शनिबार, वैशाख ८, २०८१

पर्यटन प्रवद्धनका लागि २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

मेरोन्यूज २०७८ असोज ९ गते २१:२५

काठमाडौं । विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् ।

साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो ।

दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ । अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको हो । अब विदेशी पर्यटन क्षेत्र नभई नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने उनले बताइन् ।

आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय राखिएको उनको भनाई छ ।

प्रतिक्रिया