मंगलबार, चैत ६, २०८०

कांग्रेसको पालिका अधिवेशनको तयारी, प्रदेश २ मा क्रियाशील सदस्यतामै अल्झन् !

सीतादेवीको आक्रोशः मधेशलाई शीर्ष नेताहरुले महत्व दिएनन्

सञ्जिता खनाल २०७८ असोज ८ गते १६:३९

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

गत भदौं २५ गते निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ९ गते शनिवार अधिकांश जिल्लामा पालिकाको अधिवेशन हुँदैछ ।

तर भदौं २५ मै निर्वाचन समितिले जारी कार्यसूची अनुसार असोज ५ गते वडा अधिवेशनको मिति तोकेको थियो । त्यो दिन ७ जिल्लाको मात्र अधिवेशन सम्पन्न भयो भने अन्य १३ जिल्लाको विवाद भने समाधान हुन सकेन ।

यता प्रदेश २ का आठ जिल्ला (बारा, पर्सा, रौतहट, सर्लाही ,धनुषा, महोत्तरी, सिरहा र सप्तरी) मा भने अहिलेसम्ममा पनि अधिवेशनको प्रक्रिया सुरु हुने छाटकाट छैन ।

शुक्रबार बसेको पदाधिकारी बैठकमा पनि विवादित १३ जिल्लाको विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र सीतादेवी यादवले पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए ।

क्रियाशील विवाद समाधान गरिँदैन, विवाद समाधान भएका जिल्लाको नामावली किन सार्वजनिक नगरिएको भनी रामचन्द्र पौडेलले बैठकमा प्रश्न गरेको एक नेताले मेरोन्युजसँग भने ।

क्रियाशील विवाद समाधान भएका दुई जिल्ला कैलाली र धनुषाको अझै पनि नामावली सार्वजनिक गरिएको छैन । ‘होइन कहिले हुन्छ मधेशको क्रियाशील विवाद समाधान तपाईहरुले मधेशलाई महत्व नदिनु भएको हो’ बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रश्न गरेको बताइन् ।

मैले हरेक पदाधिकारी बैठकमा प्रदेश २ को क्रियाशील सदस्यता विवाद समाधान नगर्नुको कारण सोध्ने गरेको उनले बताइन ।

‘मधेशलाई शीर्ष नेताहरुले महत्व दिएनन्’ उनले भनिन्, ‘आज पार्टी सभापतिज्युले क्रियाशील छानबिन समितिलाई ९ गतेसम्ममा क्रियाशील नामावली सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। अब के हुँदो रहेछ हेरौँ ।’

बैठकमा सभापति देउवाले अहिले देखिएका सबै विवाद मिलाउन निरन्तर लागेको बताएका थिए ।

बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले अन्य प्रदेशमा वडा अधिवेशन सकिएर पालिका अधिवेशनको चरणमा पुग्दा पनि प्रदेश–२ मा सदस्यता समेत नदिँदा राम्रो नभएको बताएका थिए ।

शुक्रबारको बैठकमा क्रियाशील सदस्यता छानबिन समिति र केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई पनि राखिएको थियो ।

धनुषा क्षेत्र नम्बर ५ मा १३ औँ महाधिवेशनमा सहभागिताबाट भाग लिनबाट बञ्चित भएको थियो । संघीयता कार्यान्वयनपछि अहिले त्यो निर्वाचन क्षेत्र धनुषा–४ भएको छ ।

उक्त क्षेत्रमा स्थानीय तहका र क्षेत्रका पदाधिकारीलाई क्रियाशील सदस्यता फारम नै नदिई पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पार्टी कार्यालयमा आमरण अनशन बसे ।

डा. रामशरण महत, डा. प्रकाशरण महतको समिति बनाएर वार्ता गरेर त्यहाँको विवाद समाधान भएको भनिएको थियो । उक्त समितिले छिटै समाधान गर्ने भनेर उनीहरुको अनसन तोडाएका थिए । तर असोज ४ गते क्रियाशील सदस्यता विवाद समाधान समितिले दुई जिल्लाको क्रियाशील विवाद समाधान भएको जनाएको थियो, जसमा धुनषा पनि परेको थियो ।

तर अझै पनि धनुषाको क्रियाशील सदस्यता समेत प्रकाशन भएको छैन । अतिरिक्त बाँके, रसुवा, डोल्पा र सुर्खेतको क्रियाशील विवाद समाधान भएको क्रियाशील सदस्यता विवाद समाधान समितिले जनाएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया