बिहीबार, वैशाख १३, २०८१

गठबन्धन दलभित्रको समस्याले मन्त्री मण्डल विस्तारमा ढिलाई : नेता सिंह

मेरोन्यूज २०७८ असोज २ गते १०:२९

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र केही दलको आन्तरिक व्यवस्थापनले मन्त्री मण्डल विस्तारमा ढिलाई भएको बताएका छन् । गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा ‘गणेशमान सिंह फाउण्डेसन’ले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमा नेता सिंहले गठबन्धन दलको समस्या समाधान भएसँगै सरकारको मन्त्री मण्डलले पूर्णता पाउने बताए । कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकाले गठबन्दको सरकार बन्न पुगेको बताएका थिए ।

‘कम्युनिष्टहरू असफल हुँदा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्ने छ ।’

त्यस्तै, उनले कांग्रेसको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विधि विधानअनुसार समस्याको समधान गर्नु पर्ने बताए ।

उनले पार्टी सभापतिमा साझा उम्मेदवारको सम्भावना नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर, आफू सभापतिको उम्मदवारबाट पछि नहट्ने बताए ।

कार्यक्रममा उनले नेता सिंहले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरण गरे । साथै, कांग्रेस पार्टी मजबुत बनाउन नेता सिंहको अमूल्य योगदान रहेको उनको भनाई थियो ।

कार्यक्रममा पूर्व मन्त्री राजेन्द्र कुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे, किरण गिरीलगायतको उपस्थित थियो ।

प्रतिक्रिया