बुधबार, वैशाख १२, २०८१

सबै स्मार्ट फोनको चार्जर एउटै बनाउन दबाब

मेरोन्यूज २०७८ असोज ७ गते २१:२७

काठमाडौँ । युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरि गर्न दबाब दिएको छ । संघको दबाबले विश्वभरि धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्न सक्ने छ ।

युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा विद्युत खपत कम हुने र चार्जर धेरै खेर जाने समस्या कम हुने विश्वास लिएको छ । त्यसैगरी उपभोक्तालाई हरेकपटक नयाँ फोन किन्दा नयाँ चार्जर किन्नुपर्ने बाध्यता हट्ने र विद्युतीय सामग्रीको फोहोर कम हुने आयोगको निश्कर्ष छ ।

तर, एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविस्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ । आयोगको निर्देशनका कारण अब मोबाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ ।

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन् । आयोगका कानुन निर्माताले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नु पर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए ।

एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दाबी छ । फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो ।

सोही अध्ययका अनुसार गत वर्ष युरोपेली संघ मातहतका मुलुकहरुमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण बिक्री भएका थिए । औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो ।

आयोगको प्रस्तावित कानुनमाथि सुरुमा युरोपेली संसद र संघमा आबद्ध देशहरुले आन्तरिक रुपमा छलफल गरेर पारित गर्नु पर्ने भएकाले यो नियम लागु हुन तीन वर्षसम्म लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया