बुधबार, वैशाख १२, २०८१

अखिल (क्रान्तिकारी) की अध्यक्ष पन्चा सिंह भन्छिन् : अबको शिक्षाका बारेमा स्वेतपत्र जारी गरेर काम गर्छु

पञ्चा सिंह २०७८ असोज २७ गते १८:१५

राजनीतिको शुरुवात :


म कर्णालीको कालिकोटमा जन्मिएको हुँ । मेरो गाँउमा छोरीलाई पढाउनु पर्छ भन्ने चेतनाको विकास भएको थिएन । तर मेरो परिवारले मलाई स्कुल भर्ना गर्नुभएको थियो । त्यसवेला मेरो गाँउमा छोरी मान्छेले पढ्ने पुस्ताको सम्भवतः पहिलो पुस्ताकी छोरी म आफै हुँ भन्ने मलाई लाग्छ । मेरो परिवार कांग्रेस पृष्ठभूमिको परिवार थियो, त्यसवेला । तर महिले पारिवारिक पृष्ठभूमिको राजनीति गरिन ।

१४ बर्षको उमेरदेखि म राजनीतिमा लागेकी हुँ । २०५८ सालदेखि महिले राजनीति शुरु गरेको हुँ । त्यसवेलादेखि नै म न्याय, समानता र स्वतन्त्रताको पक्षमा माओवादी पार्टीको पूर्णकालीन कार्यक्रर्ता बनेर राजनीतिमा आए । पूर्णकालीन कार्यकर्ता भएसँगै अखिल (क्रान्तिक्रारी)को एरिया अध्यक्ष हुँदै जिल्ला कमिटीको सदस्य भएर काम गरेँ । २०५९ मा जिल्लाको कोषाध्यक्ष भएँ । २०६० मा कालीकोट जिल्लाको केही भाग र जुम्लाको पूरै भूगोललाई समेटेर बनाईएको जिल्लाको अध्यक्ष भएँ ।


२०६१ मा जुम्लाको अध्यक्ष भएँ । पछि जुम्ला र कालकोटलाई अलग जिल्ला बनाउने भएपछि फेरि म कालीकोटको जिल्ला अध्यक्ष भएँ । २०६४ को सत्रौं राष्ट्रिय सम्मेलनबाट म अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको सदस्य निर्वाचित भए । त्यसपछि सचिवालय सदस्य भए, भेरी कर्णालीको संयोजक पनि बनेँ । २०७३ को केन्द्रीय भेलाबाट भेरी र कर्णाली इञ्चार्ज भएँ । त्यसपछि नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा म केन्द्रीय उपाध्यक्ष बनेँ । पछिल्लो २१ औँ राष्ट्रिय सम्मेलनबाट फेरि उपाध्यक्षमा निर्वाचित भएँ । यस्तै पार्टीको कर्णाली प्रदेश कमिटीको सदस्य पनि । त्यसरी नै अगाडि बढेँ । संगठनको २२ औं सम्मेलनबाट म केन्द्रीय अध्यक्षमा चुनिए ।

संगठनको नेतृत्व तहमा


बलिदान र संर्घषले खारिएर आएको विधार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्व तहमा अहिले म चयन भएको छु । संगठनको अध्यक्ष हुनु यो मेरा लागि निकै खुसी र गौरवको क्षण हो । यो मेरो राजनीतिक जीवनलाई अगाडि बढाउने स्वर्णिम अवसर पनि हो । बलिदानको रुपमा उभिएको, बलिदानमा स्थापित भएको संगठनको नेतृत्व गर्न पाएको छु ।

पदीय जिम्मेवारीसँगसँगै मेरो काँधमाथी संगठनलाई कसरी अब्बल बनाउने, विधार्थीहरुका वीचमा कसरी लाकेप्रिय र स्थापित गर्ने ? विधार्थीहरुको समस्यामा आफुलाई कसरी खरो गरी उतार्ने भन्ने थप जिम्मेवारीवोध र चुनौती पनि थपिएको छ । यो संगठनलाई याहाँसम्म ल्याईपुराउन यो संगठनका केन्द्रीय पदाधिकारीलगायत सयौं नेता कार्यकर्ताहरुको बलिदान भएको छ । संगठनको आदरणीय महासचिव पूर्ण पौडेल अहिलेसम्म पनि वेपत्ता हुनुहुन्छ । हामीले आजको मितिसम्म न त उहाँको लाश पाएका छौं, न त सास नै पाएका छौं । उहाँ लगायत बेपत्ता साथीहरुको अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । पार्टी पटक-पटक सरकारमा सहभागि भएको पनि छ । यसबारे अनुसन्धान हुन पर्ने हो र ?


उपाध्यक्ष बेनोज अधिकारी लगायत सहीद हुनुभएको छ । उहाँहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेर, उहाँहरुको त्यागले बनेको संगठन हो यो । यस संगठनको नेतृत्वको भूमिकामा आउँदै गर्दा यो संगठनलाई नेपाल राष्ट्रको आवश्यकता, नेपाली जनताको छोराछोरीको शैक्षिक आवश्यकता, समाजवादी शिक्षा नीतिलाई कार्यन्वयन गर्ने कुरासँग जोडेर हेर्दा आजका दिनमा समाजको मनोविज्ञन, सामाजिक परिवेश र हामीले उठाउँदै आएका एजेण्डाको कार्यन्वयन गर्ने सवालमा केही समस्या अहिले स्वभाविक रुपमा सिर्जना भएका छन् ।

ती समस्याहरुलाई चिर्दै अखिल (क्रान्तिकारी)ले देखेको सपना पूरा गर्नका लागि, जनताका छोराछोरीको पक्षमा अखिल क्रान्तिकारीलाई उभ्याउन स्वभाविकरुपमा मेरो काँधमा जिम्मेवारी र धेरै चुनौतीहरु थपिएका छन् । यो चुनौतीलाई मैले कार्य सम्पादनको क्रममा एउटा अवसरमा बदल्ने र चुनौतीलाई सामना गरेर अगाडि लैजान सक्छु भन्ने आत्मविश्वास म सँग छ ।

महिला राजनीति र नेतृत्व


नेपाली समाजको मनोविज्ञान अझै पनि एकात्मक सामान्तवादी सोचकै छ । वीर पुरुषले मात्रै बोक्ने बन्दुक भन्दै महिलाहरुलाई हाँस्न समेत नदिने यो समाजमा महिलाले राजनीति गर्ने र मुलुकको कार्यकारी नेतृत्व तहमा पुगेर मुलुकलाई नै अगाडी बढाउने तहमा पुग्ने कुरा सामान्य विषय होइन । अहिले जे जति महिलाले राजनीतिमा अवसर पाएका छन्, मुलुकको नेतृत्व तहमा पुग्ने अवसर पाएका छन्, त्यसभित्र माओवादी आन्दोलनको ठूलो योगदान छ । माओवादी पार्टीले उठाएको समानुपातिक समावेशीताको एजेण्डाको योगदान छ ।

समाजमा माओवादीले उठाएको एजेण्डा समानुपातिक समावेशीताले नयाँ जागरण ल्याएको छ । महिलाहरु पनि प्रमुख भूमिकामा पुग्न सक्छन् भन्ने एउटा नजिर स्थापना भएको छ । त्यो कुरा स्थानीय निर्वाचनमा पनि महिलाहरुको सहभागिता झण्डै ४० प्रतिशत हुनुले देखाएको छ । संघीय सांसद्मा ३३ प्रतिशत छ । राष्ट्रिय सभामा झण्डै ३४ प्रतिशत छ ।

महिलाहरु मुलुकको प्रमुख भूमिकामा पुगेको स्थितिमा पछिल्लो समय महिलाहरुले गर्न सक्दैनन् भन्ने कुराको परिभाषा बदलिएको छ । तर, सामान्ती चिन्तन र सोच, पितृसतात्मक सोच भएकाले अझै पनि केही फन्टुस कुराहरु उठाउन खोजिरहेका छन् । तर जतिसुकै महिलालाई अव राजनीतिको नेतृत्व तहमा आउन दिन्न भन्ने सोच राख्ने त्यस्तो सोच र चिन्तनहरु क्रमशः पराजित हुँदै गईरहेका छन् । महिलाहरुले जिम्मेवारी, कार्यकारणी भूमिका लिन सक्दैनन् भन्ने कुरा बाहिरको कुरा भइसकेको छ । महिलामाथि हेरिने दृष्टिकोण र परिभाषा अहिले बदलिन थालेको छ । यो माओवादी आन्दोलनको एउटा ठूलो उपलब्धी हो ।

अखिल क्रान्तिकारीको नेतृत्वमा कसरी ?

प्रश्न उठन् सक्छ माओवादी पार्टीभित्र महिलालाई राजनीतिको नेतृत्व तहमा पुग्न कति सहज छ ? यसभित्र पनि केही संर्घष गदै नगरी नेतृत्व तहमा महिला पुग्न सक्छन् भन्ने होइन । यहाँ पनि संर्घष गर्नुपर्ने अवस्था छ । तर पनि अन्य राजनीतिक दलभित्र र माओवादी पार्टीभित्र महिलालाई हेर्ने दृष्टिकोण, राजनीतिक जिम्मेवारी दिने सवालमा केही फरकपन भने पक्कै छ । जसले यो समानुपातिक समावेशीताको एजेण्डा उठायो, उसैले यसलाई कार्यान्वयनमा लगेन भने अरुले लैजान्छन् भन्ने हुदैन । यस अर्थमा पनि एजेण्डा स्थापित गराउन जसले यो एजेण्डा उठायो, उसैले पहिले यसको वलियो कार्यान्वयन गरेर जानुपर्ने हुन्छ ।


अर्काे कुरा महिलाहरु सँग पनि नेतृत्व क्षमता, योग्यता छ भन्ने देखाउन स्वयम महिलाहरुले पनि आँट गर्नुपर्ने हुन्छ । हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारीको २२ औं राष्टिय सम्मेलनबाट म अध्यक्षमा निर्वाचित भएर आएको छु । यो संगठनको इतिहासमै पहिलो महिला अध्यक्ष म बनेको छु । यो मेरा लागि गर्वको विषय पनि हो । तर महिला भएकै कारण मात्र नेतृत्वमा पुगेको होइन । म सँगको नेतृत्व क्षमता, महिले यो संगठनमा गरेको योगदान र वलिदानका कारण पनि आज म अखिल क्रान्तिकारीको नेतृत्वमा आउन सफल भएको हुँ । अहिले हाम्रो संगठन पालिकास्तरमा पुगेको छ ।


राज्यको पुर्नसंरचना भएपछि पहिलोपटक पालिकास्तरसम्म संगठन निर्माण गर्न अनेरास्यवियु क्रान्तिकारी सफल भएको छ । पालिकादेखि इकाईसम्म, विभिन्न शिक्षण संस्थाका इकाईदेखि जिल्ला र प्रदेश सम्मेलन हँदै राष्ट्रिय सम्मेलनसम्म आउँदा हामीले हरेक तहमा संगठनात्मक जागरण, संगठन पुर्नगठनको प्रक्रियामार्फत जागरण सिर्जना गरेका छौं ।


यसलाई सृदृढ र व्यवस्थित गर्ने दायित्व संगठनको काँधमा आएको छ । यस संगठनलाई सृदृढ र व्यवस्थित गर्ने राजनीति वैचारिक हिसाबले नेता कार्यकर्ताको स्तर वृद्धि गर्न वैचारिक कक्षा सञ्चालन गर्ने, राजनीतिक प्ररीक्षण सञ्चालन गर्ने सोच क्रान्तिकारीको नेतृत्वमा आएपछि महिले बनाएको छु । त्यसै गरी अहिलेको दिनसम्म जनवादी शिक्षा, वैज्ञानिक शिक्षा, व्यवाहारिक शिक्षा, सर्व शुलभ शिक्षा, रोजगारमूलक र गुणस्तरीय शिक्षा भनेर हामीले जे नारा उठान गदैं आयौं, ति विषय आजका दिनमा नेपालको संविधानमा मौलिक अधिकारका रुपमा आधारभूत शिक्षा निशुल्क शिक्षाको रुपमा उचित ढंगले स्वीकृत भएको छ ।

यो विषयलाई कार्यन्वयन गर्न दबाबमूलक कार्यक्रम अगाडी वढाउने र जागरणको भूमिका निर्वाह गर्ने दायित्व अहिले हाम्रो जिम्मेवारी बनेर आएको छ । संरचनात्मक ढंगले कानुन निमार्ण गरेर कार्यान्वयन गर्नेलगायत हामीले आवश्यक छलफल बहस गर्ने र त्यो सँगै वर्गीय, जातीय, क्षेत्रीय, लैगिंक रुपमा नेपाली समाजमा हुँदै आएको शोषण, उत्पीडन अन्त्य गरी आत्मनिर्णयको अधिकारसहितको संघीय गणतन्त्र नेपाललाई जनताको वास्तविक गणतन्त्रमा रुपान्तरण गर्ने कार्यभार हामीले पूरा गर्नुपर्नेछ । समाजबादी शिक्षाको आधार तयार गर्ने सोचसहित त्यसलाई कार्यान्वन गर्ने कार्यक्रम निमार्ण गर्ने विषयमा अहिले नेतृत्वमा आएपछि महिले सोचिरहेको छु ।

हामीले विभिन्न ढंगले कार्यक्रम निमार्ण गर्न खोजी राखेका छौँ । राष्ट्रियताको सवाल, शैक्षिक सस्थामा विद्यार्थीको दिनानुदिनका समस्या, समाजवादको आधार निर्माण गर्ने कुरा र जनताको जनजीविकाको सवालमा अभिछिन्न रुपले संघर्ष गर्दै आएको अखिल क्रान्तिकारीको अहिले जुन लिगेसी छ, यसलाई बोकेर अगाडि बढ्ने सोच बनाएको छु । संगठनको कमिटीले पूर्णता पाएपछि अबको शिक्षाका बारेमा एउटा स्वतपत्र नै सार्वजनिक गरेर मैले कार्यक्रम अगाडि बढाउने सोच बनाएको छु ।

(हरि भट्टसँगको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया