शुक्रबार, चैत १६, २०८०

नेपाल र भारत सरकारको ‘कनेक्सन’ : सिद्धान्तभन्दा स्वार्थमा जोड

पुरञ्जन आचार्य २०७८ असोज २४ गते १४:५४
फाइल फोटो

विगत ८ वर्षदेखि भारतमा अहिले भारतीय जनता पार्टी (भाजपा)को सरकार छ । भाजपासँग नेपाल सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको सैद्धान्तिक पक्ष मिल्दैन ।

त्यसो त एकतन्त्रीय शासनमा विश्वास गर्ने कम्युनिष्ट पार्टीले नेतृत्व गरेको चीन र प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालका कम्युनिष्ट पार्टीबीच पनि खासै समानता देखिदैन । यद्यपि, कम्युनिष्टका नाताले सैद्धान्तिक पक्षमा भने समानता छ । यस दृष्टिकोणबाट हेर्दा नेपाली कांग्रेस र भाजपाबीचको पार्टीगत सम्बन्ध अस्वभाविक जस्तो देखिन्छ ।

भारतमा भाजपा वा भारतीय कांग्रेसको सरकार जो भए पनि नेपालले भारतसँग सम्बन्ध राख्नै पर्छ । नेपालमा कम्युनिष्ट सरकार हुँदा भारतले सम्बन्ध प्रगाढ राख्ने प्रयास गरेकै थियो । भारतले कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको चर्चा भएकै हो । कूटनीतिमा सबै पक्षलाई वैचारिक हिसाबबाट मात्रै हेरिदैन, त्यसमा व्यवहारिक पक्ष पनि हुन्छ ।

सरकार एक्लैले यस विषयमा अरुसँग सहकार्य गर्न सक्ने परिस्थिति नेपालमा छैन । नेपालमा ठूला जनसमर्थन प्राप्त कम्युनिष्ट पार्टी पनि छन् । परिर्वतनबाट प्राप्त उपलब्धिलाई उनीहरुले सहजै छोड्ने सम्भावना कम छ ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको छेकोमा डा. प्रकाश शरण महत नेतृत्वको तीन सदस्यीय टोलीको भारत भ्रमणले धेरै चासो निम्त्याएको सत्य हो । धर्मलाई राजनीतिसँग नजोड्ने नेपाली कांग्रेस र धर्मलाई नै राजनीतिको सोपान बनाएको भाजपाबीच ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारले शंका जन्माए पनि यस प्रकारको भ्रमणबाट शंका भएका विषयमा परिणाम आउन सक्छ भन्ने मलाई विश्वास लाग्दैन ।

Advertisement

संविधानसभाबाट दुई तिहाईभन्दा बढीको सहमतिमा संविधान नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको छ । त्यसले कुनै पार्टीको चाहानाले मात्रै हिन्दु राष्ट्र बन्ने अथवा त्यो कुराहरुमा लचिलो हुने अथवा नेपालमा छैन । सरकार एक्लैले यस विषयमा अरुसँग सहकार्य गर्न सक्ने परिस्थिति नेपालमा छैन । नेपालमा ठूला जनसमर्थन प्राप्त कम्युनिष्ट पार्टी पनि छन् । परिर्वतनबाट प्राप्त उपलब्धिलाई उनीहरुले सहजै छोड्ने सम्भावना कम छ ।

कांग्रेसभित्र धर्म निरपेक्षता मान्ने मान्छेको कमी छैन । भारतले नेपाललाई त्यसतर्फ ढोर्याउन चाह्यो भने नेपालमा रहेको भारत विरोधी भावना झनै बढ्न सक्छ । भारतको दक्षिणपन्थी सरकारलाई नेपाल हिन्दु राष्ट्र होस् भन्ने चाहाना होला । दुई तिहाईको आफ्नै सरकार हुँदा भारतलाई हिन्दु राष्ट्र कायम गर्न नसकेको भाजपाले नेपाललाई हिन्दु राष्ट्र बनाउँछ भन्नेमा मलाई खास विश्वास छैन । उसको एजेण्डा त्यही भए पनि नेपालका अप्ठेराहरु भारतले बुझ्छ भन्ने मलाई लाग्छ ।

यो भ्रमणलाई सामान्य र सम्बन्ध विस्तारको भ्रमणका रुपमा बुझ्दा उर्पयुक्त हुन्छ । नेपालमा नयाँ सरकार बनेको छ । भाजपासँग नेपाली कांग्रेसको सम्बन्ध विस्तारसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सर्न्दभमा तयारी गर्न टोली भारत गएको होला । भारतस्थित नेपालको दूतावास प्रभावकारी नभएको महशुस गर्दै नेपालका प्रधानमन्त्रीले भारतसँग विद्यमान समस्याका विषयमा छलफल गर्न आफ्ना प्रतिनिधि पठाएका हुन सक्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र यहाँका कम्युनिष्ट पार्टीबीच कही न कही वैचारिक धारा मिल्छ । असोज २०७६ पार्टीबीच सहकार्य गर्न एक कार्यक्रमको आयोजना भयो । नेपाली कांग्रेसको वैचारिक धारा भने भाजपासँग मिल्दैन । तर, भाजपा भारतको ठूलो पार्टी हो, त्यस हिसाबले पनि नेपाली कांग्रेसले त्यहाँको पार्टीसँग सम्बन्ध विस्तारको प्रयास गर्नु पर्छ । नेपाली कांग्रेसको भारतीय कांग्रेससँग जस्तो सम्बन्ध भाजपासँगै छैन । दुवै देशले सम्बन्ध विस्तारको आवश्यकता महशुस गरी अघि बढेका हुन् ।

नेपाली कांग्रेस र भाजपाबीच आधारभूत सामिप्यता खोजियो भने त्यो पाइदैन । भाजपा स्थापना कालदेखि यहाँसम्म आउँदा उनीहरुको एजेण्डा एकल भाषा, एउटै राष्ट्र, एउटै धर्म, बहुमतको देश, आर्यवतलाई प्रवद्र्धन गर्नु पर्छ भन्ने विचार राखेको पाइन्छ । यता, नेपाली कांग्रेसको कुरा गर्दा उदारवाद, प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । धर्मलाई राजनीतिभन्दा पर राख्नु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता हो जुन भाजपासँग मेल खाँदैन । त्यस कारण दुई पार्टीबीच आधारभूत सामिप्यता हुनु पर्ने कारण देखिदैन । बरु, सैद्धान्तिक हिसाबमा दूरी छ ।

नेपाली कांग्रेस र भाजपाले सैद्धान्तिक पक्षलाई केही पर राखेर व्यवहारिक पक्षलाई अंगाल्दै पार्टी सम्बन्धलाई अघि बढाउने प्रयास गरेको हो जस्तो मलाई लाग्छ ।

तर, हिजोको स्थापित सिद्धान्त र मान्यतामा टेकेर मात्रै अघि बढ्न आजको समयमा सकिदैन । नेपालका कम्युनिष्ट पार्टी एक दलीय शासनमा विश्वास राख्ने त छैनन् । तर, चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तार भयो । १९९० को दशकपछि पार्टी जीवनको घटनाक्रम अध्ययन गर्ने हो भने आधारभूत भिन्नता आएको देखिन्छ । पछिल्लो कालखण्डमा पार्टीहरुले सौद्धान्तिक पक्षभन्दा व्यवहारिक पक्षमा जोड दिएका छन् ।

पार्टी स्थापनाको शुरुवाती चरणमा समाजवादको वकालत गर्ने नेपाली कांग्रेसले त्यो सैद्धान्तिक पक्षलाई छोड्यो भन्ने आरोप खेपिरहेको छ । आजको परिर्वतन सन्दर्भमा विश्वभरका पार्टीहरुले हिजोका आफ्नो मान्यतामा बदलाव गरेका छन् । त्यसैले होला विश्वभर नै सैद्धान्तिक र व्यवहारिक राजनीतिमा टकराव आइने । जहाँ सैद्धान्तिकभन्दा व्यवहारिक पक्ष टट्कारो देखिएको छ । नेपाली कांग्रेस र भाजपाले सैद्धान्तिक पक्षलाई केही पर राखेर व्यवहारिक पक्षलाई अंगाल्दै पार्टी सम्बन्धलाई अघि बढाउने प्रयास गरेको हो जस्तो मलाई लाग्छ ।

आजभन्दा ३०–४० वर्षअघि भाजपाले भारतमा सरकार गठन गर्न सक्छ भन्ने कसैले सोचेका थिएनन् । तर, आज भारतमा उस्कै नेतृत्वमा शक्तिशाली सरकार छ । त्यसकारण उसँग सम्बन्ध विस्तार गर्नु पर्ने नेपालको आवश्यता हो ।

नेपाली कांग्रेस अन्तर्राष्ट्रिय सोसलिष्ट आन्दोलनको सक्रिय सदस्य थियो । आजका दिनमा आइपुग्दा त्यो छैन । सोसलिष्ट इन्टरनेशनल आफैमा कमजोर भएको अवस्था छ । संसरभर व्यवहारिक राजनीतिको चर्चा चलिरहेको छ । नेपाली कांग्रेसले केही बाध्यात्मक र केही व्यवहारिक राजनीतिको शुरुवात गर्न खोजेको रुपमा यो भ्रमणलाई लिनु पर्छ ।

नेपाली कांग्रेस र भाजपाबीच सम्बन्ध विस्तार हुँदै गर्दा कतै नेपाली राजनीतिको कोर्स नै परिर्वतन हुन्छ कि भन्ने एक प्रकारको आशंका देखिन्छ । यदि, एकछिनलाई यो आशंकामा केही आधार छ भन्ने मान्ने हो भने, कोर्स परिर्वतन गर्न सक्ने हिसाबको भ्रमण त भएको छैन । राजनीतिको कोर्स परिर्वतनका लागि खुलमखुल्ला भ्रमण गरिदैनन् । त्यसैले आशंका गरिएको गन्तव्यतर्फ हाम्रो राजनीति जाँदै छ, जस्तो मलाई लाग्दैन ।

नेपाल र भारतलाई धर्म निरपेक्ष राष्ट्र भन्दै गर्दा व्यवहारिक रुपमा यो हिन्दु राष्ट्र नै हो । हाम्रो रिती–थिती, चाल–चलन सबै हिन्दु परम्पराबाट नै निर्देशित छ । नेपालमा पशुपतिनाथलाई सरकारका तर्फबाट सुनको जलप लगाउने काम भयो भने भारतका प्रधानमन्त्रीका कतिपय कदमले हिन्दु राष्ट्रलाई प्रोत्साहन गरेको अरोप भारतमै लाग्छ छ । यस्ता अन्य घटना पनि छन् ।

यस्ता, केही घटनाले शंका जन्माउँला । तर, राजनीतिको कार्स नै परिर्वतन गर्न सक्ने क्षमता राख्दैन । यस्ता परिर्वतनले लामो समयको बहस खोज्छन् । लामो बहसपछि निर्माण हुने जनमतले मात्रै केही निष्कर्ष निकाल्न सक्ला । दुई चार जना नेपालबाट भारतमा जाँदैमा र भारतबाट नेपालमा आउँदैमा राजनीतिलाई प्रभाव पार्ने भ्रमणका हिसाबमा त्यसलाई मूल्यांकन गर्नु हुँदैन ।

भाजपाको मुख्य एजेण्डा नै भारतलाई हिन्दुवादी राष्ट्र बनाउने हो । उनीहरुले आफ्नै एजेण्डा भारतमा लागु गर्न सकेका छैनन् । भारतका कम्युनिष्ट पार्टी एक निर्वाचनबाट अर्को निर्वाचनमा जाँदा झनभन्दा झन तल खस्किदै छन् । भारतीय कांग्रेसले आफ्नो हैसियत कायम गर्न नसकिरहेको अवस्थामा भारतको दिग्विजय गरेको भाजपाले जे पनि गर्न सक्नु पर्ने थियो । खोइ त आफ्नै एजेण्डा स्थापित गर्न सकेको ?
हो, नेपाली जनताले त्यही इच्छा राखेर आन्दोलन गरे, आन्दोलनमा सबै क्षेत्रको सहभागिता भयो । र, स्थापित हुने अवस्था देखियो भने भारतले समर्थन गर्न सक्छ । नेपालमा त्यो महोल अहिले नै बनिसकेको छ जस्तो मलाई लाग्दैन ।

यतिभन्दै गर्दा भित्रको राजनीतिक यही हो भनेर हामी बाहिर बस्नेले भन्न भने सक्दैनौँ ।

(आचार्यसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया