शुक्रबार, वैशाख ७, २०८१

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले कार्यदल बैठकको निष्कर्ष

मेरोन्यूज २०७८ असोज १२ गते १७:२९

काठमाडौँ । नेकपा एमालेले पार्टीको एकतालाई सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरी अघि बढने निष्कर्ष निकालेको छ ।

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्च स्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवादसमेत समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए ।

‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं,’ उनले भने, ‘१० बुँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ, जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ, सुदूरपश्चिम प्रदेशको इञ्जार्चको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउँछ ।’

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मतबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए । त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए । उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्जार्च आफू नै रहेको दाबी गरे ।

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इञ्जार्चको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे । कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन् ।

प्रतिक्रिया