा नेपालले बलमा नियन्त्रण राखेपनि डिफेन्सको कमजोरीले गोल खान बाध्य भएको थियो । तर खेलको बाँकी समय नेपालले दबाब कायम गर्न सक्दा नेपाल खेलमा फर्किएको हो ।

नेपालले साफ च्याम्पियनसिपमा चार खेल खेल्दै दुई जित, एक बराबरी र एक हारसहित ७ अंक जोडेर फाइनल पुगेको हो । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेल जितेको भए बंगलादेश फाइनल पुग्ने सम्भावना थियो ।

नेपालसँग फाइनल खेल्ने टोलीको आजै टुंगो लाग्नेछ । आज राति ९ः४५ मा हुने भारत र माल्दिभ्स बीचको खेलबाट दोस्रो फाइनल खेल्ने टोलीको टुंगो लाग्ननेछ ।

प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।

प्रतिक्रिया