शुक्रबार, वैशाख ७, २०८१

ओलीको ब्यङग्यः फ्रिजमा बनाइएका डल्लाहरु आफै बिलाएर जान्छन्

मेरोन्यूज २०७८ असोज २ गते १५:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन फ्रिजमा बनाइएको डल्लाहरु भएको आरोप लगाएका छन् ।

पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको बबरमहलस्थित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ती डल्लाहरु आफै बिलाएर जाने बताए ।

सत्तारुढ पाँच दलीय गठबन्धन अरु कसैले बनाइएको संकेत ओलीको थियो । ‘यिनीहरु फ्रिजमा बनाइएका डल्लाहरु हुन्,’ पाँच दलीय गठबन्धनलाई संकेत गर्दै ओलीले भने– ‘आफै बनेका डल्ला होइनन् ।

पाँच दलीय गठबन्धनलाई आफू पराजित हुने डरले निर्वाचनबाट भाग्ने पार्टीको रुपमा पनि अथ्र्याए । हिजो निर्वाचन गराउन खोज्दा प्रतिगमन भयो भन्ने बिरोध गरेको भन्दै सत्ता गठबन्धन निर्वाचनबाट भागेको ओलीको भनाइ थियो ।

‘चुनाव भनेपछि ‘प्रतिगमन’ भन्दै थरथर काँप्दै गएकाहरु हुन् ।’, ओलीले सत्ता गठबन्धनतर्फ इंगित गर्दै भने– ‘१४ महिनामा चुनाव हुन्छ, १५ महिनामा कता हराउँछ, कता बिलाउँछन् थाहा छैन ।’

एमाले अध्यक्ष ओलीले आफ्ना संगठनका कर्मचारीहरुले भ्रष्टाचार गर्न नहुने भन्दै उदाहरणीय बन्न पनि सुझाए ।

आफू प्रधानमन्त्री भएकै दिन आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्धता जनाएको स्मरण गर्दै ओलीले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

अहिलेको सरकार कर्मचारी सरुवा बढुवा गरिरहेको प्रशंग उल्लेख गर्दै ओलीले अहिलेको सरकार सोझै सेटिङ्मा भ्रष्टाचार गरिरहेको दाबी गरे । ‘खरबौंको तलमाथि हेर्ने गरी कसरी हेरफेर भयो ?’, ओलीले भने, ‘सेटिङ् भएन भन्ने ठाउँ छैन ।’

उनले आफ्नो पार्टी निकट कर्मचारी संगठनलाई स्वच्छताको संगठन भन्दै सरकारलाई भ्रष्टाचार गर्न नदिने रखवाली गर्न पनि सुझाए ।
ओलीले आफ्ना कर्मचारीहरुलाई भने ‘कसैले घुस दियो भने पनि खान्न भन्नुपर्छ ।’

आफ्नो पार्टी संगठनमा नभएका कर्मचारी सबै बाटो बिराएका कर्मचारी भएको ओलीको भनाई थियो ।

माक्स वितरण गर्दा पनि पार्टीको चिन्हको माक्स कर्मचारीहरुले लगाउने पनि गर्न थालेको भन्दै ओलीले त्यसलाई अस्वीकार गर्न आफ्ना कर्मचारीहरुलाई सुझाव दिए ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीमात्रै जनताबाट निर्वाचित पार्टी भएको चर्चा गर्दै अहिलेको सरकार विचित्र ढंगले आएको सरकार भनी टिप्पणी गरे ।
अहिलेको सरकार गैरजिम्मेवार सरकार मात्र नभई अस्वभाविक उद्देश्यका लागि परमादेशबाट बनेको समेत ओलीले आरोप लगाए ।

प्रतिक्रिया