बुधबार, वैशाख १९, २०८१

प्रधानन्यायाधीशको खण्डन : शेरबहादुर सरहका नेतालाई मैले मन्त्री बनाउनु पर्छ र ?

मेरोन्यूज २०७८ असोज १८ गते १२:३७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मन्त्रिपरिषद्मा आफ्नो मान्छेलाई समेत मन्त्री बनाउन माग राखेको समाचार सत्य नभएको बताएका छन् । गठबन्धनको सरकारमा आफ्नो तर्फबाट दुई जनालाई मन्त्री बनाउनु पर्ने समाचार आएसँगै उनले यसबारे खण्डन गरेका हुन् ।

यसैबीच सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरू आज बिहान प्रधानन्यायाधीश शमशेरलाई भेट्न पुगेका थिए । भेटमा उनले आफूले मन्त्री मण्डलमा आफ्नो पक्षबाट कसैलाई मन्त्री बनाउन माग नराखेको बताएका थिए । तर, उनले त्यसलाई ‘जोक’ भएको उल्लेख गरेका थिए ।

उनलाई भेट्न सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीहरू पुगेका थिए । उनीहरूले समाचारमा आएको विषय असत्य भए खण्डन गर्नु पर्ने माग राखेका थिए । उनले पनि आफूले मन्त्री बागबण्डाबारे खण्डन गर्ने बताएका थिए ।

‘जुन नाम आएको छ, एउटा दीपक तिमल्सिना, अर्को गजेन्द्र हमाल । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि,’ सर्वोच्च बारका पदाधिकारीहरूसँग उनले भने, ‘उसँग मलाई जोड्न पर्छ र ? उसलाई मैले बनाउनुपर्छ र ?’

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दासमेत मन्त्री मण्डलले पूर्णता पाउन नसकेको अवस्थामा प्रधानन्यायाधीशले आफू पक्षका नेताहरूलाई मन्त्री बनाउन माग राखेको समाचार आएको हो ।

प्रतिक्रिया