शुक्रबार, वैशाख ७, २०८१

दशैंमा घर फर्किएका सबैको एन्टिजेन परीक्षण गरिने

मेरोन्यूज २०७८ असोज ८ गते २०:५८

काठमाडौं । सरकारले चाडपर्वमा एन्टिजेन परीक्षण र संक्रमितलाई ब्यवस्थापन गर्न प्रदेश मन्त्रालयदेखि पालिकाका हेल्थ डेस्कसमेतलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पत्राचार गरी विदेशबाट आएका सबैलाई एन्टिजेन परीक्षण गराउन निर्देशन दिएका छन् ।

एन्टिजेन परीक्षण गर्न तथा संक्रमितको ब्यवस्थापन गर्न भनी महाशाखाले देशैभरीका हेल्थ डेस्क नगर तथा गाउँपालिकाहरु, देशैभरका जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय तथा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका साथै प्रदेश १, २ तथा कर्णाली र सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयलाई पत्रचार गरेको छ ।

दशैं, तिहार लगायतका महत्वपूर्ण चाडवाडमा देश विदेशमा रहेका सबै गाउँघर फर्किने भएकाले महाशाखाले सचेतता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

आउँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाको हेल्थ डेस्कमै र छुटेकाहरुको समुदायमा तथा देशभित्रकै उच्च जोखिम क्षेत्रबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको ब्यवस्था मिलाउन पत्राचार गरिएको छ ।

साथै पोजेटिभ केसहरुको उचित ब्यवस्थापन गर्न गराउन पनि सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया