बिहीबार, वैशाख १३, २०८१

हराएका ६३ मूर्ति फर्काउन सफल

मेरोन्यूज २०७८ असोज २ गते ६:१३

काठमाडौँ । नेपालबाट विदेशमा पर्याइएका ६३ वटा मूर्ति नेपाल फर्काइएको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फिर्ता गरेको जानकारी दिएका हुन् ।

नेपाल सम्पदा पुनर्जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन् ।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको समेत उनले जानकारी दिए ।

चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको उनको भनाई थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडा नं १६ पटकोबाट २०४२ सालमा चोरिएको कमलाज विष्णु अर्थात लक्ष्मीनारायणको मूर्ति गत वैशाख १६ गते फर्काउन सफल भएको जानकारी दिए । उनले भने, ‘यस मूर्ति पुनःस्थापना गरिसकेपछि फेरि हराउन सक्ने भन्दै सिसिटिभी, सडकबत्ती राख्ने खर्च महानगरपालिकाले गर्नेछ ।’

यसैगरी पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिए । उनले भने, ‘मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नु पर्ने हुन्छ ।’

अभियानका सञ्चालक रोशन मिश्रले आफूहरुले धेरै संग्रहालयलाई पत्राचार गरी चोरिएका मूर्ति फर्काउन अनुरोध गरेको बताएका थिए ।

प्रतिक्रिया