बुधबार, वैशाख १२, २०८१

‘बालबालिकाका लागि छुटै वार्ड तयारी अवस्थामा राखेका छौं ’

मेरोन्यूज २०७८ असोज ६ गते १९:०५


काठमाडौं । अहिले देशैभर कोरोना संक्रमण दर केही मात्रा घटेको छ । जतिबेला कोरोना संक्रमण बढेको थियो, त्यतिबेला नेपालगञ्ज कोरोना दोस्रो लहरको संक्रमणमा हटस्पट नै बनेको थियो। संक्रमको दर ह्वातै बढ्दा त्यसको मार सबैभन्दा बढी भेरी अस्पतालले खेप्नु पर्यो । नेपालगञ्ज लगायतका आसपास क्षेत्रका कोरोनाका बिरामीको उपचारमा भेरी अस्पतालले गर्यो । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरु बढी जोखिम पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । कोरोनाकाे तेस्रो लहरका लागि के के तयारी गरेको छ ? अहिले कसरी सेवा दिइरहेको छ भन्ने बिषयमा केन्द्रित रहेर भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्मासँग मेरोन्युजकर्मी सञ्जिता खनालले गरेको कुराकानीको अंश :-


अहिले भेरी अस्पतालले बिरामीलाई कसरी सेवा दिइरहेको छ ?

अहिले हेर्दा गत सातादेखि कोरोना संक्रमितको संख्या केही घटेको देखिन्छ । अहिले अर्को के देखिएको छ भने संक्रमणको दर घट्ने बढ्ने देखिएको छ । अहिले अस्पतालका ननकोभिड सेवा पनि सञ्चालनमा नै छन् । संक्रमितको संख्या त घटेको छ । तर संक्रमणपछि जटिल हुने बिरामीको संख्या भने खासै घटेको देखिदैन । अहिले पनि दिनमा कोभिडकै कारण एक– दुई जनाले ज्यान गुमाइरहेका छन् ।

अहिले भेरी अस्पतालमा आइसीयू र भेन्टिलेटरको संख्या के छ ?


आईसीयू भनेर दुई वटा हल छुट्याएका छौं । हल ‘ए’मा १४ वटा आईसीयू नै भनेर बेड राखेका छौं । भेन्टिलेटर १५ वटा रहेका छन् । एकै पटक १५ वटा नै भेन्टिलेटर भरिदैन् । अहिले तेस्रो लहरको तयारीमा थप भेन्टिलेटरहरु थपिएका छन् ।

कोरोनाको तेस्रो लहरमा बालबालिकाहरु जोखिममा देखिने भन्दै अन्य देशहरुले तयारी गरिरहेका छन् भने अहिले भेरी अस्पतालले तेस्रो लहरका लागि के के तयारी गरेको छ ?


कोरोनाको तेस्रो लहरमा कसरी बिरामीको ब्यस्थापन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौं । विभिन्न अध्ययनहरुले बालबालिकाहरु बढी जोखिममा पर्ने भनेर बाहिर आईरहेका छन् । यस अस्पतालमा पनि बालबालिकाको लागि पेडियाट्रिक आईसीयू तयारी अवस्थामा छ । बालबालिकाको उपचारमा चाहिने अन्य उपकरण पनि तयारी अवस्था राखिएको छ । बेड पनि तयारी अवस्थामा छ । हामीले छुटै पेडियाट्रिककै तालिम त दिएका छैनौ तर अन्य आईसीयूको तालिम दिएका छौ । बालबालिकाको उपचारका लागि छुटै वार्ड नै छुट्याएर तयारी अवस्थामा राखिएको छ ।


कोरोना दोस्रो लहरमा भेरी अस्पतालमा विरामी चाप बढी थियो, त्यो बेलामा कसरी व्यवस्थापन गर्नुभयो ?


पहिलो लहर आएरपछि केही समय संक्रमितको संख्या केही घटेको थियो । तर पहिलादेखि नै हामीले तयारी गरिरहेका नै थियौं । तर एक साताको समयमै संक्रमितको संख्या थेग्न नसक्ने गरी नै बढ्यो । सबै तिरबाट कोरोनाका बिरामीहरु रिफर भएर आउन थाले ।
अस्पतालमा बेडको अभाव हुन थाल्यो । अक्सिजनको अभाव भएको थियो । अन्य ननकोभिडका सेवा रोकेर त्यहाँका बेडहरु कोभिडमै प्रयोग गरियो । तर निकै गाह्रो भएको थियो । केहीदिन त आकस्मिक वार्ड अगाडि टेन्ट टाँगेर सेवा दियाै‍ । अस्पतालमा भएका नर्स स्वास्थयकर्मीको अभाव खड्कियो । निकै जोखिम र चुनौति थियो । बिस्तारै संक्रमितको संख्यामा पनि कमी आयो । अस्पतालमा अक्सिजन ट्याङ्क पनि राखियो । सहज पनि भयो ।


भएका जनशक्तिलाई कसरी सेवा दिएका थिए ?


कोभिडबाहेका अन्य नन कोभिड वार्ड पनि सञ्चालनमा थियो । त्यहाँका जनशक्ति पनि कोभिडमै राख्यौ । अर्को स्वास्थ्यकर्मी र नर्सको ड्युटी समय पनि बढ्दो छ । करारमा भएपनि जनशक्ति माग गरर्यो । भएका जनशक्तिलाई पनि साप्ताहिक बिदा पनि कटौति गरेर रातदिन नभनी सेवामा खटायौं ।


कोरोनाको दोस्रो लहरमा कुन उमेर समूहका बिरामीहरु बढी भर्ना भएका थिए ?


यस अस्पतालमा पहिलो कोरोनाको लहरमा दीर्घ रोग भएका जेष्ठ नागरिक बढी प्रभावित भएका थिए । पहिला हामी बढी उमेरको मृत्यु हुने दर बढी हुन्छ भन्थ्यौं तर दोस्रो लहरमा त्यो देखिएन् । तर दोस्रो लहरमा कुनै पनि रोग नभएका र युवाहरुको मृत्यु भएको देखियो ।
पहिलो लहरमा संक्रमितको संख्या बढि भएपनि मृत्यु हुने दर कम थियो ।


अहिले अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएका छन् कि छैनन् ?


यस अस्पतालमा विभिन्न समूहका स्वास्थ्यकर्मीहरु रहेका छन् । कोही प्रदेशबाट नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश सरकारले जोखिमभत्ता दिएको छ । तर उहाँहरुको फागुनसम्म १ सय प्रतिशत, ५० प्रतिशत जोखिम भत्ता दिएकोमा साउनपछि भने त्यो भत्ता पाउनु भएको छैन।


अन्त्यमा: धेरैले कोरोना संक्रमण केही पनि हैन भनेर हेल्चेक्राई गरेको देखिन्छ, उनीहरुलाई तपाई के भन्नु हुन्छ ?


कोरोना संक्रमणको जोखिम घटेको छैन् । अर्को यो कोरोना कुनै रोग नभएका र युवाहरुलाई जोखिम छैन भनेर हेल्च्याक्राई पनि गर्नुहुदैन् ।
दोस्रो लहरमा हामीले केही पनि रोग नभएकाहरुमा पनि यो संक्रमणबाट जटिल भएर ज्यान गुमाएका छन् । जोखिम सबै उमेर समुहकालाई छ । जोखिम हुदाँहुदै पनि हामीले अब संक्रमण घट्यो भनेर जनस्वास्थ्यको मापदण्ड मास्क नलगाउने, भिडभाडमा जाने हात नधुने कसैले पनि गर्नुहुदैन । फेरि तेस्रो लहर नआउँला भन्न सकिन्न । हाम्रो आनीबानीकै कारण संक्रमण अवस्था हेरफेर हुने हो ।
अब हाम्रा चाडपर्व आउदैछ । हामी शहर छोडेर गाउँ जान्छौं । त्यसरी जाँदा हामी सचेत भने हुनैपर्छ । पहिला पनि चाडपर्व पछि संक्रमणको दर ह्वातै बढेको थियो । हामी संक्रमण दर बढ्न नदिन र संक्रमित नहुन सावधानी अपनाउनै पर्छ । अर्को मैले खोप लगाएको छु, म पूर्ण सुरक्षित छु भन्ने अवस्था छैन।

प्रतिक्रिया