शुक्रबार, चैत १६, २०८०

क्यानाडाबाट मुक्त हुँदै चीन फर्किइन् हुवावेकी प्रमुख वित्तीय अधिकारी

मेरोन्यूज २०७८ असोज १० गते १३:०८

काठमाडौँ । विगत तीन वर्षदेखि क्यानाडामा बन्दी जीवन बिताइरहेकी चीनको हुवावे कम्पनीकी मुख्य वित्तीय अधिकारी स्वदेश फर्किएकी छन् । वित्तीय अधिकारी मेङ्ग वानझोउलाई स्वागत गर्न हजारौँ चिनियाँ नागरिक विमानस्थलमा उपस्थित भएका थिए ।

चीनको दक्षिणी सहर सेञ्जेनमा रहेको सेञ्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको समर्थनमा नारा लगाइएको थियो । वानझोउको स्वागतमा उपस्थित भएकाहरूले उनको फोटो र देशको झण्डा फहराएका थिए ।

हुवावेका प्रमुख वित्तीय अधिकारी रहेकी उनी कम्पनीका संस्थापककी छोरी हुन् । उनलाई तीन वर्षपछि शनिबार राति क्यानाडाले स्वदेश फिर्ता हुन अनुमति दिएको थियो ।

अवैध रुपमा वानझोउलाई हिरासतमा राखेपछि चीन सरकारले कुटनीतिक पहल गर्दै आएको थियो । उनलाई स्वदेश फिर्ता पठाउने भएसँगै चार्टर उडानमार्फत उनी चीन फर्किएकी हुन् ।

‘अन्ततः म स्वदेश फिर्ता हुन सफल भएँ, मलाई मेरो मातृभूमिले न्यानो स्वागत गरेको छ,’ वानझोउले भनिन्, ‘एउटा सामान्य चिनियाँ नागरिकको रूपमा यो कठिन समयबाट गुज्रिरहँदा मैले सधैँ पार्टी, राष्ट्र र जनताको न्यानोपन र चिन्ता महसुस गरेको थिए ।’

Advertisement

४९ वर्षीय वानझोउलाई डिसेम्बर सन २०१८ मा अमेरिकाको वारेन्टमा गिरफ्तार गरिएको थियो । उनीमाथि सन २०१३ मा इरानमा दूरसञ्चार उपकरण जायन्टको व्यापारिक कारोबारको बारेमा एचएसबीसीलाई कथित रूपमा भ्रामक बनाएको भन्दै बैंक र तार ठगी आरोपमा दोषी देखाइएको थियो ।

उनलाई पक्राउ गरेसँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। साथै उनी पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

क्यानाडाबाट स्वदेश फर्केकी उनमाथि लागेका सबै आरोपमा दोषी नहुने समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया