शुक्रबार, चैत १६, २०८०

विराटनगरको आकाशे पुल योजना अलपत्र

मेरोन्यूज २०७८ असोज ९ गते १५:१७

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ ।

२०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । त्यसयता आकाशे पुलको डिजाईन गरि ठेक्का समेत लगाइएपनि हालसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैन ।

पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

नगरक्षेत्रको सुन्दरता अभिबृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ ।

त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ ।

महानगरले तीनवटै पुलकालागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामाग्रि र प्राबिधिक भारतबाट झिकाई सकेपनि बनाउने ठाँउको सुनिश्चिता हुन नसक्दा निर्माणले पुर्णता पाउन नसकेको बताएको छ ।

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिएपनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्र्डसले सो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरेपनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ ।

पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताउँछन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरको विकाससँग जोडिएको बिषयबस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया