सोमबार, जेठ ७, २०८१

नेपालमा कागजीसँगै दशैंमा नयाँ नोट

किरण अधिकारी २०७८ असोज २० गते १०:२४

काठमाडौँ । दशैंका लागि यही असोज ४ गतेदेखि २५ गतेसम्म नयाँ नोट सटही भइरहेको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो ।

Advertisement

नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय सहित विभिन्न बैंकमा अहिले पनि लामै लाइनमा लाम लागेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोटहरु वितरण गरिएको छ । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

नेपालमा नगद नोटको इतिहास

दशैमा नयाँ नोट सटही गर्ने प्रचलन आउनुभन्दा अघि नगद नोटको बारेमा थोरै जानकारी लिऔं । २००७ सालको परिवर्तनपछि देशमा केन्द्रीय बैंकको आवश्यकता बोध गरी तत्कालिन प्रिन्सिपल रोयल एडभाइजर गुञ्जमान सिंहको संयोजकत्वमा नेपाल राष्ट्र बैंक ऐन तर्जुमा गरियो । वि.स‌. २०१२ कत्तिक १८ गते नेपाली नोटको निष्काशन प्रबन्ध गर्ने काम भयो । नेपाली मुद्रा चलनचल्तीमा ल्याउनका लागि नेपालमा बैंकिङ प्रथाको विकास गरियो । विकासका लागि पूँजीगत व्यवस्था बलियो भएकाले त्यसलाई गतिशिल तुल्याउन नेपाल राष्ट्र बैंक ऐन २०१२ जारी गरि नोट व्यवस्था विभाग तयार पारियो । २०१२ बैशाख १९ गते जारी नोट निश्काशन गर्ने लालमोहरको नियमानुसार नेपाली नोट चलनचल्तीमा ल्याउने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्र हुने व्यवस्था गरियो ।

नेपाल राष्ट्र बैंक सञ्चालन हुनुपुर्व २०१३ साल बैशाख १० गते हिमालय शमशेर जबरालाई बैंकको गर्भनर र सञ्चालक समितिमा सेक्रेटरी नरप्रताप थापा, डे.से.हिरण्यध्वज जोशी, गयाप्रसाद शाह र कृष्णप्रसाद मुगाली थापालाई नियुक्ती गरेको इतिहास नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । शुरुमा नेपाल राष्ट्र बैंकले नोट निश्काषन गर्दा जेथा राख्ने गथ्र्यो । शुरुमा केन्द्रीय बैंकले १ रुपैयाँ, ५, १० र १०० को नोट निश्काषन गर्दा १६ हजार ६ सय ७६ तोला सुन र चाँदी १२ लाख ५० हजार तोला जेथा राखिएको थियो ।


वि.स. २००२ देखि २०१९ जेष्ठ २९ सम्म निश्काशन भएका नेपाली नोटलाई मोहर रुपैयाँ (मोरु) भनिन्थ्यो । यद्यपी तत्कालिन सरकारले वि.स. २०१५ साल चैत्र ३ गते मोरुको ठाउँमा नेपाली रुपैयाँ लेख्ने निर्णय गरेको थियो । वि.स. २०१३ साल बैशाख १४ गते राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको उद्घाटन गरेका हुन् । त्यसैले पनि सदर मुलुकी खानाले वि.स. २००२ देखि २०१३ सालसम्म कागजी नोट छापेको हो ।

नेपालमा वि.स. २००२ साल असोज १ गतेदेखि कागजी नोटको प्रचलन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजा त्रिभुवन विर विक्रम शाह र प्रधानमन्त्री जुद्धशमशेर राणाको समयमा कागजी नोट छापिएर शुरुवात भएको हो । सदर मुलुकी खानाले उक्त कागजी नोटमा पण्डित जनकराजको हस्ताक्षर थियो । कागजी नोट पहिलो पटक इन्डिया सेक्युरेटी प्रेस नासिकबाट नोट छपाई गरेर नेपाल ल्याएको थियो । पहिलो पटक ५ रुपैयाँको नोट ६ लाख ६० हजार थान, १० रुपैयाँको ३ लाख २० हजार र १०० रुपैयाँ दरका नोटहरु ४५ हजार थान नोटहरु चलनचल्तीमा ल्याईएको थियो ।

नेपाली मुद्राको चलनचल्ती बढाउन वि.स. २०१४ असार २९ गते विदेशी मुद्रा नियन्त्रण ऐन बनाउने क्रम अघि बढ्यो । २०१९ असार १५ गते ऐन जारी भएको इतिहास नेपाल राष्ट्र बैंकको वित्तिय शाखामा छ । नोटभन्दा अघि नेपालमा सिक्काको मात्र प्रचलन थियो । सिक्काभन्दा अघि खाद्य पदार्थ सटहीको व्यवस्था नै रहेको हो ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया