मंगलबार, वैशाख ११, २०८१

जहाजमा देखिएका प्राविधिक समस्याबारे समितिको चासो

मेरोन्यूज २०७८ असोज १५ गते १६:१५

काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा चासो देखाएको छ ।

शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकमा पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरिएको छ ।

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए ।

उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए ।
श्रेष्ठले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए ।

यति एयरलाइन्सका अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने उनले बताए ।

श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए ।

उनले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए । १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने उनको भनाइ छ ।

एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताए ।

प्रतिक्रिया