शुक्रबार, चैत १६, २०८०

विष्टको नेतृत्वमा नेकपा (एस)को खेलकुद महासङ्घ गठन

मेरोन्यूज २०७८ असोज १० गते १९:१०

काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले नेपाल खेलकुद महासङ्घ गठन गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

नेकपा (एमाले) निकट उक्त महासङ्घ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासङ्घमा रहने निर्णय गरेका हुन् ।

आगामी कात्तिक १२ र १३ गते काठमाडौँमा राष्ट्रिय भेला गरिने महासङ्घको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

पार्टीका उपमहासचिव डा विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर सङ्गठनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

सङ्घीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया