शुक्रबार, चैत १६, २०८०

असोज २३ देखि तारा एयरको पोखरा–जोमसोम उडान

मेरोन्यूज २०७८ असोज १२ गते १६:०१

काठमाडौं । तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो ।

नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । राती पोखरामा जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेको उनले बताए ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवा कम्पनीले बिहान १२ बजेभित्र नै उडान भरिसक्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौँमा नियमित वायुयान राखेर दुर्गम क्षेत्रमा सेवा दिँदै आएको छ ।

तारा एयरसँग हाल दुर्गममा उडान भर्नका लागि चारवटा टुइनवटर विमान रहेका छन् । यसमार्फत लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया