बिहीबार, चैत १५, २०८०

प्रचार एक अन्तर्य फरक : नेपाली कांग्रेस भाजपा सम्बन्ध

शित्तल शर्मा २०७८ असोज २३ गते १२:०८

काठमाडौँ । पार्टीगत सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरु दुई पक्षीय भेटघाटका कार्यक्रममा व्यस्त छन् । नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच पार्टीगत सम्बन्ध स्थापनाका लागि भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणमा असोज २० देखि नेपाली कांग्रेसका नेता भारत भ्रमणमा गएका हुन् ।

कांग्रेस नेता प्रकाश शरण महतको नेतृत्वमा रहेको टोलीले भेटघाटका क्रमलाई भाजपा अध्यक्ष जेपी नड्डाबाट शुरु गरेका थिए । असोज २० मा भएको शिष्टाचार भेटवार्तामा भ्रमण टोलीमा रहेका कांग्रेस नेता उदय शमशेर र अजय चौरासिया पनि सहभागी थिए। यस्तै शुक्रबार टोलीले भाजपा मुख्यालयमा पार्टीका महामन्त्री अरुण सिंहसँग भेटवार्ता गरेको थियो भने त्यसअघि विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो । औपचारिक मात्रै होइन भारतसँग अनौपचारिक कूटनीतिक सम्बन्धको आवश्यकता महसुश गरेर सत्तारुढ भाजपासँग पार्टीगत सम्बन्ध विस्तारका लागि कांग्रेस नेताहरु भारत भ्रमणमा गएको बताइएको छ ।

यस्तै, भ्रमणका क्रममा कांग्रेस प्रतिनिधि मण्डलले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शनिबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणमा उठेका कुरा

नेपाली कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख चौथाइवा गत भदौ ६ मा नेपाल भ्रमणमा आएका थिए । उनको उक्त भ्रमणबाट नै नेपाली कांग्रेस र भाजपाबीच पार्टीगत सम्बन्ध स्थापनाको पहल भएको घटनासँग जानकारहरु बताउँछन् । नेपाल भ्रमण सकेर भारत फर्किएका चौथाइवालेको निमन्त्रणमा नेपाल कांग्रेसको टोली भारतमा छ ।

Advertisement

भेटवार्तामा कांग्रेस नेताले सीमा समस्या समाधानका लागि अघि बढ्न आग्रह गरेका थिए भने महाकाली तुइन प्रकरणलगायतका कुरा उठाएका थिए । भारतीय विदेशमन्त्रीले तुइन प्रकरणमा भारतको कुनै दोष नभएको बताए ।

बिहीबार भएको भाजपा अध्यक्ष नाड्डासँगको भेटवार्तामा पार्टीगत सम्बन्ध स्थापनाका विषयमा कुराकानी भएको थियो । पार्टीगत सम्बन्ध विस्तार हुँदा मात्रै दुई पार्टीले गर्ने काम र त्यसको प्रक्रिया बुझ्न सकिने हुँदा पार्टीगत सम्बन्ध स्थापनामा दुवै पक्ष सकारात्मक रहेको बताइन्छ । दुवै पार्टीको राम्रो कुराको अनुशरण गर्ने विषयमा पनि भेटवार्ताका क्रममा सकारात्मक छलफल भएको थियो ।

पार्टीगत सम्बन्ध विस्तारका लागि भारत पुगेको बताइए पनि नेपाली कांग्रेसको भ्रमण टोलीले भारतीय विदेशमन्त्री जय शंकरसँग पनि भेटवार्ता गर्यो । भेटवार्तामा कांग्रेस नेताले सीमा समस्या समाधानका लागि अघि बढ्न आग्रह गरेका थिए भने महाकाली तुइन प्रकरणलगायतका कुरा उठाएका थिए । भारतीय विदेशमन्त्रीले तुइन प्रकरणमा भारतको कुनै दोष नभएको बताए ।

यस्तै, विदेश मन्त्रीसँगको भेटमा नेपालले भारतसँग खरिद गरेको कोभिड भ्याक्सिनको आपूर्तिको विषयमा छलफल भयो । भारतीय विदेशमन्त्रीले छिट्टोभन्दा छिट्टो भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको कांग्रेस प्रतिनिधिमण्डलका नेता महतले बताएका भारतीय सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा बताएका छन् ।

यता भाजपा महामन्त्री अरुण सिंहसँगको भेटमा पार्टीगत सहकार्यको विषयका अलावा नेपालमा बढ्दै गएको चिनियाँ उपस्थिति र त्यसमा भाजापा नेताहरुले भेटका क्रममा नेपाली कांग्रेसको धारणा बुझ्ने प्रयास भएको थियो । हिन्दु राष्ट्रका सर्न्दभमा कांग्रेसको धारणा बुझ्ने प्रयास पनि भाजपा महामन्त्री सिंहले गरेका थिए । कांग्रेस टोलीले यस विषयमा दिएको प्रतिक्रियाका विषयमा भने स्पष्ट केही बताइएको छैन ।

भारत भ्रमणका क्रममा नेपाली कांग्रेस टोली शनिबार उत्तर प्रदेश पुग्दै छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेटघाटको समय निश्चित भएपछि कांग्रेस टोली त्यसतर्फ प्रस्थान गरेको हो । मुख्यमन्त्रीसँगको भेटघाट सीमाकै विषयमा केन्द्रीत रहने बताइएको छ । नेपाल–भारत सीमाको धेरै भाग उत्तर प्रदेशसँग जोडिएकाले उत्तर प्रदेशसँगको सम्बन्धलाई नेपालमा महत्वपूर्ण मानिन्छ ।

भारत भ्रमण गर्न चाहेका प्रधानमन्त्रीको विदेश भ्रमण भने लगभग असम्भव देखिन्छ । स्कटल्याण्डको ग्लाल्सोमा आयोजना हुने कोप-२६ मा प्रधानमन्त्री देउवा सहभागी हुने भएसँगै भारतबाट विदेश भ्रमण शुरु गर्ने उनको चहाना पूरा नहुने भएको हो ।

मुख्यमन्त्री आदित्यनाथसँगको भेट महत्वपूर्ण हुनुको अर्को कारण छ । भारतको संस्थापन पक्षका नेता मुख्यमन्त्री आदित्यनाथ नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने सार्वजनिक अभिव्यक्ति दिने उच्च स्तरका एक मात्रै भारतीय नेता हुन् । भित्री रुपमा अन्य दबाब रहेको बताइए पनि सार्वजनिक रुपमा नै नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भन्ने उनी एक पात्र हुन् । त्यसैले आदित्नाथसँगको भेट आपसी सम्बन्ध र दुई देशबीचको सीमा समस्यामा मात्रै केन्द्रीत नरहने बताइन्छ ।

भ्रमणको भित्री पाटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएसँगै आफ्नो पहिलो विदेश यात्रा भारतबाट शुरु गर्ने इच्छा गरेका थिए । देउवा र भारतबीचको सम्बन्धमा तिक्तता भएको सर्वत्र बुझाई माझ प्रधानमन्त्रीले भारत भ्रमण गर्ने इच्छा विभिन्न माध्यममार्फत भारतका संस्थापन समक्ष पुर्याए । नेपालस्थित भारतीय दूतावासमा कार्यरत एक कर्मचारी प्रधानमन्त्री देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेका कुरा साँचो रहेको बताउँछन् ।

‘प्रधानमन्त्रीमा नियुक्त भएपछि नै देउवाले भारत भ्रमणको इच्छा प्रकट गरेको दूतावासलाई जानकारी आएको थियो,’ उनी भन्छन्, ‘यस विषयमा पछिल्ल्लो अवस्था के भइरहेको छ यकिन छैन, सायद केही कुरा नमिलेर कुरा सेलाएको होला ।’

भारत भ्रमण गर्न चाहेका प्रधानमन्त्रीको विदेश भ्रमण भने लगभग असम्भव देखिन्छ । स्कटल्याण्डको ग्लाल्सोमा आयोजना हुने कोप-२६ मा प्रधानमन्त्री देउवा सहभागी हुने भएसँगै भारतबाट विदेश भ्रमण शुरु गर्ने उनको चहाना पूरा नहुने भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले देशले प्राप्त गरेको उपलब्धीलाई प्रतिक्रियावादी शक्तिसँग मिलेर समाप्त पार्न लागेको आरोपसहित देउवा नेतृत्वमा पूर्व प्रधानमन्त्रीहरुले केही समयअघि एक वक्तव्य प्रकाशित गरेको थियो । त्यो वक्तव्य भारत लक्षित रहेको बताउँदै भारत देउवासँग असन्तुष्ट रहेको बताइन्छ ।

प्रधानमन्त्री देउवाले भ्रमणको इच्छा व्यक्त गरे पनि भारतबाट सकारात्मक जवाफ नआउँदा भारतसँग व्यक्तिगत हिसाबमा नै सम्बन्ध सुधारको प्रयास गरेको कांग्रेसभित्रकै नेताहरुको बुझाई छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एक नेता बताउँछन्, ‘पार्टीगत सम्बन्ध विस्तारका लागि नेताहरु भारत भ्रमणमा जानुलाई नराम्रो भन्न नसकिए पनि भ्रमणलाई प्रधानमन्त्रीले पार्टीगत भन्दा व्यक्तिगत बनाउने प्रयास गरेको देखिन्छ ।’ भ्रमण दलमा प्रधानमन्त्री देउवाले आफू निकटका व्यक्तिलाई मात्रै सहभागी गराउँदा पार्टीको अर्को पक्ष सशंकित देखिएको हो ।

कांग्रेसको संस्थापनइतरको समूह सशंकित हुनको अर्को कारण हो आसन्न महाधिवेशनअघि सभापतिले दक्षिणी छिमेकसँग बढाउन खाजेको सम्बन्ध । वैचारिक लाइननै नमिल्ने भाजपासँग सभापतिले सम्बन्ध बढाउन खोज्नुले केही आशंका जन्माएको पत्रकारसमेत रहेका कांग्रेसका एक पुराना नेता बताउँछन् । भन्छन्, ‘भारतीय संस्थापनसँग औपचारिक सम्बन्ध विस्तारको प्रयास मात्रै भएको हो अथवा सैद्धान्तिक पक्षका विषयमा छलफल गर्न भ्रमण भयो केही समयपछि पक्कै थाहा हुन्छ ।’ पार्टीकै सहमतिबिना भएको भ्रमणले आशंका भने जन्माएको उनी बताउँछन् ।

भ्रमणलाई फरक कोणबाट पनि हेरिएको छ । भारतसँगको सम्बन्ध सुधार गर्दै विद्यमान समस्या हल गर्ने केही संकेत मात्र दिन सकेको अवस्थामा देशभित्र त्यसले सकारात्मक उर्जा दिन्छ । देउवा नेतृत्वमा सरकार गठन गर्नुको औचित्य पनि यसले पुष्टि गर्न सक्छ । यसले आगामी पार्टी महाधिवेशनमा देउवालाई पार्टीभित्रै प्रतिस्पर्धा गर्न र आफू नेतृत्वमा किन दोहोरिनुपर्छ भन्ने सकारात्मक सन्देश सञ्चार गर्न सहज हुने देउवा निकटका नेताहरुको विश्लेषण छ ।

प्रतिक्रिया