मंगलबार, चैत ६, २०८०

शक्तिशाली ‘फष्ट लेडी’ !

शित्तल शर्मा । काठमाडौं २०७८ असोज ८ गते १४:३९

डा आरजु राणा प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी । अर्थात अहिले मुलुकको ‘फष्ट लेडी’ ! उनको परिचय यतिमा मात्रै सिमित छैन ।मनोविज्ञान विषयमा विद्यावारिधि उनी पढेकी र सक्षम महिला हुन् । विभिन्न आइएनजिओसँगका सम्वन्धका कारण उनलाई कांग्रेसभित्रै ‘डोनर नेत्री’ उपनामले पनि चिन्ने गरिन्छ ।

तिनै आरजु अहिले ‘लेडी डन’ बनेकी छिन् ।

देउवाको प्रधानमन्त्रीय अधिकारमा डा आरजु बालुवाटार बसेर अहिले यतिसम्म हावी भएकी छिन् की, राज्यका हरेक महत्वपूर्ण निर्णयमा उनको कुनै न कुनै साइनो जोडिन आईपुग्ने गरेको छ । श्रीमानले दिनुपर्ने निर्णयमा उनी अहिले ठाडै हावी हुन थालेकी छिन् ।

आफ्ना ब्यापारिक पार्टनरलाइ लाभै -लाभ

Advertisement

ललितपुरमा महँगो मध्येको पनि महँगो स्कुल छ – युलियन्स स्कुल । देउवा पत्नी डा. आरजु राणा उक्त स्कुलकी चेयरमेन हुन् । यसमा उनी एक्लैको लगानी अन्य ‘पार्टनर’हरु सवैको जोडदा पनि बढी छ । त्यसै स्कुलका ‘टस्टी मेम्मर’ थिए – डा विश्व पौडेल । अहिले डा आरजुकै सिफारिसमा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका छन् ।

पौडेल प्रतिको योग्यता र क्षमतामाथीको प्रश्न होइन । तर डा आरजु राज्यशक्तिमा कति ‘पावरफुल’ छिन भन्ने एउटा ज्यालन्त उदहारण हो – डा विश्व पौडेलको उपाध्यक्षको नियुक्ति ।

देउवाले खासमा डा. पौडेललाई योजना आयोगको सदस्य बनाउन चाहेका थिए । अमेरिकाबाट डा शंकर शर्मालाई नेपाल बोलाएर योजना आयोगको उपाध्यक्ष बनाउन देउवाले चाहेका थिए । त्यसका लागि शर्मालाई नेपाल निम्ताइएको पनि थियो । त्यसवेला योजना आयोगमा पुग्नकै लागि लविङमा लागेकाहरुलाई स्वंयम प्रधानमन्त्री देउवाले भन्ने गर्थे, –‘शंकर उपाध्यक्ष बन्छन्, विश्व सदस्य । वाँकी एउटा पद भागबन्डा लगाउँदा कांग्रेसको भागमा आउँला, त्यसमा हेरौला,सोचौला कति सम्भव हुन्छ खोइ ?’

देउवाको त्यसवेलाको भनाई उदधृत गदै योजना आयोग पुग्नका लागि लविङमै लागेका मध्येका एकले मेरोन्यूजसँग भने,–‘यसपटक योजना आयोगमा सवै पिएचडीवालाल मात्रै ल्याउने सोचेको छु ।’

देउवाको सोच एउटा, तर नियुक्तिहरु भ्टाभट भईदियो अर्काे । अर्थात,  अन्तिममा योजना आयोगको उपाध्यक्षमा आए डा विश्व पौडेल । अमेरिकाबाट निम्ताइएका डा शर्मा प्रतिस्पर्धाबाटै वाहिरिए । डा आरजु हावी भएकै कारण डा विश्व पौडेल उपाध्यक्ष बने ।

यत्तिमा मात्रै होइन, योजना आयोगका अन्य कांग्रेस कोटाको सदस्यमा पनि डा आरजु नै हावी भइन् । त्यसमा पनि उनले आफ्नै ‘साक्षेदारी पार्टनर’ लाई नै छाने ।

युलियन्सकै सिइओ अरनिको पाण्डे लाई योजना आयोगको विज्ञ सल्लाहकारका रुपमा नियुक्ति दिलाए । योजना आयोग आफैमा सरकारलाई सल्लाह/सुझाव सम्म दिन सक्ने प्राधिकार बोकेको निकाय हो । तर त्यसको पनि सल्लाहकार विज्ञका रुपमा डा आरजुले आफ्नै लगानी रहेको स्कुलका ब्यापारिक साक्षेदार पाण्डेलाई नियुक्ति दिलाए ।

अर्काे एक सदस्यमा पनि आरजु नै हावी भइन् । उनले आफ्नो ‘एनजिओ पार्टनर’ सलोनी सिंह प्रधानलाई योजना आयोगको सदस्य बनाइन् ।

सलोनी, डा आरजु, वन्दना राणा लगायत मिलेर एनजिओका काम ‘पार्टनर’का रुपमा गदै आईरहेका थिए ।

यति मात्रै होइन, युलियन्सकै प्रिन्सिपल मेदीनी लामिछानेलाई पनि उनले देउवा प्रधानमन्त्री बनेपछि गुन लगाईसकेकी छिन् । गणतन्त्र दिवसका दिन राज्यका तर्फबाट दिने पदक सम्मानवाट उनले युलियन्स स्कुलकै प्रिन्सिपल रहेका लामीछानेलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गराउन सफल भएकी छिन् ।

लामिछानेले अहिले पनि पदक प्राप्त गरेकोमा बधाई खाईरहेको ‘विज्ञापन’ युलियन्स स्कुलको वेभसाइटमै छ ।

मन्त्री नियुक्तिमै हस्तक्षेप

देउवाले हुन त आफ्नो नेतृत्वमा सरकार बनेको ७५ दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन । तर जति मन्त्री बनाएका छन्, त्यसमा पनि श्रीमति देउवा नै हावी भएकी छिन् । उनले आफना् अर्का ‘ब्यवसायिक साक्षेदार पार्टनर’ उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री सम्म बनाउन सफल भएकी छिन् ।

कोरोना संकट सँग जुध्नु परिरहेको मुलुकले स्वास्थ्यमन्त्री नपाउँदा राज्यमन्त्री श्रेष्ठ नियुक्त भएका हुन् । तर उक्त मन्त्रालयमा राज्यमन्त्री श्रेष्ठ भएपनि ‘डफ्याक्टो’ मन्त्रीका रुपमा भने डा आरजु राणा रहेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरु वताउँछन् ।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा देउवाले धेरै आलोचना खेपे । उनले सत्ता गठवन्धन दलको बैठकमै यस विषयको आफ्नो वचाउमा लागिदिन नेताहरुलाई आग्रह नै गरे । ‘इन्टेष्ट’ वाझिएकालाई मन्त्री बनाएको भन्दै उनको चर्काे आलोचना पार्टीभित्रै र वाहिर पनि भयो । यसको वचाउ गर्न उनलाई हम्मेहम्मे परेको थियो ।

अहिले स्वास्थ्य क्षेत्रको सरुवा-वढुवा लगायतमा मात्र राज्यमन्त्री श्रेष्ठ र डा आरजुले ध्यान दिईरहेका छन् ।

मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा समेत  प्रधानमन्त्री पत्नी राणा हावी भइन् ।

११ औं तहका चिकित्सक कार्यरत हुँदाहुँदै १० औं तहका चिकित्सक प्रमोद जोशीलाई लाई गत भदौं २८ मा मेसु नियुक्त गरिएको थियो । उक्त नियुक्ति रोक्न वरिष्ठ चिकित्सकले विरोध गरेपनि त्यसको सुनुवाई नगदै जोशी मेसु नियुक्त भएका थिए ।

देउवा पत्नी आरजुको पावर यतिमै सिमित छैन । उनले हात हाल्न पाएसम्म कतै छोडेकी छैन ।

पशुपति क्षेत्र विकास कोषमा उनकै जोडमा मिलन कुमार थापा सदस्य सचिव नियुक्त भए । आनन्द वतास अर्गनाइजेसन मार्फत डा आरजुले थापालाई पशुपति विकास कोषको सदस्य सचिव ल्याएको चर्चा सेलाएको छैन । थापा पहिला कोषको कोषध्यक्ष थिए । धर्मशालामा होटल बनाउन दिने भन्ने अध्ययन समितिको संयोजक उनै थिए । थापाकै समितिले बतास अर्गनाइजेसनलाई होटलको जिम्मा दिएको हो ।

पशुपतिको  सुन जलहरी विवाद पनि छ अहिले ।  त्यसको पनि उनै थापा संयोजक थिए । उनलाई पशुपति क्षेत्र विकास कोषमा नलैजाँदा गडबड हुने देखेपछि बतास अर्गनाइजेशनकै वलमा आरजुमार्फत थापाले सदस्य सचिवको नियुक्ति पाएका थिए ।

डा आरजुले यही वीचमा ललितपुरको भिभान्ता होटेलमा सरकारका केही सचिव, महत्वपूर्ण विभागका महानिर्देशकसहितका सरकारी अधिकारीहरुसँग साउन दोस्रो साता डिनर मिटिङ समेत गरेकी थिइन् ।

विगतमा केपी ओली प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकारले सचिवहरुलाई राखेर विफ्रिङ लिने गरेको कारण निक्कै विवाद आएको थियो ।

अहिले डा आरजु ले त्यस्तै शैलीलाई पछ्याएका छन् । उनको यो शैलीको पनि आलोचना शुरु भईसकेको छ ।

डा आरजुमाथी यस अगाडी देउवा प्रधानमन्त्री हुँदा पनि दबाब दिएर निर्णय गराउने गरेको आरोप लाग्ने गरेको थियो । अहिले पनि शुरुमै राणा माथी आरोप लाग्न थालिसकेको छ ।

प्रतिक्रिया