मंगलबार, चैत ६, २०८०

माधव नेपालको पार्टीमा बेदुराम भुसाल बने महासचिव

मेरोन्यूज २०७८ असोज ७ गते ११:११

काठमाडौं । एमाले विभाजित पछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा नेता बेदुराम भुसाल चयन हुने भएका छन् । उनलाई अहिले पार्टी केन्द्रीय समिति बैठकले महासचिव चयन गर्ने नेकपा एकीकृत समाजवादीका एक् नेताले बताए ।

उक्त पार्टीमा अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल मात्रै चयन भएका छन् । महासचिव कसलाई बनाउने भन्नने आजको बैठकको कार्यसूचि तय भएको थियो ।

विहान सचिवालयका नेताहरुका वीचमा भएको छलफलले भुसाललाई अहिले महासचिव बनाएर जानेमा सहमति जुटेको छ । उनी अव केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अनुमोदन भएपछि महासचिव बन्ने छन् ।

उनी नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभा दलका नेता पनि हुन् । माधव नेपालसँग अन्त्यन्त निकट रहेर काम गरेका भुसाललाइृ पार्टीले महासचिव बनाउने भएपछि अन्य प्रतिस्पर्धामा रहेका नेताहरुले पनि सहमति जनाएका थिए ।


महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायत नेताहरु लागि परेका थिए ।

Advertisement

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

नेकपा (एकीकृत समाजवादी)को पार्टी अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने ब्यवस्था छ ।

आज बस्ने बैठकले नेताहरुको कार्यविभाजन समेत गर्नेछ ।

जीवन राईको पार्टीसँग एकता


नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह भने अहिले रोजिसकेको छैन । तर उसले आफ्नै कार्यकर्ता रहेका जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत सँग पार्टी एकता गर्ने र नेकपा एकीकृतको चुनाव चिनह कलम लिने गरी समझदारी जुटाउने प्रयास भएको छ ।

विगतमा एमालेमै रहँदा सुरेन्द्र पाण्डे लगायत नेताहरुले राईलाइ नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता गराईराख्न निर्देशन गरेका थिए । सोही अनुसार उनले नेकपा एकीकृत कलम चुनाव चिन्ह लिने गरी दर्ता गराएका थिए ।

उक्त पार्टीसँग पार्टी एकता गरेर चुनाव चिन्ह कलम लिने गरी भित्री छलफल शुरु भईसकेको छ । एकताका लागि माधव नेपालले नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिईसकेका छन् । राईलाई पार्टीको केन्द्रीय सदस्य बनाउने र निर्वाचन आयोगमा दर्ता गर्दा उक्त पार्टीको केन्द्रीय कमिटिमा रहेका नेताहरुको ब्यवस्थापन पनि उचित मूल्याकंनका आधारमा गर्ने गरी एकताको प्रस्तावमा दुई पक्षवीच छलफल पारम्भिक चरणमा भईसकेको छ ।


छलफल सकारात्मक रहेकोले निकट दिनमै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जीवन राई नेतृत्वको नकेपा एकीकृत सँग एकता गर्ने र चुनाव चिन्ह कलम लिने समझदारी वन्ने सम्भावना निकट पुगेको छ ।

प्रतिक्रिया