शुक्रबार, वैशाख ७, २०८१

निरन्तर जागरणको कम्युनिस्ट आन्दोलनमा वैचारिक भ्रष्टाचार

केशरमणि कटुवाल २०७८ असोज १६ गते १६:३५

विषय प्रवेश

कम्युनिस्ट आन्दोलन निरन्तर चेतना र जागरणको आन्दोलन हो । कम्युनिस्ट कार्यकर्ताहरु कठिनभन्दा कठिन संघर्षहरुमा आफूलाई ‘फिट’ बनाउँदै प्रतिकुलताहरुलाई अनुकूलतामा बदलेर समाजवादी÷साम्यवादी राजनीतिक व्यवस्था ल्याउन दृढ रहन्छन् ।

आफ्नो समयमा जसले राज्यसत्ताको नेतृत्व गरिरहेको छ, त्यो त्यस समाजलाई कुनै न कुनै रुपमा नेतृत्व गर्ने क्षमताकै कारण त्यहाँ पुगेको हुन्छ । कम्युनिस्टहरुले ती बुर्जुवाहरुलाई पराजित गर्न त्यो भन्दा उन्नत विचार, व्यवहार, जीवनशैली, सैद्धान्तिक र राजनीतिक स्पष्टता तथा तत्कालीन समाजलाई नेतृत्व गर्ने वैचारिक श्रेष्ठता हासिल गर्नुपर्छ । यो हिजोको कम्युनिस्ट आन्दोलनमा जति सत्य थियो, भोलिका दिनमा पनि उत्तिकै सत्य कुरा हो ।

विश्वमा नै यतिबेला कम्युनिस्ट आन्दोलन दयनीय अवस्थामा छ । यसो हुनुकापछि कम्युनिस्ट पार्टीहरु र त्यसको नेतृत्वमा पुँजीवादी असफल राजनीतिक व्यवस्थालाई माथ दिनसक्ने राजनीतिक कार्यक्रम, सैद्धान्तिक र वैचारिक आधारको विकास गर्न नसक्नु नै हो । कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्छौ भन्नेहरु नयाँ विचार, सिद्धान्त, दर्शन, राजनीतिक उद्देश्य र त्यसमाथि जनतामा भरोसा जगाउनुको साटो पुँजीवाद र संसदवादको गोलचक्करमा फस्न पुगेका छन् । यसले सच्चा कम्युनिस्टहरुलाई पनि दिग्भ्रमित पारिरहेको छ ।

सिद्धान्त र व्यवहार

विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्ता थुप्रै धोका र गद्दारी हुने गरेको पाइन्छ । आफ्नो विचार, सिद्धान्त र कम्युनिस्ट आन्दोलन अघि बढाउने क्रममा दुश्मनको पञ्जामा परेर सिंगो जीवन नै जेलभित्रै अन्त्य गर्ने गोञ्जालोजस्ता नेता पनि देखिए । विश्वमा पुँजीवादलाई थर्काएर राखेको सोभियत युनियनको कम्युनिस्ट पार्टीलाई सिध्याउने ख्रुश्चेवदेखि गोर्बाचोभ हुँदै उत्तराधिकारी घोषणा गरेलगत्तै मूल नेतृत्वविरुद्ध षढयन्त्रमा सामेल हुने लिन प्याओहरुसम्मको इतिहास कम्युनिस्ट आन्दोलनमा लामबद्ध हुनेहरुका लागि स्मरणीय छन् । विश्वमै कम्युनिस्ट आन्दोलनका दुई वटा बाटा छन्, पहिलो बाटो कम्युनिस्ट आदर्श, विचार, सिद्धान्तलाई दह्रोसँग पकडेर अघि बढ्ने र अर्को पुँजीवादीको पुच्छर बन्दै आत्मसर्पणको बाटोबाट धोका र गद्दारीको यात्रा गर्ने ।

नेपालको छोटो सन्दर्भ

नेपाल कम्युनिस्टहरुका लागि उर्वर जमिन हो । आज पनि यहाँका बहुसंख्यक जनता कम्युनिस्ट पार्टीसँग निकट छन् । तर दुःखको कुरा नेपालका सच्चा कम्युनिस्ट पार्टी भएनन् । कम्युनिस्ट पार्टीको नाम भजाएर संसदवादको गोलचक्करमा छन् । त्यही मिलेर खाने राजनीतिक व्यवस्थामा पनि एकले अर्कोलाई सिध्याउने, होच्याउने र आफू रसातलमा भासिदासमेत अरुभन्दा अग्लो र श्रेष्ठ भएको दाबी गर्ने पंक्ति निकै ठूलो छ । साँच्चै भन्ने हो भने अहिले नेपालमा कम्युनिस्ट पार्टीले जुन काम गरिरहेका छन्, यो कम्युनिस्ट आन्दोलनको मर्म, भावना र उद्देश्यसँग मेल खाँदैन । चुनावमार्फत सत्तामा पुगेर पनि कम्युनिस्ट आन्दोलनका नाममा विगतमा आफूले उठाएका एजेन्डा, नीति र कार्यक्रमहरु लागू गर्ने जाँगर चलाएको देखिएन ।

जनताले एउटा कम्युनिस्ट पार्टीको सत्ता हुँदा र पुँजीवादीको हातमा सत्ता हुँदा फरक पाउन सकेनन् । कम्युनिस्ट पार्टीले सत्ताको नेतृत्व गर्दा आधारभूत तहका जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । सत्ता प्राप्तिका लागि वैचारिक आदर्शलाई तिलान्जली दिँदै एक भएका कम्युनिस्ट पार्टीका नेतामा सत्ता उन्माद कतिसम्म बढ्यो र त्यसले कसरी विध्वंस ल्यायो भन्ने उदाहरण धेरै पुरानो भएकै छैन । त्यसमाथि पनि एउटा वैचारिक धरातलबाट हुर्किएका नेताहरुलाई सत्ताको रसले कसरी निर्लज्ज अर्को कित्तामा उभ्याउँछ भन्ने पनि हामीले राम्रोसँग देख्ने अवसर पाएका छौं ।

केही समयअघि एमालेभित्रको विवाद चलिरहेका बेला एउटा बैठकमा एमालेका कतिपय नेताहरुले जबजबारे प्रश्न उठाएको प्रसंग कोट्याउँदै पूर्वमाओवादी नेता मणि थापाले भनेका थिए, ‘उहाँहरुले जबजबारे केही प्रश्न उठाउनु भएको थियो, हामीले त्यसबारे प्रष्ट पार्ने काम ग¥यौं ।’
माओवादी अन्दोलनबाट स्थापित र माओवादी आन्दोलनको सैन्य रणनीतिकारको रुपमा समेत चर्चा पाएका रामबहादुर थापा आफ्नो राजनीतिक विरासतलाई नै त्यागेर यतिबेला एमालेमा सामेल भएका छन् । एमालेमा उनको न विचार मिल्छ, न त उनको राजनीति मिल्छ । तर केही दिनअघि चितवन पुगेर उनले प्रचण्ड पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप लगाए ।

यसरी सुन्नै पनि पट्यारलाग्दो, वैचारिक रुपमा स्खलित भाषण गर्ने अर्का नेता टोपबहादुर रायामाझी पनि छन् । उनी पनि माओवादी छाडेर एमालेमा लागेका हुन् । माओवादीमा लामो समय बाबुराम भट्टराईको लाइनमा लागेर भागबण्डामा पटकपटक मन्त्री पद पड्काए । केपी ओलीको पछिल्लो प्रधानमन्त्रीकालमा उनी मन्त्री बन्न पाएनन् । उनले पार्टीभित्रको संघर्षमा वैचारिक दाम्लो चुँडाएर केपी ओलीलाई साथ दिए र बदलामा मन्त्री पद उपहारमा लिए । तिनै नेताले एक भाषणमा अहिले लोभीपापीहरुको हातमा सत्ता गएको प्रतिक्रिया दिए । यो पद पाउने चरम महत्वाकांक्षाको उदाहरण हो ।

कन्हैयालाई हेरौं न

जब मानिसमा विचार र सिद्धान्तभन्दा व्यक्तिगत महत्वाकांक्षाले घर बनाउन थाल्छ, तब उसमा विचलन पैदा हुन्छ । सिद्धान्तप्रतिको जाँगर मर्दै जान्छ र उसले कम्युनिस्ट हुनु र पुँजीवादीको पुच्छर हुनुको अर्थ उस्तै देख्न थाल्छ । यसको पछिल्लो उदाहरण बनेका छन्, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) बाट चर्चा कमाएका कन्हैया कुमार ।

केही वर्षअघिको कुरा हो, उनी भारतीय जनता पार्टी र भारतीय काँग्रेसको आर्थिक नीतिमा कुनै फरकपना देख्दैनथिए । हिजो कांग्रेस सत्तामा हुँदा सहयोग गर्नेहरुले नै अहिले भाजपालाई सहयोग गरिरहेको उनको बुझाई थियो ।

स्वतन्त्रता, स्वतन्त्रता, पितृसत्ताबाट स्वतन्त्रता, मनुवादबाट स्वतन्त्रता, पुुँजीवादबाट स्वतन्त्रताको नारा लगाउने सीपीआईका नवनायक आफैंले यतिबेला कम्युनिस्ट आन्दोलनबाट स्वतन्त्रता लिएका छन् । उनले भगत सिंहको जन्मदिनमा उनकै तस्बिर कांग्रेस नेता राहुल गान्धीलाई दिएर कांग्रेसमा आफूलाई समाहित गराए र पुँजीवादी पार्टीको औपचारिक यात्राको थालनी गरेका छन् । तर भगत सिंहलाई यो कुरा राम्रोसँग थाहा थियो कि क्रान्ति एक दिनमा हुँदैन, देश बचाउने नायक पनि एकै दिन आकाशबाट फुत्त हामफालेर आउँदैन ।

भगत सिंहले अंग्रेजलाई चक्मा दिनका लागि ‘ह्याट’ लगाएका थिए, तर उनले आफ्नो विचारधारासँग कहिले पनि सम्झौता गरेका थिएनन् । औपनिवेशिक भारतमा भगत सिंह कांग्रेस नभएर हिन्दुस्तान सोसलिस्ट रिपब्लिनक एशोसिएसनका सदस्य थिए । तर कन्हैया कुमारले आफ्नो विचारबाट स्खलन भएको र राजनीतिक आन्दोलनबाट विचलित भएको कुरालाई न्यायोचित ठहराउनका लागि भगत सिंहकै सहारा लिएका छन् ।

कहिले काँही नेताका अभिव्यक्तिले गम्भीरताभाव हैन, व्यंग्यभाव बोकेका हुन्छन् । अहिले कन्हैया कुमारका अभिव्यक्ति त्यसकै प्रतिनिधि हुन् । उनले कांग्रेसमा आफू गएको कुरालाई पुष्टि गर्न उनले देश बचाउन आफू कांग्रेसमा लागेका भाषण गरिरहेका छन् । तर सत्य के हो भने उनी आफूलाई बचाउन कांग्रेसमा सामेल भएका हुन् ।

नेपालमा पनि यस्ता राजनीतिक ‘जोक’ हरु बेलाबेलामा सुन्न पाइन्छ । भारतमा टिक्न नसकेर ‘मेलमिलापको नीति’ लिएर आएका बीपी कोइराला हुन् या कम्युनिस्ट आन्दोलनलाई सही, विद्रोहात्मक मार्गबाट अघि बढाउन नसकेर जनताको बहुदलीय जनवाद नामको संसदवादी कार्यक्रम लिएर बहुदलीय प्रतिस्पर्धामा आएको एमाले दुवैका तर्क देश बचाउने थियो ।

जनयुद्धलाई बीचमै विश्राम दिएर सहरी सशस्त्र विद्रोहमार्फत सत्ता कब्जाको रणनीतिसहित शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा छिरेको माओवादी र त्यहाँ पनि टिक्न नसकेर टुक्राटुक्रामा विभाजित भएका माओवादीका विभिन्न घटकहरुको एउटै नारा हुन्छ, ‘देश बचाउने ।’ अब त देश नै लज्जित हुन्छ होला– मलाई बचाउने यति धेरै मानिसहरु छन्, तर म किन बाँच्न सकिरहेको छुइँन !

यतिबेला कन्हैया कुमार हिजोका आफ्नै वर्ग शत्रुका हुलमा जम्मा भएर देश बचाउने भाषण गरिरहेका छन् । हिजो यिनै कन्हैया पुँजीवादविरुद्ध साम्यवाद बचाउने नारा दिइरहेका थिए । तर अहिले कांग्रेस बचाउनका लागि उनलाई कम्युनिस्ट विचारधारा नै ‘अनावश्यक’ बनिदियो ।

कन्हैया कुमार बाम दलमा भएर पनि आम दलजस्तै निजी नायकत्वमा अघिल्लो संसदीय निर्वाचनमा बेगुसरायमा टिकट पाउन सफल भएका थिए । उनले निर्वाचन त करिब साढे चार लाख मतान्तरले हारे । तर उनको महत्वाकांक्षा भने आम दलका नेताहरुको जस्तै बढेर गयो । उनले देश बचाउने, कांग्रेस बचाउने भनेर दिएको भाषणबाजीको पछि केही महत्वाकांक्षा लुकेका देखिन्छन् । म यति राम्रो बोल्न सक्छु, मेरा यति धेरै प्रशंसक छन्, मिडिया मलाई मन पराउछन् भने म यो कहिल्यै सत्ता नै नआउने राजनीतिक विचारधाराका पछि किन लागिरहने ? उनको कांग्रेस यात्राको मूल मर्म यही हो ।

नेपालमा प्रचण्डको कार्यकालमा अर्थमन्त्री भएर पर्याप्त प्रशंसा कमाएका बाबुराम भट्टराईदेखि बीबीसीबाट चर्चा पाएका रविन्द्र मिश्रसम्मलाई यस्तै आत्मरतीको भ्रमले राजनीतिको फरक दलदलमा ल्यायो । अति महत्वाकांक्षा मानिसलाई दिउँसै रतन्धो लगाउने यस्तो वस्तु हो, जसले आफैं सिध्यिएको पनि धेरै पछि मात्रै थाहा पाउँछ ।

२०६४ को संविधानसभा निर्वाचनमा पाएको मतलाई राम्रोसँग सदुपयोग गरेर देशलाई अग्रगामी राजनीतिक दिशातिर लैजान सकेको भए आज माओवादी देशको यो अवस्थामा खुम्चिनुपर्ने थिएन ।

सोभियत संघले सुरक्षाका नाममा आणविक अस्त्रमा अथाह खर्च गरेर देशको अर्थतन्त्रलाई कमजोर नपारेको भए, आन्तरिक निराशा त्यो अवस्थासम्म पुगेर शासन व्यवस्था नै ढल्ने अवस्था आउने थिएन । यी प्रशंग एउटा व्यक्तिसँग जोडिएको होइन, यो त महत्वाकांक्षको भुतले कुन स्तरमा पुगेकालाई समेत ढलाउन सक्छ भन्ने उदाहरणमात्रै हो । विचार, राजनीति, दर्शन र उचित गन्तव्य बिना गरेको महत्वाकांक्षी यात्राले निम्त्याउने दुर्घटनालाई मात्रै यहाँ इंगित गरिएको हो ।

कन्हैया कुमारले कांग्रेसको सदस्यता लिँदै राहुल गान्धीलाई अम्बेडकर, गान्धी र भगत सिंहको फोटो उपहार दिए । तर दुर्भाग्य यो हो, न यो चित्र लिनेको न चित्र दिनेको चरित्र भगतसिंहसँग मिल्छ । यी कोही पनि अब नयाँ संघर्षमा होमिनुपर्ने र भगतसिंहजस्तो फाँसीको फन्दामा चढ्नुपर्ने छैन भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ ।

कन्हैयाले आफ्नो पुरै राजनीतिक प्रशिक्षणका लागि भाकपालाई धन्यवाद पनि दिन्छन् । तर उनले अहिलेसम्म लिएको प्रशिक्षण पूर्ण रुपमा भाजपा र कांग्रेसको विरुद्ध हो । अहिलेसम्म जुन समाजवादको कुरा उनले गर्दै आएका थिए, अब त्यो कांग्रेसमा पाइन्छ त ? कांग्रेसले आफ्नो विचारधारमा कुनै परिवर्तन गरेको छ ?

भारतमा कांग्रेसको नीतिका कारण आएको राजनीतिक शून्यता र भीषण भ्रष्टाचारका कारण नै अहिले भाजपा विपक्षीले टोपी खस्नेगरी माथि हेर्दा पनि टुप्पो नदेखिने शक्तिसहित सत्तामा आएको होइन र ? अब कन्हैया र भाजपालाई हराउँन सबैभन्दा ठूलो विपक्षी पार्टी कांग्रेसलाई बचाउने कुरा गरिरहेका छन् । यसको अर्थ भनेको उनले आफ्नो राजनीतिक संघर्षबाट पूर्ण रुपमा आत्मसपर्मण गरेका छन् र विचारमा सम्झौता गरेका छन् । यो उनको निजी मुक्ति र महत्वाकांक्षाका कारण उनी व्यक्तिगत दौडमा सामेल भएका छन् ।

भनिन्छ, तपाईं पहिले आफ्ना शत्रु पहिचान गरिसक्नुहोस्, त्यसपछि एकपछि अर्को गर्दै मित्रहरु भेटिन थाल्छन् । पुँजीवादी र साम्राज्यवादी व्यवस्था समाजवादी व्यवस्थाका शत्रु हुन् । कन्हैया आज त्यो वास्तविक शत्रुलाई किनारा लगाएर एक छद्म शत्रु तय गर्न लागिपरेका छन् ।
यो सम्पूर्ण सन्दर्भ राजनीतिक र वैचारिक भ्रष्टाचारको हो । आत्ममुग्धताको चस्माबाट देखिने वैचारिक दोष यसैलाई भनिन्छ ।

जब आफ्नो दृष्टिकोणमा समस्या हुन्छ, तब गलत शत्रु पहिचान गर्न थालिन्छ । गलत शत्रु पहिचान गर्नेले सही मित्र पहिचान गर्न सक्दैन । यसरी राजनीतिक सम्झौताबाट विचारलाई किनारा लगाएर गरेको राजनीतिबाट कति प्राप्त हुन्छ र कति गुम्छ भन्ने भोलिका दिनले तय गर्छन् । पदीय महत्वाकांक्षाको भारी बोकेर सत्ताको दुनो ताक्दै हिँड्ने नेताको व्यवस्थापन सम्बन्धित पार्टीले कसरी गर्छन्, त्यो हेर्न भने निकै रोचक हुनेछ ।

प्रतिक्रिया