शुक्रबार, वैशाख १४, २०८१

रविना–विनय टिमलाई चितवनमा स्वागत

मेरोन्यूज २०७८ असोज १२ गते १६:५५

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार रविना थापासहितको टिमलाई चितवनमा स्वागत गरिएको छ । उक्त टिमलाई चितवनमा आयोजित एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सभापति तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले अध्यक्षका उम्मेदवार थापा, उपाध्यक्षका उम्मेदवार जय प्रकाश गुरुङ र महासचिव विनय अधिकारीलाई सम्मान गरे । गत असोज ७ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाको टिमले कात्तिक हुने एनआरएनएको १० औँ राष्ट्रिय सम्मेलनमा हुने निर्वाचनमा संघको २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सो अवसरमा पूर्व मन्त्री अधिकारीले आगामी १० औँ महाधिवेशनमा जितेर आउन बधाई तथा शुभकामना व्यक्त गरे । उनीहरूले गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

अध्यक्षकी प्रत्याशी थापाले एनआरएनए परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकता रहेको र विदेशमा हासिल गरेको सीपलाई व्यवसायीकरण गर्ने योजनासमेत रहेको बताइन् । ‘सन् २०१३ देखि संघमा आबद्ध छु,’ महासचिवका प्रत्याशी विनय अधिकारीले ‘एनआरएनए यूकेको उपमहासचिव रहेर काम गरेको अनुभव छ । यही अनुभवले गरेर महासचिवमा उम्मेदवारी दिने आत्मविश्वास आएको हो ।’

उक्त टिमले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताएका छन् । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने उनीहरूको योजना छ ।

प्रतिक्रिया