सोमबार, जेठ ७, २०८१

कोरोनाविरुद्धको खोप अभियानमा सहभागी हुन ऊर्जामन्त्रीको आग्रह

मेरोन्यूज २०७८ असोज १३ गते २१:२७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् ।
उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गरिन् ।
चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य रहेको भन्दै उनले अभियानमा सहभागी बन्न सबैलाई आह्वान गरेकी छन् ।
नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न पनि उनले आग्रह गरिन् ।
दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्न मन्त्री भुसालले अग्रह गरिन् । सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
कोभिडकै कारण गरिबी झनै बढेको र त्यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले आ–आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले कोभिडले आक्रान्त अर्थसामाजिक अवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।
गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिइन् ।
आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा पनि उनले जोड दिइन् ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गरेका थिए ।

Advertisement

प्रतिक्रिया