मंगलबार, चैत ६, २०८०

गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

मेरोन्यूज २०७८ असोज ९ गते २१:१५

बिराटनगर । वरिष्ठ गीतकार विश्व बल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ ।

गीतकार सङ्घ नेपाल काठमाडौँद्वारा मोरङको सुन्दरहरैचामा शनिवार आयोजित ११औँ वार्षिकोत्सव एवं नवौँ स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा बल्लभलाई एक लाख ५१ हजार नगदसहित सम्मान गरिएको हो ।

यसैगरी, राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई रु २५ हजारसहित सम्मान गरिएको छ ।

नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पु¥याएकोमा हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उप्रेतीको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ ।

यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत सङ्ग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए ।

उनले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो । प्रदेश प्रमुख अधिकारीले कलाकार एवं साहित्यकार सधैँभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने विचार राखे ।

सङ्घका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म रु ५० लाखको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए ।

सङ्घले यसअघि आठौँ स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो ।

प्रतिक्रिया