शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस महाधिवेशन : प्रदेश १ मा को–को छन् जिल्ला सभापतिका आकांक्षी ?

सञ्जिता खनाल २०७८ असोज १० गते १६:२०

काठमाडौँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । अहिले ६४ जिल्लाको वडा अधिवेशन सकिएर पालिका स्तरीय अधिवेशन जारी छ । केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा जिल्ला तहमा अधिवेशनको सरगर्मी बढेको छ ।

प्रदेश १ का १४ जिल्लाका नेताहरू सभापतिमा आकांक्षी देखिएका छन् । प्रदेश १ मा इलाम, झापा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा जिल्ला पर्दछन् ।

एक लाख ७४ हजार ७८२ जना क्रियाशील सदस्य रहेको यस प्रदेशमा सबैभन्दा बढी क्रियाशील सदस्य झापा, मोरङ र सुनसरी छन् । हिमाली जिल्लाबाहेकका जिल्लामा दसैँपछि मात्र अधिवेशन हुने देखिएको छ । ती जिल्ला सभापतिहरू नेतृत्व हत्याउन दौडधुपमा लागिसकेका छन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोजमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्ला अधिवेशन १५ असोजमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन १८ असोजमा गर्ने गरी कांग्रेसको संशोधित निर्वाचन कार्य तालिका छ । प्रदेश अधिवेशन कार्तिक १० देखि १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा तय भएको छ ।

कुन जिल्लामा को–को छन्, सभापतिका आकांक्षी ?

इलाम

इलाम सभापतिको आकांक्षीमा ४ जना देखिएका छन् । जसमा संस्थापनइतर समूहबाट २ र संस्थापन समूहबाट २ जना आकांक्षी देखिएका छन् ।

संस्थापनतर्फ डम्बर खड्का र केशव थापा सभापतिको आकांक्षी देखिएका छन् । संस्थापनइतरबाट भेषराज आचार्य र हिमाल कर्माचार्य आकांक्षी छन् । संस्थापनइतर समूहका आर्चाय सभापतिको बलियो दाबेदार हुन् ।

कर्मचार्य पुनः सभापति दोहो¥याउन खोजेका छन् । लगातार सभापति नभएको अवस्थामा दोस्रोपटक सोही पदमा प्रत्यासी हुन विधानले रोक्दैन । एक कार्यकाल सभापति रहेका उनी बीचमा ग्याप राखेर सभापति बनेका थिए ।

पाँचथर

पाँचथरमा संस्थापनइत समूहबाट रूपनारायण जबेगु र सुरेन्द्रकुमार दाहालमध्ये एकलाई सभापतिको उम्मेदार बन्ने देखिन्छन् । जबेगु आफ्नो पक्षमा रहेको संस्थापनइरतको दाबी छ । संस्थापन पक्षबाट वर्तमान उपसभापति मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङ पनि सभापतिका आकांक्षी हुन् ।

ताप्लेजुङ

ताप्लेजुङमा संस्थापनइतर समूहबाट केशव दाहालले सभापतिको उम्मेदारी दिने सम्भावना देखिन्छ । उनी देउवा पक्षमा रहेका नेता मानिन्छन् । पूर्वसभापति समेत रहेका उनले फेरि सभापतिको उम्मेदवारी दिने सम्भावना देखिएको हो ।

यता देउवा समूहबाट छवि गुरुङ, प्रताप हाङगाम र गजेन्द्र तुम्याहाङमध्ये एक जना साझा उम्मेदवार बन्ने बताइएको छ । हाङगाम प्रदेश सभा सदस्य हुन् । गुरुङ निवर्तमान सचिव र तुम्याहाङ पूर्व जिल्ला सचिव हुन् ।

ओखलढुंगा

ओखलढुंगाको जिल्ला सभापति चयनमा नेता रामहरि खतिवडाको भूमिका बलियो देखिन्छ । खतिवडा निकट मानिने वर्तमान पार्टी सचिव तथा सुनकोसी गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारीले सभापति कसैलाई नछाड्ने बताउँदै आएका छन् । वर्तमान उपसभापति तेजेन्द्र खनाल र बालकृष्ण दाहालसमेत सभापतिका दाबेदार हुन् ।

संस्थापनइतर समूहबाट दाहालले उम्मेदवार दिँदैछन् । उनी सभापतिका बलियो दाबेदार हुन् । जिल्ला सभापतिको उम्मेदवारी प्रस्तुत गरिसकेका दाहाललाई कोइराला समूहको सहयोग रहेको छ । १३ आंँ महाधिवेशनमा उनी सभापतिमा पराजित भएका थिए । देउवा समूहका सभापतिको बलियो दाबीकर्ता खनाल हुने सम्भावना छ ।

खनाल र दाहाल दुवै नेता पार्टी कार्यकर्ताबीच इमान्दार र नैतिकवानका रुपमा परिचित छन् । देउवा समूह र पौडेल समूहकै खनाल र दाहाल दुवैै बलिया सभापति दाबेदार रहेका बताइएको छ ।

यता, संविधानसभा सदस्य खतिवडा, जिल्ला सचिव तथा चम्पादेवी गाउँपालिका प्रमुख नवराज, महासमिति सदस्य अशोक कार्की, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति दानबहादुर बाँनिया, मोतीराज राईलगायत नेताहरूको सहयोग जसले पाउँछ जिल्ला सभापतिमा उसैको पल्लाभारी हुने देखिन्छ ।

झापा

झापाको जिल्ला सभापति छनोटमा कृष्ण सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको भूमिका प्रमुख रहन्छ । सिटौला पक्षबाट पूर्वसभापति देउमान थेबे प्रमुख दाबेदार हुन् ।

गत अधिवेशनमा सभापति बन्न खोजेका उनलाई अर्कोपटक हुने गरी सिटौलाले मनाएका थिए । सिटौला समूहकै अर्का जिल्ला उपसभापति राम कट्टेलले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सोही समूहबाट लोकराज ढकाल पनि सभापतिका आकांक्षी हुन् । तीन आकांक्षीमध्ये सिटौलाले एक जनालाई मात्र सभापति उठाए मात्र जिल्ला सभापति जित्नेछन् ।

देउवा समूहबाट पूर्वसचिव भगीरथ पोदार सभापतिका आकांक्षी हुन् । जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

सुनसरी

सुनसरीको जिल्ला सभापति चयनमा उपसभापति विजय गच्छदारको प्रभाव पर्दछ । गच्छादारले फोरम लोकतान्त्रिकबाट कांग्रेसमा प्रवेश गरेका प्रदीप चौधरीलाई जिल्ला सभापति उम्मेदवार बनाउने संम्भावना प्रवल देखिन्छ ।

देउवा निकट मानिने सुनसरी–२ बाट प्रतिनिधिसभामा निर्वाचित सीताराम मेहता पनि जिल्ला सभापति उठ्ने सम्भावना देखिन्छ । पार्टी सचिव केदार भण्डारी संस्थापनइतरका जिल्ला नेता हुन् । उनी अधिवक्तासमेत हुन् । उपसभापति सञ्जय श्रेष्ठ सभापतिको प्रत्यासी देखिन्छन् । श्रेष्ठ संस्थापन पक्षका जिल्ला नेता हुन् ।

भोजपुर

भोजपुरमा देउवा समूहबाट हेमन्त मुकारुङ सभापतिको प्रत्यासी देखिन्छन् । उनी जिल्ला कार्य समितिका पूर्वसचिव हुन् । संस्थापनइतरको पौडेल पक्षबाट पूर्वसभापति बालकृष्ण थापा उक्त पदमा पुनः उठ्न खोजेका छन् ।

सिटौला पक्षबाट तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं सभापति बन्ने लाइनमा छन् । पौडेल र सिटौला पक्षबाट आपसी सहमतिमा एक जनाले उम्मेदवारी दिने तयारी छ । वर्तमान सभापति नन्दमणि राईलाई पुनः सभापति बनाउने पक्षमा संस्थापनइतर देखिएको छ ।

संखुवासभा

संखुवासभामा जिल्ला सभापति चयन गर्न संस्थापन पक्षका नेता दीपक खड्काको भूमिका प्रमुख देखिन्छ । अहिले जिल्ला सभापतिमा ६ जना आकांक्षी देखिएका छन् । जसमा दीपनकुमार श्रेष्ठ, तारामान गुरुङ्, दीपक लिम्बू, उमेश चौहान र मुक्तिसिंह राई छन् । जसमा श्रेष्ठ अहिलेको वर्तमान सभापति हुन । उनी नेता प्रकाशमान सिंह निकट मानिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले भने सभापति गुरुङलाई बनाउन खोजेका बताइन्छ । देउवा पक्षले लिम्बू, चौहान र राईमध्ये एकलाई सभापतिको उम्मेदवार बनाउने सम्भावना छ । उपसभापति रामकुमार जिमी पनि सभापतिको आकांक्षी हुन् ।

सोलुखुम्बु

सोलुखुम्बुको जिल्ला सभापति चयनमा संस्थापनइतरका नेता बलबहादुर केसीको भूमिका निर्णायक हुने गर्दछ । केसीले वर्तमान सभापति विनोदकुमार बस्नेत दोहो¥याउन चाहेका छन् । कांग्रेसका सोही जिल्लाका नेता पुरुषोत्तम बस्नेतले पूर्व सांसद गोकर्ण राईलाई सभापतिमा उठाउन खोजेका छन् ।

देउवा समूहबाट भने आङगेलु शेर्पा, कृष्णप्रसाद निरौला र प्रकाशसिंह कार्की रहेका छन् । यी तीनमध्ये शेर्पा उम्मेदवार हुने सम्भावना छ । निरौला पूर्वउपसभापति र कार्की प्रदेशसभाका उम्मेदवार हुन् ।

मोरङ

मोरङमा नेता डा. शेखर कोइरालाको प्रभाव छ । अर्को संस्थापनइतरकै केन्द्रीय नेताहरु महेश आचार्य र डा. मीनेन्द्र रिजालको गृह जिल्ला पनि हो । तर संस्थापनइतरको अहिलेसम्मको अवस्था हेर्दा मोरङमा कोइरालाको चाहनाअनुसार जिल्ला सभापति उठ्ने देखिन्छ । कोइराला वर्तमान सभापति डिगबहादुर लिम्बू पुनः सभापति दोहोरिएको हेर्न चाहन्छन् ।

देउवा निकट लिम्बु कोइरालाले आफूतिर ल्याउँन सफल भएका छन् । तर, सोही समूहमा पनि यदु विष्ट, केदार कार्की र जिल्ला सचिव नागेश कोइराला सभापतिका आकांक्षीमा छन् । विष्ट कांग्रेस मोरङका पूर्वसचिव हुन् भने कार्की प्रदेशसभामा प्रमुख सचेतक हुन् ।

देउवा पक्षका केन्द्रीय नेता अमृत अर्यालको पनि गृह जिल्ला मोरङ हो । मोरङमा संस्थापन पक्षबाट दिलीप गच्छदार सभापतिका बलियो दाबेदार हुन् । उक्त समूहबाट राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी पनि आकांक्षी हुन् ।

उदयपुर

उदयपुरमा संस्थापनइतर समूहले वर्तमान सभापति विदुर बस्नेतलाई दोहो¥याउन चाहेको देखिन्छ । तर, सोही समूहमा बसन्त बस्नेत सभापतिको आकांक्षी देखिन्छ । बस्नेत क्षेत्रीय सभापति पनि हुन ।

यता, देउवा समूहबाट प्रदेश १ का कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की पनि सभापतिको आकांक्षी देखिन्छ । भर्ने अर्का देउवा समूहमै पूर्व सांसद प्रमिला राई पनि सभापतिको आकांक्षी देखिन्छ ।

धनकुटा

धनकुटा सहमहामन्त्री सुनिल थापाको गृह जिल्ला हो । संस्थापन समूहको उम्मेदवार चयनमा जिल्ला सभापति बनाउन धनकुटामा पूर्व राप्रपा पृष्ठभूमिका थापाको भूमिका प्रमुख देखिन्छ । उक्त समूहबाट मनोहरनारायण श्रेष्ठको सम्भावना बढी छ ।

यता, संस्थापनइतर पक्षबाट कृष्णप्रसाद सिटौला समूहका कमोट फागो धनकुटाको बलियो आंकाक्षी हुन् । फागोप्रति नेता शेखर कोइरालाको पनि झुकाव रहेको बताइन्छ ।

सोही समूहमा विजय सन्तोषी राईले सभापतिको आकांक्षी देखिएका छन् । राई पूर्व पत्रकार हुन् । उनी कांग्रेसका पुराना जिल्ला नेता आनन्द सन्तोषी राईका छोरा हुन् । राई र फागो बलिया सभापतिका उम्मेदवार मानिए पनि दुईमा एक मात्र सभापतिमा उम्मेदवार उठ्ने देखिन्छ ।

खोटाङ

खोटाङ्मा सभापतिको आकांक्षी तीन जना देखिएका छन् । जसमा देउवा समूहबाट सर्वधन राई आकांक्षी देखिएका छन् । देउवा समूहबाट सभापतिको दाबी गर्ने राई हुन् । उनी पूर्व राज्यमन्त्री पनि हुन् । संस्थापनइतर पक्षबाट भूपेन्द्रकुमार राई, इवन राई आकांक्षी देखिएका छन् ।

विगतमा देउवा निकट रहेर हाल शेखर कोइरालाको पक्षका ईवर राई सभापतिको आकांक्षी हुन् । इवन राई क्षेत्रीय सभापति रहेका उनी हलेसी तुवाचुङ नगरका प्रमुख हुन् । भुपेन्द्रकुमार महाधिवेशन प्रतिनिधि हुन् ।

तेह्रथुम

अर्जुन तुम्बाहाम्फे र सन्तोष सुब्बाले सभापति हुने आकांक्षा देखाएका छन् । तुम्बाहाम्फे वर्तमान उपसभापति र सुब्बा सचिव हुन् । दुवै जना संस्थापनइतरका हुन् । संस्थापन पक्षबाट गंगा दाहाल देखिएका छन् । उनले केही समयअघि नै उम्मेदावारी घोषणा गरेका थिइन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया