शुक्रबार, चैत १६, २०८०

लेखक, पत्रकारले धेरै पैसा कमाउनु पर्छ भन्ने मेरो मान्यता हो : कमल ढकाल

लेखक, पत्रकारका लागि ५० घर बनाउने योजना

मेरोन्यूज २०७८ असोज २ गते १७:२६

मुलपानी, काठमाडौंका कमल ढकालले लामो समय पत्रकारिता गरे । प्रिन्ट र टेलिभिजनमा लामो अनुभव बटुलिसकेपछि उनले बाटो फेरे । पेशा त अक्षरकै थियो । काम त लेखनकै थियो । साहित्यलाई व्यवसाय गर्न सकिन्छ भन्ने मान्यताले उनले घोस्ट राइटिङ नेपालको स्थापना गरे । उनले यस कम्पनीमार्फत पुस्तक लेखन तथा प्रकाशनको काम थाले । घोस्ट राइटिङ नेपाल अहिले लेखन कुञ्जमा परिणत भईसकेको छ । थापागाउको शान्त वातावरण, वरीपरि थरीथरीका रुखहरु, बासका टहराको आकर्षक भवन । त्यही भेटिन्छन्, कमल ढकाल । अक्षर कर्ममा रमाएका छन् उनी । साहित्यकार र लेखक सम्बृद्ध बन्नुपर्छ भन्ने मान्यता बोकेर उनी लेखन कुञ्जलाई मजबुत बनाउन समर्पित छन् ।

उनै कमल ढकालसँग नरेन्द्र रौलेले गरेको कुराकानी :

लेखनकुञ्जको अवधारणा कसरी आयो ?

मैले विभिन्न पत्रपत्रिका र टेलिभिजनमा काम गरें । काम गर्दै जाँदा धेरै समय गुजारेपछि मलाई लाग्यो, पत्रकारिता गरेर जीवन निर्वाह गर्न गा¥हो छ । पत्रकारितामा लेख्ने भन्दा ठोक्नेलाई पैसा आउछ । त्यो अवस्था देखेपछि मलाई विरक्त लाग्न थाल्यो । तैपनि मेरो अक्षरप्रति मेरो मोह थियो । जुन कहिल्यै टुटेन ।

०६२ मा म गाडी चढ्ने, हातमा औंठी लगाउने भईसकेको थिएँ । नेपाल समाचारपत्रमा छँदा गो अहेड स्तम्भ लेख्थें । प्रगतिका कथा लेख्थें । निरस समाजमा आशा भरिएका कथा लेख्थें ।

त्यही क्रममा कर्ण शाक्यसँगको मेरो भेटपछि जीवनले मोड लियो । उहाँको म सक्छु भन्ने किताबको मैले जिम्मा लिएको थिएँ । त्यो राम्रै पारिश्रमिक राम्रै थियो । घोस्ट राइटिङको काम पनि हुन्छ अन्य देशमा भन्ने कुरा त्यही भेटमा थाहा भयो । पछि कर्ण दाईले अरु व्यक्ति पनि दिनु भयो । त्यसले गर्दा मलाई सजिलो भयो । अहिले १ सय २१ वटा किताब छापिसक्यौं । ५ सय वटा लाइनमा छन् ।

संस्था सुरु गरेपछि कत्तिको कठिनाइ झेल्नुपयो ?

२०६६ मा संस्था दर्ता गरें । तीन वर्ष त घाटा नै लाग्यो । मेरो खर्च पनि धेरै भइसकेको थियो । तर, मेरो यसैमा लगाव थियो । व्यापार त मेरो अरु पनि थियो । तर, म यहि कामलाई अघि बढाउन चाहन्थें । कर्ण शाक्य दाईले मलाई केही मानिस सिफारिस गरिदिनुभयो । त्यसले पनि मलाई सजिलो भयो ।

०५५ मा मेरो बुबा बित्नु भयो । मैले बाको कथा लेख्न पाइनँ । मलाई मप्रति विश्वास थियो । जीवनको महत्व कति छ भन्ने थाहा भयो । लाग्यो, ठूलो त जीवन हो । हामीले यसलाई सानो बनाइरहेका हुन्छौं । मानिसहरु पृथ्वीबाट छिटै अस्ताउँछन् । एउटा रुखको आयु तीन सय वर्षदेखि ५ सय वर्ष हुन्छ । मानिसको कथा लेखिनु पर्छ । मानिस मरिरहन्छन् । मृत्युको देशमा हामी जीवनको कथा लेखिरहेका छौं भन्ने लाग्छ । यसले गर्दा संस्थालाई अझ रफ्तार दिन मन लाग्यो ।

सुरुसूरुमा विज्ञापन पनि खुब गर्नुभयो । त्यसले कस्तो प्रभाव पायो ?

सुरुमा राष्ट्रिय दैनिकमै विज्ञापन गरियो । ८, १० लाख रुपैंयाँ त विज्ञापनमै गयो । तपाईंको कथा हामी लेख्छौं भनेर विज्ञापन गरियो । त्योबेला लेख्ने कम आउथे । बुझ्न धेरैले खोज्थे । विस्तारै त्यसको प्रभाव पर्दै गयो । मानिसहरु आउन थाले । पैसा भएर कमलले घोस्ट राइटिङ्ग सूरु ग¥यो । बहुलायो भने कतिले त । तर, मैले मेरो बाटो छोडिन“ । समय क्रममा मेरो लक्ष्यले मूर्त रुप लियो ।

Advertisement

लेखनकुञ्जले सिर्जनात्मक लेखनमा पनि जोड दिएको छ । यसबारे छोटकरीमा बताइदिनुहोस् न ।

लेखनकुञ्जमा क्रियटिभ राइटिङ्ग (सिर्जनात्मक लेखन) पनि पढाई हुन्छ । यसमा एउटा ब्याचमा २० देखि ३० जना हुन्छन् । केही समय कोरोनाले पढाई रोकिएको मात्र हो । अब १५ औं ब्याच सुरु हुँदैछ । सिर्जनात्मक लेखन तीन महिने कोर्ष हो । जसमा सिद्धान्त, व्यवहार र प्रयोगको पढाई हुन्छ ।

विशेषगरी साहित्यमा रुचि राख्ने डाक्टर, इन्जिनियर, कृषि क्षेत्रका व्यक्तिहरु सिक्नका लागि आइरहनु भएको छ । कथा म भित्रै रहेछ । म अन्तै खोज्दै हिंडे भन्नेहरु धेरै जना हुनुहुन्छ ।

हामीले कुञ्ज थियटर पनि सुरु ग¥यौं । यस अन्र्तगत थियटर राइटिङ्गले निरन्तरता पाउनेछ । मेरो त सास पनि यसैमा छ । श्वासले कुनै बेला रुवाउछ, कुनैबेला हसाउँछ ।

अब कस्ता खालका किताब ल्याउने सोचमा हुनुहुन्छ ?

सिमल बुकले कथा, निबन्ध, नाटक छाप्नेछ । लेखन कुञ्जले जीन्दगीका किताबहरु छाप्नेछ । संस्मरण, आत्मबृत्तान्त विधा यसमा पर्नेछन् ।

अहिले हात हालेको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

लण्डन एकै दिनमा बनेको होइन । उसले हरेक कुराको दस्तावेज बनाएको छ । हाम्रो संस्थाले छापेका किताबहरु कति बिके, चर्चित बने कि बनेनन् ? मलाई त्यतातिर मतलब छैन । तर, म एकदमै सन्तुष्ट छु । मेरो मनलाई शान्ति मिलेको छ । अहिले अन्य प्रकाशन गृहका साथीहरु मैले छाप्ने तयारी किताब माग्न आउछन् । टी एस इलियट, जर्ज बर्नाड शाका पुस्तकहरु पनि घोस्ट राइटिङ्गले छापेको थियो ।


लेखनकुञ्जमा कति जनाले रोजगारी पाइरहेका छन् ?

१० जना पूर्णकालिन र ८० जना पार्टटाइम लेखक छन् । ती मध्ये टप पत्रकारहरु पनि छन् । राम्रो पैसा कमाईरहेका छन् । लेखक, पत्रकारले गाडी चढ्नु पर्छ, घर बनाउनु पर्छ, पैसा कमाउनु पर्छ भन्ने मेरो मान्यता हो । लेखन कुञ्जले लेखनमा नयाँ सम्भाबना जन्मायो ।

पत्रकारिता र पुस्तक लेखन दुबैमा अनुभव बटुल्नु भयो । यी दुई पेशाबीच के फरक पाउनु भयो ?

धेरै फरक छ । पत्रकारिता झुसिलकिरो हो भने लेखन पुतली हो । पत्रकारिता उत्तेजना हो भने लेखन चेतना हो । पत्रकारिता तुजुक हो भने लेखन आत्मविश्वास हो । पत्रकारिताप्रति म नकारात्मक छैन । यसले लेखनमा सिकाउछ । तर, यतिबेला म पुस्तक लेखनमा बढी रमाइरहेको छु ।

तपाईंलाई मन पर्ने लेखक र पुस्तकहरु ?

सिमोन द बोउवारको द सेकेन्ड सेक्स । रान्डा बनको सेक्रेट । पाउलो कोएल्होको द अल्केमिस्ट । मलाई पाउलोको लेखन एकदमै राम्रो लाग्छ । उनी लेख्नकै लागि अर्को देश जान्छन् । पात्रलाई बढी हिडाउछन् । यस्तै जेके रोलिङ्गका पुस्तकहरुले मलाई प्रभावित गरेका छन् । डिप्रेसनबाट मुक्ति पाएपछि उनले लेखेका पुस्तकहरु निकै चर्चित भए ।

यस्तै नेपालीमा महाकवि देवकोटाका कविता, निबध र महाकाब्य मलाई अत्यधिक मन परे । उनी ५० मै बिते । देवकोटा मलाई गजबका व्यक्ति लागे । धेरै पहिले भारतमा गरेको एक भाषण लिखित रुपमा पढ्न मन लाग्यो । त्यो ऐतिहासिक भाषण मलाई खत्रा लाग्यो । के नेपाल सानो छ ? भन्ने निबन्ध बहुतै राम्रो लागेको थियो । यस्तै कथामा ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे मानक ठान्छु ।

मदनमणि दीक्षितको माधवी अति उत्कृष्ट लाग्छ । शब्दहरुको जंगल छ त्यसमा । निबन्धको सवालमा कुरा गर्दा शंकर लामिछाने र नाटकमा बालकृष्ण समको नाम अकाट्य लाग्छ । यस्तै उपन्यासमा नारायण ढकालका पुस्तक मलाई मन पर्छन् ।

सधैं नयाँ नयाँ काममा रमाउनु हुन्छ । नयाँ प्रयोग रुचाउनु हुन्छ । तत्काल सुरु गरिहाल्ने त्यस्तो नयाँ कुनै सोंच र योजना छ ?

२०८० पछि नयाँ काम गर्दैछौं । काभ्रेको रयालेमा ५० रोपनी जग्गा लिइसकेका छौं । जहाँ ५० घर बनाउने योजना छ । त्यसको नाम हुनेछ, लेखनग्राम । ५० जना लेखकबाट निश्चित रकम लिएर घर हस्तान्तरण गर्नेछौं ।

काठमाडौं घर नभएका, लेखक, पत्रकारले लेखनग्राममा घर लिन सक्नेछन् । यो एउटा नमुना बस्ती बन्नेछ । भोलि संसारका लेखकहरु यहाँ भ्रमणका लागि आउनेछन् । नेपाली लेखकका पुस्तकलाई अन्तराष्ट्रिय भाषामा ल्याउने प्रयत्न गर्नेछु । २०८५ भित्र लेखनग्राम बनाइसक्ने योजनामा छु । यो साहित्यकारको कोशी टप्पु बन्नेछ ।

प्रतिक्रिया