शुक्रबार, वैशाख ७, २०८१

‘नेपाली सुगन्ध बोकेका सबै गीत मन पर्छ’

अनिल खनाल २०७८ असोज ९ गते ९:३०

दशैँ मान्न आइयो घरैमा…, लाहुरेको जीन्दगी… लगायतका गीत यसपालिको दशैँमा आउँदै छन्, सुन्नुहोला, फिडब्यााक गर्नु होला । यही गीत संगीतकै मेरो लेखन संगीतको कुरासँगै मलाई मनपर्ने, दुःख, सुखका कुरा केही साट्दै छु ।

सुरुमा लागौँ अहिलेको काम– अहिले गीत संगीतमा व्यस्त छु । गीत लेखिरहेको छु । संगीत भर्ने काम आइराछ । अहिले दशैँ नजिकिँदै गर्दा दशैँ तिहारसँग सम्बन्धित ३ वटा गीत बजारमा आउने तयारी छन् । अन्य केही गीत लेखिराछु, रेकर्ड हुने क्रम जारी छ ।

हाम्रो काम सिर्जना गर्ने हो । राम्रो, नराम्रो भनेर छुट्टाउने काम दर्शक श्रोता भएकाले, दर्शक श्रोताले मन पराउने, नपराउने प्रशंसा गर्ने भएकाले सबै उहाँहरुकै हातमा छ । अहिलेसम्म हाम्रो प्यारो भगवान रुपी दर्शक श्रोताको मायाले बजारमा टिकिरहेको छु । सबै जसो दर्शक, श्रोताले नै गर्नु हुन्छ । गीतलाई विभिन्न किसिमले बुझिन्छ । मैले बुझेअनुसार शब्द प्रकटसँगै, लय र संगीतको मिलन नै गीत हो ।

गीत लेखनको यात्रा

गीत लेखनको यात्रामा सुरुमा मैले मेरो प्यारो, मैले भगवान मान्ने अंकललाई मान्छु । मैले माया गर्ने अनि मलाई सबैभन्दा धेरै माया गर्ने, निर्देशन दिने, राम्रो नराम्रो औँल्याउने, साथ सपोर्ट र प्रेरणा दिने मेरो अंकल परमान्द खनालको नाम लिन्छु ।

मैले गीत लेख्न थाल्दा, उहाँले धेरै सहयोग गर्नुभयो । मेरो संघर्षको कुरा गर्दा, मलाई दुःख पर्दा उहाँको संगतले मलाई सहज बनायो । उहाँको साथ छुटेको भए म अपुरो हुन्थे । यहाँसम्म पुग्न सक्दिन थिएँ, सायद मर्थे होला हाहाहा…।

१५ वर्षको हुँदा गीत संगीतको क्षेत्रमा लाग्ने भनेर काठमाडौँ आए । केही वर्ष अंकलसँग बसिसकेपछि मेरो कारणले अंकललाई अफ्ठेरो नहोस् भनेर परमानन्द अंकलसँग बसेको मान्छे, साथीसँग छुट्टै बस्न थाले । अंकलबाट छुट्टै बस्दा धेरै गाह्रो भयो । कठिनाई निक्कै भयो । कठिनाईमा कहिले खानको लागि नपुग्ने, जाडोमा ओढ्ने नभएर सुत्न दुःख भयो ।

दुई जना साथी तातोका लागि अंगालो हालेर सुत्नु पथ्र्यो । दुःख पाइयो । अंकलबाट भागेर साथीसँग मिलेर बस्दा, पैसा नहुँदा अंकलको घरमा जाने गाडी भाडा भएन । अंकलको घरसम्म हिँडेर पुगौँ भन्ने सम्भव थिएन । आँट आएन । फोन गर्ने मोबाइलमा ब्यालेन्स भएन । घरतिरबाट केही सहयोग हुने आशा थियो । तर, घरतिर के दुःख देखाउनु फेरि उतै बोलाए आफ्नो सपना तुइने डर थियो । त्यसैले घरतिर केही भनिनँ ।

संगीतमा लाग्ने इच्छा भएकाले दुःख लुकाएर भोक भोकै बस्न बाध्य भएँ । दुःख गरे । तर, अंकल पनि सञ्चार माध्यममा भएकाले उहाँको धेरै कलाकारसँग, म्युजिक कम्पनीसँग चिनजान भएकाले मलाई सहज भयो । उहाँले विन्दवासिनी म्युजिक प्रा.लि.का सुवास रेग्मी अंकलसँग भेट गराउनु भयो ।

विन्दवासिनीको लगानीमा मेरो पहिलो गीत सर्पले डसेर गयो… बजारमा आयो । त्यसपछि भावना म्युजिकबाट अर्को गीत आयो, ‘मेरी सानु कहाँ होलिन ।’

खासमा मैले लेखेका गीत आफैले गुनगुनाउँछु अनि रेकर्ड गराउँछु । आफूले लेखेको केही गीतमा लय, भाका ल्याउनेसँगै संगीत भर्ने काम गरेको छु ।

पछिल्लो मेरो अवस्था

मैले वर्षमा कम्तिमा ३० वटा गीत बजारमा ल्याउने गरेको छु । महिनामा ५ वटासम्म गीत बजारमा आएको हुन्छ । मलाई पहिलोपटक विन्दबासिनीले साथ दिएकाले अहिले पनि त्यही काम गर्छु । अहिले सबैले राम्रो भनुनभन्दा पनि आफ्नोतर्फबाट राम्रो गीत लेखुँ भन्ने हुन्छ ।

गीत संगीतको सुरुवाती दिनमा बाँच्न, खान संघर्ष गर्नु पथ्र्यो । अहिले सबैले मेरो गीत मन पराइदिनु भएकाले थप राम्रो काम गर्न दुःख गर्दै छु । कसले के भन्छ ? कसले के सोच्छ ? भन्दा पनि मैले राम्रो सिर्जना गर्न सकुँ भन्ने हुन्छ ।

सांगितिक क्षेत्रका मन पर्नेहरू

आफूले सिर्जना गरेका सबै गीत मनपर्छ । आमाका लागि सबै बच्चा एकै हुन् भने जस्तै मेरा लागि सबै गीत उस्तै हुन् ।

तैपनि मलाई सर्पले डसेर… असाध्यै मनपर्छ । मलाई यसैले कला क्षेत्रमा प्रवेश गराएको हो । त्यसैले यो गीतलाई मान्यता दिन्छु । यस्तै लोक दोहोरीमा मेरी सानु कहाँ होलिन्…कहिल्यै भुल्दिन अर्थात् मलाई चिनाउने गीत हो, यो । अर्को जीवन धराप छ, आँसू प्यारो छ, फर्केर आइदेउन निरमाया… मन पर्छ ।

प्रायः सबै गायक, गीतकार संगितकार मन पर्छ । यो मन नपर्ने, यो मन पर्ने छैन । तर, पुराना छान्दा, प्रेमध्वज प्रधान, नारायण गोपालका गीत मन पर्छ ।

सुरुका दिनमा मैले अवसर पाउन पाएँ हुने, भनेर धेरै धाएँ । अंकलको सहयोगले केही सहज भएकै हो

म्युजिक भिडियोमा अभिनय गर्न मेरो क्षेत्र नभएकाले म्युजिक भिडियोका निर्देशक, क्यामेरा पर्सन समक्ष इच्छुक व्यक्तिलाई सिफारिस गर्छु । केहीले अवसर पाउनु हुन्छ, केही कुरालाई निखार्नुपर्ने भएकाले सहज नभएको हुन सक्छ ।

तर, मेरो इच्छा सबैले अवसर पाउन भन्ने हो । म्युजिक भिडियो मेरो क्षेत्र नभएकाले मलाई गाह्रो पर्छ । यो सबैले बुझिदिनुहोला । मेरो गीतका शब्द संगीतको धुनलाई माया गर्नु होस् प्रतिक्रिया दिनुहोस् । जय गीत, जय संगीत ।

प्रतिक्रिया