शुक्रबार, चैत १६, २०८०

डब्लुएचओले कोरोनाको उत्पत्तिबारे पुनः अनुसन्धान गर्ने

मेरोन्यूज २०७८ असोज ११ गते १४:३१

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्न भेला गर्दै छ ।

उक्त रिपोर्टअनुसार कोभिड–१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकले दिएको प्रमाण अप्रयाप्त रहेको छ । रिपोर्टमा भनिएको छ, ‘वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञ र आनुवंशिक विशेषज्ञसमेत सम्मिलित छन्, उनीहरूले कोभिड–१९ प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान गर्ने छन्, उक्त अध्ययनले यस किसिमका भाइरस संक्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्ने छ ।’

स्वास्थ्य संगठनले यस पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ । यसअघि अगष्टमा अमेरिकाले कोभिडको उत्पत्तिबारे एउटा रिपोर्ट जारी गरेको थियो । उक्त रिपोर्टलाई बेइजिङले पूर्ण रूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो ।

त्यसबारे चिनियाँ उपविदेश मन्त्रीमा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिङ्गका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीविरूद्ध लडाईमा वैज्ञानिक ढंगले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए ।

यसैगरी उक्त रिपोर्टको सारांशमा भनिएको छ, ‘अमेरिकी खुफिया समुदाय (आइसी)का अनुसार नोभेल कोरोना भाइरसको उत्पत्ति अतिरिक्त जानकारीबिना कहिल्यै पहिचान गर्न सकिदैन ।’

Advertisement

रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्नेबारे विभाजित नै छ । डब्लुएचओ नेतृत्वको वैज्ञानिकको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो । यद्यपि, यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू संकलन गर्न भने निकै संघर्ष गरेको थियो ।

प्रतिक्रिया