शनिबार, वैशाख ८, २०८१

यी हुन् विश्वकै सर्वाधिक धनी फुटबल खेलाडीहरु

आयुश राठौर २०७८ असोज २६ गते १३:१०

काठमाडौँ । आधुनिक युगमा फुटबल खेलाडीहरु असाधारण ज्याला लिएर क्लबमा आबद्ध भएका छन् । उनीहरु उच्च शैलीको जीवन बिताइरहेका छन् । शैली धेरै उच्च रहेका निस्सन्देह संसारको सबैभन्दा धनी एलीटहरु को बीचमा छन् । फुटबल दुनियाँमा धेरै आश्चर्यजनक तथा प्रतिभाशाली खेलाडी उत्पादन भएका छन् । विभिन्न फुटबल प्रतियोगिताबाट उत्पादन भएका खेलाडीहरुको कला कौशलको प्रशंसा विश्वभर हुँदै आइरहेको छ । यसका साथै उनीहरुको आम्दानीलाई लिएर समेत चर्चा भइरहेको छ ।

पछिल्ला समय केही स्टार खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर, उनीहरुको सम्पत्ति र आम्दानीको बारेमा चर्चा हुँदै आएको छ । अहिले विश्वमा धेरै सम्पत्ति र आम्दानी भएका खेलाडीहरु यस प्रकार रहेका छन् ।

फ्याक्व बोलकियाह

फ्याक्व बोलकियाह अहिलेसम्मकै सबैभन्दा धनी फुटबल खेलाडी हुन् । उनी ब्रुनाईका राज परिवारका सदस्यसमेत हुन् । राज परिवारको सदस्य भएपनि उनी पेशगत रुपमा फुटबल खेल्दै आएका छन् ।उनी पोर्चुगिज क्लब मार्टिमो र राष्ट्रिय टोलीका मिड फिल्डरका रूपमा खेल्दै आएका छन् । २३ वर्षीय यी खेलाडी ब्रुनाईका नागरिक हुन् भने अमेरिकाको पासपोर्टसमेत उनीसँग छ ।

उनले साउथेम्प्टन, चेल्सी, रिडिङ र आर्सनलसहित इंग्लिश प्रिमियर लिगमा समेत केही खेल खेलिसकेको छन् । बोलकियाहसँग अहिले २० बिलियन डलर पैसा रहेको छ । यो भनेको २० अर्ब डलर हुन आउँछ । यो रकम हिसाब गर्दा २३ खर्ब ६० अर्ब नेपाली रुपैयाँ हुन पुग्दछ ।

लिओनल मेस्सी

लियोनेल मेस्सी धनी फुटबल खेलाडीमध्ये दोस्रो स्थानमा रहेका छन् । बार्सिलोना एकेडेमीबाट बार्सिलोना सी, बार्सिलोना बी हुँदै शीर्षस्थ टोलीमा समेत उनले खेलेका थिए । करिब २३ वर्ष बार्सिलोनाबाट खेलेका उनी केही महिनाअघि मात्रै फ्रान्सेली क्लव पिएसजीमा गएका छन् ।
फोब्र्स पत्रिकाका अनुसार उनी १३० मिलियन डलर वार्षिक कमाईका साथ दोस्रो स्थानमा रहेका छन् । अर्जेन्टिनाका खेलाडी मेसी सँग कूल ६ सय मिलियन सम्पत्ति रहेको छ । यो रकम नेपालीमा हिसाब गर्दा ७१ अर्ब रुपैयाँ हुन पुग्दछ । उनीसँग विभिन्न कम्पनीका गाडी र घरहरु छन् ।
उनले विभिन्न कम्पनीका विज्ञापन खेलेर राम्रो आम्दानी गर्दै आएका छन् । यस्तै, उनी केही कम्पनीका ब्राण्ड एम्बेस्डरसमेत रहेका छन् । जसबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् ।

क्रिस्टियानो रोनाल्डो

विश्वको धनी फुटबल खेलाडीको तेस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनीसँग ५ सय मिलियन डलर सम्पत्ति रहेको छ । यो भनेको ५९ अर्ब नेपाली रुपैयाँ हुन आउँछ । उनी एक सफल व्यवसायीसमेत हुन् । उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड जस्ता क्लबबाट खेल्दै अहिले इटालियन सिरी एयुभेन्टसमा पुगेका छन् । उनले आफ्नो करिअरको पहिलो खेलहरुसमेत युभेन्टसबाट सुरु गरेका थिए ।

रोनाल्डो ३७ वर्ष पूरा भइसकेका छन् । खेलको उत्तररार्धमा रहेका उनी सन्यासको नजिक पुगेका छन् । तर, उनको खेलमा कुनै कमी आएको छैन ।वार्षिक १२० मिलियन डलर आम्दानी गर्दै आएका उनीसँग आफ्नै सानदार होटल, विश्वका सबैभन्दा महंगा गाडीहरु रहेका छन् । विभिन्न उपाधि र पुरस्कार पाएका उनले धेरै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

नेमार जुनियर

संसारको शीर्ष धनी खेलाडीमध्ये ब्राजिलियन खेलाडी नेमार जुनियर चौथो स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति २ सय मिलियन अमेरिकी डलर रहेको छ । जसको नेपाली रकम २३ अर्ब ६० करोड हुन आउँछ । उनी केही वर्षयता फ्रान्सको क्लब पिएसजीबाट खेल्दै आएका छन् । विश्वका सर्वाधिक राम्रो खेलाडीका रुपमा रहेका विभिन्न विश्व ब्राण्डका उत्पादनमा ब्राण्ड एम्बास्डरका रुपमा रहेका छन् । उनले विभिन्न व्यक्तिगत पुरस्कारहरु जितेका छन् ।

ज्लाटन इब्राहिमोभिच

सर्वाधिक धनी फुटबल खेलाडीमध्ये ज्लाटन इब्राहिमोभिच पाँचौ धनी खेलाडी हुन् । उनीसँग १९५ मिलियन अमेरिकी डलर अर्थात २३ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।
वर्तमान समयका उत्कृष्ट फुटबल खेलाडीमध्ये उनी एक हुन् । हाल उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइसकेका छन् । उनी युरोपका विभिन्न क्लबहरुबाट खेलेका थिए ।
हाल, उनी ३.५ मिलियन युरोे वार्षिक तलब कमाउँछन् । उनीसँग नाइकी, माइक्रोसफ्ट, निवेआ, भोल्भो जस्ता कम्पनीका ब्राण्ड एम्बेस्डरका रुपमा रहेका छन् ।

ग्यारेथ बेल

विश्वका धनी फुटबल खेलाडीमध्ये ग्यारेथ बेलपनि एक हुन् । उनीसँग करिब १५० मिलियन डलर अर्थात १७ अर्ब ७० करोड रुपैयाँ रहेको छ । उनी वेल्सबाट फुटबल खेल्दै आएका छन् । यस्तै, व्यावसायिक रूपमा रियल म्याड्रिडबाट खेल्ने गरेका छन । सन् २००६ देखि साउथ ह्याम्प्टनबाट आफ्नो करिअर सुरु गरेका उनी खेल कौशलका कारण चर्चामा आइरहने गर्दछन् ।

विश्वकै सबैभन्दा छिटो दौडिन सक्ने खेलाडीका रुपमा नाम लेखाएका उनी सन् २०१३ मा टोटेनहमबाट ८५.३ मिलियन पाउण्डको विश्व कीर्तिमानी शुल्कमा रियल मड्रिडमा गएका थिए । वार्षिक १० मिलियन युरो कमाउँदै आएका उनी विभिन्न विश्व चर्चित उत्पादनका सामाग्रीमा ब्राण्ड एम्बेस्डरका रुपमा समेत रहेका छन् ।

पाउल पोग्बा

म्यानचेस्टर युनाइटेडका मिड फिल्डर पाउल पोग्बा विश्वका धनी खेलाडीमध्ये एक हुन् । फुटबलमा रक्षात्मक र आक्रमक दुवै खेल्न सक्ने उनको कूल सम्पत्ति १२५ मिलियन डलर रहेको छ । यो रकम नेपाली रुपैयाँमा हिसाब गर्दा १४ अर्ब ७५ करोड हुन आउँछ । फ्रान्सेली यी खेलाडी आफ्नो खेल कौशलका कारण चर्चामा आइरहन्छन् । राष्ट्रिय टोलीका लागि समेत खेल्दै आएका उनी मूलतः मिडफिल्डरको भूमिकामा मैदानमा उत्रिने गरेका छन् ।


उनी कुनै समय विश्वकै सबैभन्दा धेरै १०५ मिलियन पाउण्डमा युभेन्टसबाट म्यानचेस्टर युनाइटेडमा सामेल भएका थिए । उनीसँग एडिडासका साथै विभिन्न ब्राण्डका उत्पादनसँग जोडिएका छन् । जसबाट उनले वार्षिक ३१ मिलियन आम्दानी गर्दै आएका छन् । यससँगै विश्वका धेरै खेलाडीहरुले आफ्नो खेल कौशल देखाएर अथाह सम्पत्ति आर्जन गरेका छन् । फुटबल खेलेरै आन्ड्रेस इनिएस्टा, मेसुट ओजिल, इडेन हाजार्डलगायत खेलाडीहरुले आफ्नो सम्पत्तिमा धेरै वृद्धि गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया