शनिबार, वैशाख ८, २०८१

खेल मैदान भिजेकाले इपीएल खेल स्थगित

मेरोन्यूज २०७८ असोज ११ गते १४:१४
फाइल फोटो

काठमाडौँ । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । पानी परेर मैदान भिजेसँगै खेल स्थगित भएको हो ।

निर्धारित समयभन्दा दुई घण्टासम्म खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाले आउटफिल्ड भिजेकाले टससमेत नभई प्रतियोगिता स्थगन भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।

यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै, करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो ।

पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया