मंगलबार, वैशाख ११, २०८१

उच्च रक्तचापको औषधि किन निरन्तर खाने ?

डा.राजेन्द्र कोजु २०७८ असोज २ गते ७:३१

मैले उच्च रक्तचापको औषधि जिन्दगीभर खानुपर्छ कि पर्दैन ? धेरैले सोध्ने प्रश्न हो । धेरै जसोलाई लाग्छ, कुनै पनि रोगको औषधि रोग हुँदासम्म खाने, तर रोग निको भएपछि औषधि किन खाने ? अर्को उच्च रक्तचापको औषधि केही समय खाएर छोडे हुन्न भन्ने प्रश्न धेरै आउने गरेका छन् ।

सामान्यतया रक्तचाप भनेको मुटुबाट बाहिर निस्केको रगतको चापलाई भनिन्छ । माथिल्लो रक्तचाप मुटुले पम्प गर्दा १४० भन्दामाथि र तल्लो आराम गरेको बसेको समयमा ९० भन्दामाथि गएमा उच्च रक्तचाप भन्ने गरेका छौँ । उच्च रक्तचाप एकै छिनका लागि बढ्ने पनि हैन । अर्को, यो एकैछिन औषधि सेवन गरेर घट्ने पनि हैन । यो बढ्नु भनेको शरीरमा विभिन्न कारणले हुन्छ । त्यसलाई घटाउन औषधि सेवन गर्नु पर्छ ।

रक्तनलीमा हुने रगतको चाप निरन्तर बढिरहनुलाई उच्च रक्तचाप भनिएको हो । घटेको महसुस भएसँगै आफू खुसी औषधि छोड्नु हुँदैन । निरन्तर औषधि प्रयोग गर्नु पर्छ ।

यदि, हामीले हेल्च्याक्राई गरेर औषधि खान छोड्यौँ भने पुन: बढ्दै जान्छ । औषधिले बढेको रक्तचाप सामान्य अवस्थामा ल्याएको हुन्छ । तर, औषधि छोड्दा नियन्त्रणमा आएको रक्तचाप एकैपटक बढेर रक्तनली फुट्ने सम्भावना हुन्छ । औषधि छोड्दा रक्तनली फुटेर मस्तिष्कघात हुन सक्छ । त्यसैले उच्च रक्तचापको औषधि नियमित सेवन गर्न छोड्नु हुँदैन ।

केही व्यक्तिमा तनावले वा कुनै क्षणिक कारणले रक्तचाप बढेमा केही दिन औषधि दिएर विस्तारै छोड्न मिल्ने हुन्छ । तर, यस्तो प्रकारको उच्च रक्तचापको औषधि सेवन नगन्य मात्रामा हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरेकाले चिकित्सकको सल्लाहविना बिचमा औषधि छाड्ने काम गर्नु हुँदैन । यदि, हामीले समयमै उच्च रक्तचाप नियन्त्रण गरेमा त्यसबाट निम्तिने हृदय घात, मस्तिष्क घात, मृगौला फेल हुने समस्याबाट बच्न सक्छौँ । त्यसैले उच्च रक्तचापका बिरामीले आफूले लिएको रक्तचाप नियन्त्रण गर्ने औषधि छाड्न हुँदैन ।

अर्को कुरा, मलाई धेरैले सोध्ने प्रश्न हो, यो औषधिको साइडइफेक्ट छैन ? हामीले यो औषधिले सकारात्मक इफेक्ट धेरै छ कि त्यसबाट हुने नगन्य नकारात्मक इफेक्ट बढी छ त्यो हेर्न जरुरी छ । केहीलाई यो औषधिले खुट्टा सुनिने वा खोकी लाग्ने हुन्छ । तर, त्यस्तो समस्या देखिएमा चिकित्सकलाई जानकारी गराउनु पर्छ ।

जिन्दगीभर खानु पर्ने भनेर दिक्क मानी औषधि नछोडौँ । पछिल्लो समय उच्च रक्तचापको नियमित औषधि लिँदा हृदय घात, मस्तिष्क घात, मृगौला फेल हुने उचाररत मानिसमा कम देखिएको छ । त्यसैले औषधि खान सुरु गर्न र निरन्तरता दिन आग्रह गर्दछु ।

(धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ डा. कोजुसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया