मंगलबार, वैशाख ४, २०८१

भारतबाट पहिलो विदेश भ्रमण गर्ने देउवाको चाहना अधुरै

मिलाउन सकेनन् डा. महत नेतृत्वको टोलीले

मेरोन्यूज २०७८ असोज २६ गते १८:३३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी मुलुक भारतबाट गर्न चाहन्थे । त्यसका लागि अनेकन प्रयास काठमाडौँबाट उनले गरे । उनकै भित्री चाहनामा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई नेपाल बोलाइयो । यतिसम्मकी देउवा पत्नी आरजुले उनलाई जनै पूर्णिमाका दिन राखी समेत बाधिदिइन् ।


तर त्यसले भ्रमण निश्चित नगरेपछि देउवाले सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा केन्द्रीय सदस्य अजय चौरासिया र युवा नेता उदय शमशेर राणालाई भारत भ्रमणमा पठाए । कांग्रेस र भारतीय जनता पार्टी (भाजपा)बीच पार्टीगत सम्बन्ध स्थापना गर्न भन्दै भाजपा विदेश विभागका प्रमुख चौथाइवालेको निमन्त्रणमा असोज २० देखि २४ गतेसम्म महत नेतृत्वको टोलीले भारत भ्रमण ग¥यो ।


देउवा र भारतबीचको सम्बन्ध राम्रो नभएको चर्चा परिचर्चाबीच प्रधानमन्त्रीले भारत भ्रमण गर्ने इच्छा विभिन्न माध्यममार्फत भारतका संस्थापन समक्ष पु¥याए । नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीहरुमार्फत र राजनीतिक च्यानलमार्फत उनले त्यो कुरा पु¥याएका हुन् । त्यो र नेताहरुको भारत भ्रमणले पनि निश्चित नगरेपछि उनको पहिलो भ्रमण भारतबाट नहुँने निश्चित भयो ।


प्रधानमन्त्रीका रुपमा देउवाले पहिलो विदेश भ्रमण स्कटल्याण्डको ग्लाल्सोमा आयोजना हुने कोप–२६ मा सहभागी हुन गएर गर्ने भएका छन् ।
देउवालाई राजनीतिक वृत्तमा पहिला देखिनै पश्चिमा मुलुक निकट भन्ने गरिन्छ । उनलाई दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी छिमेकी मुलुक चीनले त्यति रुचाउँदैनन् । त्यही भएर देउवाले भारतसँग आफ्नो सम्बन्ध सुधार्न र सुध्रिएको देखाउन पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहेका थिए ।


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा पुनः सभापतिमा दोहोरिन चाहन्छन् । कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । अहिलेसम्म १३ जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् । आगामी मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको महाधिवेशन छ । भारतसँग सम्बन्ध सुधारेपछि सभापतिमा पुनः निर्वाचित हुन सजिलो हुनेसमेत उनको आकलन थियो ।


उनको मुख्य ध्यय भारतसँग व्यक्तिगत हिसाबमा नै सम्बन्ध सुधार गर्नेछ । त्यसका लागि उनले पार्टीमा पनि आफू निकटका नेताहरुलाई मात्रै भारत भ्रमणमा पठाएका थिए । त्यो विषयमा पार्टीभित्रको नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट छ । ‘पार्टीगत सम्बन्ध विस्तारका लागि नेताहरु भारत भ्रमणमा जानुलाई नराम्रो भन्न नसकिए पनि भ्रमणलाई प्रधानमन्त्रीले पार्टीगत भन्दा व्यक्तिगत बनाउने प्रयास गरेको देखिन्छ । त्यो त्यति राम्रो विषय होइन,’ पार्टीमा पौडेल निकट एक नेताले भने । भ्रमण दलमा देउवाले आफू निकटलाई नगराएकोमा पौडैल समूह सशंकित देखिएको छ ।


त्यतिमात्र होइन आसन्न महाधिवेशनअघि सभापतिले वैचारिक लाइननै नमिल्ने भाजपासँग सम्बन्ध बढाउन खोज्नुले केही आशंका जन्माएको पौडेल समूहका नेताहरुले बताइरहेका छन् । नेताहरु पार्टीकै सहमतिबिना राजनीतिक रुपमा भएको भ्रमण आशंकाको घेरामा रहेको पौडेल समूहको बुझाइ छ ।


महाधिवेशनमा देउवालाई पार्टीभित्रै प्रतिस्पर्धा गर्न र आफू नेतृत्वमा किन दोहोरिनुपर्छ भन्ने सकारात्मक सन्देश सञ्चार गर्न सहज हुने देउवा निकटका नेताहरु बताउँछन् । महत नेतृत्वको टोलीले भाजपा अध्यक्ष जेपी नड्डाबाट शुरु गरेको थियो । त्यस्तै भाजपा महामन्त्री अरुण सिंह भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट ग¥यो ।


नेपाली कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख चौथाइवा गत भदौ ६ मा नेपाल भ्रमणमा आएको प्रचार गरिए पनि भित्री कुरा अर्कै थियो । उनलाई जबरजस्त बोलाइएको थियो । र देउवाको पहिलो विदेश भ्रमण भारतबाट गराउन हरेक रुपमा प्रयास गरिएको थियो । त्यसैका लागि उनीहरुले भारतीय विदेशमन्त्री जय शंकरसँग पनि भेटवार्ता गरेका थिए ।


पहिलो विदेश भ्रमण भारतबाट नहुने निश्चित भएपछि देउवा भारतसँग सशंकित भएका छन् । उनलाई मुख्य डर आफूसँग असन्तुष्ट भएपछि भारतले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेर सम्पर्क कार्यालयसमेत खोलिसकेका वर्तमान उपसभापति विमलेन्द्र निधिलाई उचालेर गाह्रो पार्छ कि भन्नेछ । त्यतिमात्र होइन अर्को समूहका सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका नेता डा. शेखर कोइराला पनि भारतसँग निकटमा रहेकाले उनलाई सहयोग गर्छ कि भन्ने डर पनि देउवालाई छ । उनी पुनः सभापति भएर निर्वाचन गराई पार्टीलाई पहिलो बनाएर फेरि पनि प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । त्यो रणनीतिमा भारतले उल्झन ल्याउँछ कि भन्ने आशंका उनमा छ ।

देउवालाई भारतले महत्व नदिनुको कारण केपी ओलीको बहिर्गमनसँग जोडेर हेर्ने गरीएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएपछि ओलीसँग निकै चिढिएको भारत पछिल्लो समय ओलीसँग नजिकियो । नेकपाफुटपछि ओली सरकारलाईनै निरन्तरता दिन भारत चाहन्थ्यो । सुरुमा त्यसमा साथ दिएका देउवाले पछि कित्ता परिवर्तनगर्दै ओली सरकारबिरुद्ध उभिए । जसले भारत देउवासँग चिढिन पुग्यो । नेकपाफुटपछि हुन लागेको चुनाव मार्फत ढुक्कले पाँचवर्ष चलाउन भारतले दिएको सुझाव विपरित देउवा ओली सरकार विरुद्ध उभिए । नेकपा बिभाजन नहुँदासम्म नेपाल मामिलामा कमजोर देखिएको भारत अहिले शक्तिशाली भएको छ । ओलीको बहिर्गमनमा आफूले भनेको नमानेको रिस देउवासँग भारतले फेर्दैछ । देउवा सरकारलाई मोदी सरकारले अहिलेसम्मपनि खासै रेस्पोन्स गरेको छैन । आफूले नचाहेको सरकारले काम गर्न गाह्रो हुन्छ र आफूले भनेको नमाने अर्को किसिमले भएपनि बदला लिन्छु भन्ने सन्देश दिनका लागि भारतलाई अहिले काँग्रेसको महाधिवेशन उपयुक्त औजारको रुपमा प्राप्त भएको छ ।

यो सबै बुझेका देउवा भारतसँग सम्बन्ध सुधारका लागि बिभिन्न सम्पर्क सुत्रको प्रयोग गरीरहेका छन् । एक महिना अघिदेखी भारतको निम्ताका लागि पहल गरीरहेका छन् । तर भारत टसको मस भएको छैन । उ कांग्रेस महाधिवेशन अघि देउवालाई भारत बोलाउने मुडमा छैन । तर देउवा जुनसुकै सम्झौता गरेर भएपनि महाधिवेशनअघि भारत भ्रमण गर्ने र परिस्थिति आफू अनुकुल बनाउने ध्याउन्नमा छन् । महाधिवेशनमा पहिलो चरणमा बहुमत नआए दोस्रोचरणमा विमलेन्द्र निधिले रामचन्द्र पौडेल क्याम्पलाई सहयोग गर्ने त होईनन् भन्ने मुख्य डर देउवालाई छ । त्यस्तो भएमा देउवाले सभापतिमा हार्ने बढी सम्भावना हुन्छ । निधिको ब्याकअप भारत होकि भन्ने आशंका देउवालाई छ । त्यसैले निधिलाई फकाउने भन्दा भारतलाई फकाउनेमा उनले जोड दिईरहेका छन्। देउवाको त्यो जोडबलले अझै काम गरेको त छैन । तर उनि हिम्मत भने हारीसकेका छैनन् ।

प्रतिक्रिया