बिहीबार, वैशाख १३, २०८१

मुख्यमन्त्री शाहीलाई ४० किलोको माला !

मेरोन्यूज २०७८ असोज ९ गते १७:५५

सुर्खेत । गाउँपालिकाको विद्यालय भवन उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

कर्णाली प्रदेसस्थित डोल्पाको जगदुल्ला गाउँपालिका ६ स्थित एक सामुदायिक विद्यालयको आवासीय भवन उद्घाटन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री पर्यटन मन्त्रीका साथ हेलिकोप्टर चढेर डोल्पा पुगेका थिए ।

डोल्पाको जगदुल्ला पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरियो । मुख्यमन्त्री र पर्यटनमन्त्रीसँगै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायले पनि ४० किलोको माला भेट्टाए ।

प्रदेशसभा सदस्य बीरबहादुर शाहीले त्यति ठूलो माला लगाउन अस्वीकार गरे । सांसद शाहीले ४० किलोको माला अस्वीकार गरेपछि त्यही माला गाउँपालिका अध्यक्षले लगाउन पाएका थिए ।

यस्तै, मुख्यमन्त्री शाहीले शनिवार नै उक्त गाउँपालिकाको प्रशासकीय भवनको पनि उदघाटन गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीकाअनुसार गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार ४३३ रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया