शनिबार, वैशाख ८, २०८१

नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी काठमाडौंमा

मेरोन्यूज २०७८ असोज १२ गते २१:०८

काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् ।

नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । श्रीवास्तव नेपालको साथै भुटान मामिला हेर्ने मुख्य अधिकारी हुन् ।

श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

उनी नेपाल र भारतका संयुक्त परियोजनका बैठकमा सहभागी हुन काठमाडौ आएको बताइए पनि परियोजना बैठकबारे कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन ।

सुरक्षा अधिकारीलाई समेत जानकारी नदिइ काठमाडौ आएका श्रीवासतवलाई भारतीय दूतावासले आफ्नो अतिथि भन्दै दूतावास पुर्याएको थियो ।

अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारी श्रीवास्तवले काठमाडौँको भ्रमण गरेका हुन् ।

यसअघि नेपाल राजनीतिक अस्थिरता भएकोबेला नेपाल मामिला हेर्ने भारतीय अधिकारीले नेपाल भ्रमण गर्ने गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने कसरी गरिरहँदा श्रीवास्तवको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

तीन दिनसम्म काठमाडौ रहने श्रीवास्तव काठमाडौ आएको जानकारी मंगलबार साँझ मात्रै सुरक्षा निकायलाई जानकारी गराइएको छ ।

यसअघि उनकै संयोजनमा नेपाल र भारतका अधिकारीबीच भर्चुअल बैठक भएको थियो ।

दश महिनाअघि भारतीय उच्च सुरक्षा टोलीसहित भारतीय विदेश विभागका अधिकारीहरु काठमाडौ आएका थिए ।

प्रतिक्रिया