आइतबार, जेठ ६, २०८१

दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

मेरोन्यूज २०७८ असोज १४ गते २१:५६

काठमाडौँ । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।

Advertisement

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसैँका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको संख्या बढ्दै गएको छ ।

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उनले भने, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।”

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ । झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ ।

जिल्लामा हाल १७ कोरोनाका सक्रिय संक्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया