बिहीबार, वैशाख १३, २०८१

कसरी चल्छन् राजनीतिक दलका पार्टी कार्यालय ?

पार्टी सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट उठ्ने लेवी र सहयोगीले दिने चन्दाबाट खर्च चल्ने गरेको राजनीतिक दलहरूले बताउने गरेका छन्

शित्तल शर्मा २०७८ असोज २ गते १४:५१

काठमाडौँ । भिएस निकेतन स्कुलको पुरानो भवनको छेउबाट बागमती कोरिडोरतर्फ अगाडि बढेपछि आइपुग्ने मीनभवन आलोकनगरमा शुक्रबारदेखि भर्खरै गठन भएको नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । भुँइतलासहित चार तले सो घरका मालिक पुजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरू छन् ।

अध्यक्ष माधव नेपालले रिबन काटेर केन्द्रीय कार्यालयको उदघाटन गरेपछि त्यहाँ सोधी खोजी चल्यो– कार्यालयको मासिक भाडा नेकपा एसले कति तिर्ला ? कति वर्षका लागि सम्झौता होला ? प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडा त्यसपछि पत्रकारहरूको घेरामा परे । ‘मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएका हौँ,’ खतिवडाले पत्रकारसामु भने, ‘वर्षेनी सम्झौता नवीकरण गर्ने गरी अहिलेलाई शुरुमा एक वर्षका लागि सम्झौता गरेर बसेका हौँ ।’

मीनभवन आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय

१५ वर्षसम्म आफैले नेतृत्व गरेको नेकपा एमालेमाथि देखि तलसम्मको बनिबनाउ संगठनात्मक संरचना, देशको सबैभन्दा धनी पार्टी जसको केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा समेत सम्पत्ति छ । त्यस्तो पार्टी चटक्कै छाडेर माधव नेपालले गत भदौँ ९ मा नेकपा एस गठन गरेका थिए । त्यसपछि उसले सम्पूर्ण संरचनासहितको नयाँ पार्टी केन्द्रीय कार्यालय मीनभवन आलोकनगरमा खोलेको हो ।

माओवादी केन्द्रसँगको एकता तोडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेभन्दा बाहिरै राख्न चाहेका थिए । अन्य पार्टी नेता कार्यकर्तालाई एमालेमै रोक्ने र माधव-झलनाथ खनाललाई एमालेबाट बाहिरै पार्ने ओली योजना अन्ततः सफल देखिएपछि माधव नेपाल नयाँ पार्टी गठनको ‘बाध्यात्मक’ स्थितीमा पुगेका थिए ।

अहिले नेपाल समूह देशभर संगठन संरचना निर्माण गर्ने, पार्टीका कार्यालयहरु केन्द्रदेखि जिल्लासम्मै व्यवस्थापन गर्ने र सरकारमा सहभागिताका लागि केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ ।

अन्य दलका कार्यालय कहाँ कस्ता ?

प्रमुख प्रतिपक्षी दल भए पनि संसदमा अझै पनि सबैभन्दा ठूलो दल नेकपा एमाले नै छ । उसको केन्द्रीय कार्यालय थापाथलीमा छ । ७ रोपनीभन्दा बढी जग्गा र कार्यालय भवन मदनगर बल्खुमा रहेको एमाले २०७२ को भूकम्पपछि अरुको घरमा सरेको हो । बल्खुअघि एमालेको कार्यालय बागबजारमा थियो । ०४८ मा पार्टीका सांसद र सर्वसाधरणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले बल्खुमा कार्यालयका लागि ७ रोपनी जग्गा किनेको थियो । ०५० मा तत्कालीन एमाले उपमहासचिव वामदेव गौतमको नेतृत्वमा कार्यालय निर्माण भएको थियो । त्यो भवनमा एक करोड ५० हजारभन्दा बढी लागेको नेताहरू बताउँछन् ।

२०७२ को भूकम्पबाट बल्खुस्थित पार्टी मुख्यालय भत्किएपछि शुरुमा एमालेको कार्यालय धुम्बाराही सरेको थियो । गत वैशाख यता भने थापाथलीमा सरेको छ ।

थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय

बल्खुबाट एमाले पार्टी कार्यालय धुम्बराहीमा रहेको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानको भनवमा सरेको थियो । एमाले नेता तथा तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पा त्यसबेला पासाङ ल्हामु शेर्पा प्रतिष्ठानका अध्यक्ष थिए । प्रतिष्ठानसँग जोडिएका आङछिरिङ शेर्पासँग एमाले नेताहरू, त्यसमा पनि अध्यक्ष केपी ओलीको राम्रो सम्बन्ध भएकाले कार्यालय राख्नेबारे धेरै छलफल भएन ।

अर्को कार्यालय नभेटेसम्म बस्ने भनेर पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको कार्यालय धुम्बाराहीमा हतार-हतार गरी ओलीले पार्टी केन्द्रीय कार्यालय सार्ने निर्णय लिए । एमाले पार्टी कार्यालय सारियो । तर, त्यसबेला आङछिरिङलगायतको व्यवसायिक स्वार्थमा पार्टी कार्यालय सार्न खोजिएको भन्दै अहिले राष्ट्रपति रहेकी तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भने असहमति राखेकी थिइन् ।

उनको केही जोर चलेन । एमाले पार्टी कार्यालय धुम्बाराही सारियो । धुम्बारहीबाट पाँच वर्षसम्म सरेको थिएन । तर आङछिरिङको जहाज दुर्घटनामा निधन भएपछि मोती दुगडसँग ओलीको हिमचिम बढ्यो । ओलीले दुगडलाई राज्य मन्त्रीदेखि आफू प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत बनाएका थिए । उनै दुगडको अगुवाईमा धुम्बाराहीबाट थापाथलीमा एमाले कार्यालय सारियो ।

अहिले एमाले पार्टी कार्यालय राखिएको थापाथलीको घर दुगडका आफन्त सञ्जय अग्रवालको हो । दुगडकै प्रस्तावमा अग्रवालले एमालेको मुख्यालय सञ्चालन गर्न घर दिन तयार भएका हुन् । यहाँ पनि धुम्बाराहीमा जस्तै अर्को व्यवस्था नहुँदासम्म कार्यालय राख्ने सम्झौता एमालेको छ । तर घरको भाडाबारे भने सम्झौतामा प्रष्ट किटान गरिएको छैन । धुम्बाराहीमा भाडाबारे प्रष्ट किटान थिएन ।

चार रोपनी क्षेत्रफलमा कम्पाउण्डसहित बनेको यो भवनको भाडा एमालेले कति तिर्छ ? दुवै पक्षले सार्वजनिक गरेका छैनन् । यो घरमा पहिला घर धनी सञ्जय अग्रवाल आफै बस्थे । बीचमा युएन बुमन बस्यो। अहिले एमालेलाई दिएर अग्रवाल भने कालिमाटीमा डेरामा बसिरहेका छन् ।

आफू डेरामा बसेर एमालेलाई घर कार्यालय राख्न दिएका अग्रवालले पैसा कति पाउँलान् ? एमाले केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘पार्टीसँग पैसा भएको बेला बैंकमा डिपोजिट गरिदिने हो, नभएका बेला त्यस्तै हो ।’

सरकारको नेतृत्वमा रहेको कांग्रेसले सानेपाबाट पार्टी केन्द्रीय कार्यालय सञ्चालन गर्दै आइरहेको छ । कांग्रेसले ०६३ सालदेखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ ।

ललितपुर सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ।

सानेपामा कार्यलय सार्नुअगाडि कांग्रेसले काठमाडौँको टेकुबाट कार्यालय सञ्चालन गर्दै आएको थियो । रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ । त्यो जग्गा २१ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन् ।

मओवादी केन्द्रको भने आफ्नै पार्टी कार्यालय छ । २ रोपनी ८ आना क्षेत्रफलमा कोटेश्वर पेरिसडाँडामा रहेको घरबाट माओवादी केन्द्रले केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । दुई करोड ७२ लाख रुपैयाँ हालेर २०६४ सालमा माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले व्यापारी भीम धाख्वाबाट यो घर खरिद गरेको थियो ।

त्यसको एक वर्षपछि त्यही घर जग्गासँग जोडिएको थप १२ आना २ पैसा जग्गा एक करोड ७२ लाख ५० हजार रुपैयाँमा थप खरिद गरिएको थियो । सो जग्गामा अहिले क्यान्टिन सञ्चालन भइरहेको छ ।

व्यापारी धाख्वाले होटल चलाउने उद्देश्यले काठमाडौँ सहर देखिने अग्लो ठाँउ पेरिसडाँडामा सो घर बनाएका थिए । घर बनाउँदा उनले राष्ट्रिय वाणिज्य बैंक र विभिन्न व्यक्तिसँग ऋण लिएका थिए । तर, होटल राम्ररी सञ्चालनमा नआउँदा उनी सुन तस्करी काण्डमा फसे । त्यसपछि उनको व्यापार चौपट भयो । धाख्वाले ऋण तिर्न सकेनन् । वाणिज्य बैंकले घरजग्गा लिलामीको सूचना निकाल्यो भने धाख्वालाई ऋण दिएकाहरूले ‘धाख्वा पीडित संघ’ नै गठन गरे । धाख्वाले आफूहरुसँग लागेको ऋण चुक्ता नहुन्जेल बैंकले उक्त घर लिलाम गर्न नपाउने भन्दै पीडितहरुले अवरोध गरेपछि किचलो झन् बढ्यो ।

त्यही बेला माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी मजदुर संगठनले पार्टी केन्द्रीय कार्यालय सञ्चालनका लागि घर खरिद गर्न प्रक्रिया अघि बढएको थियो । त्यसका लागि धाख्वाले वाणिज्य बैंकलाई तिर्न बाँकी २ करोड र धाख्वा पीडित संघ गठन गरेका नौ जनालाई ४० लाख रुपैयाँ दिने सर्तमा घर जग्गा माओवादीको मजदुर संगठनले खरिद गरहेको थियो ।

कोटेश्वर पेरिसडाँडामा रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय ।


एमाले-माओवादी एकता हुँदा उक्त पार्टी कार्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रुपमा प्रयोग गरिएको थियो । तर जब नेकपाभित्रै ओली एकातिर र प्रचण्ड माधव नेपालहरु अर्काेतिर उभिएर पार्टी करिब विभाजनको अवस्थामा पुगेको थियो । त्यसबेला प्रचण्ड -माधव नेपालले पेरिसडाँडालाई पार्टी कार्यालयको रुपमा प्रयोग गरेका थिए ।

२०७७ फागुन २३ मा सर्वाेच्चले एमाले माओवादी एकता बदर गरेपछि फेरि पेरिसडाँडाबाट माओवादीले पार्टी केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले भने ललितपुरको बालकुमारीबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । उसले पनि भाडामा यो कार्यालय सञ्चालन गर्दै आइरहेको हो । जसपाका केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार अहिले उक्त घरको भाडा जसपाले २ लाख तिर्दै आइरहेको छ ।

ललितपुर बालकुमारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यालय ।

‘हामी पनि घर भाडामै लिएर कार्यालय सञ्चालन गरेका छौँ, मासिक अहिले २ लाख केन्द्रीय कार्यालयको घर भाडा तिर्छौं,’ अधिकारीले भने ।
अधिकारीले २ लाख भाडा तिर्ने गरेको बताए पनि जसपाले मासिक एक लाख २५ हजार भाडा तिरेर पार्टी कार्यालय सञ्चालन गर्दै आएको जसपाका अर्का एक नेताले बताए ।

जसपाको ललितपुरको महालक्ष्मीस्थानमा २४ आना जग्गा पार्टी कार्यालय बनाउनका लागि खरिद गरेको छ । प्रति आना करिब २५ लाख रुपैयाँको दरले ६ करोड रुपैयाँभन्दा बढीमा जसपाले कार्यालय बनाउन जग्गा खरिद ५ वर्षअगाडि गरेको हो । आफ्नै जग्गामा पाँच करोड रुपैयाँमा पाँचतले भवन बनाउने गरी उपेन्द्रको पार्टीले हरेक प्रदेशलाई आर्थिक संकलनको कोटा छुट्याएको थियो र आम रूपमा आर्थिक सहयोगका लागि आह्वान गरेको थियो ।

१ कात्तिक ०७६ मा वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा बनेको ११ सदस्यीय भवन निर्माण समितिले काम थालिसकेको थियो ।

उता जसपाबाटै फुटेको लोकतानित्रक समाजवादी पार्टी (लोसपा)ले भने बबरमहलस्थित लोसपाकै कर्मचारी संगठनको कार्यालयमै पार्टी केन्द्रीय कार्यालय राखेर सञ्चालन गर्दै आएको छ । तर उनीहरुले भवनमा पार्टी कार्यालयको बोर्ड राखेका छैनन् । गेटबाहिर एक छेउमै पार्टी कार्यालयको बोर्ड राखिएको छ ।

बबरमहल काठमाडौंमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालय ।

राज्यको भोगाधिकार रहेको र कर्मचारी संगठनलाई दिएको भवनबाट महन्थ यादवको पार्टी कार्यालय चलिरहेको छ । कर्मचारी संगठनका अध्यक्ष भूवनेश्वर चौधरीले लोसपा पार्टीले भवनको वरिपरि वाल लगाउन सहयोग गरेको, राजनीतिक विचार, मुद्दा पनि मिल्ने र उठाउने भएकाले पार्टी कार्यालय चलाउन भवनबाट दिएको बताए ।

‘उहाँहरुले भवनको कम्पाउण्ड लगाउन सहयोग गर्नु भएको छ । मधेसको मुद्दा पनि उठाउनुहुन्छ । राजनीति विचार मिल्ने भएकोले उहाँहरूलाई अर्काे व्यवस्था नहुँदासम्म कार्यालय सञ्चालन गर्नका लागि दिएका हौं,’ अध्यक्ष चौधरीले भने ।

त्यहाँ झण्डै १ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा र भवनबाट लोसपाले पार्टी कार्यालय चलाइरहेको छ । त्यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाका पनि उपत्यकाभित्रै पार्टी कार्यालयहरु छन् ।

कसरी चल्छन् पार्टी कार्यालय ?

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ पार्टी केन्द्रीय कार्यालय पार्टी सदस्यहरूको लेवी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुबाट उठाइने लेवी र अन्य सहयोगहरुका कारण पार्टी कार्यालयको खर्च व्यवस्थापन हुने बताउँछन् ।

हाम्रो पार्टी कार्यालय चल्ने भनेको मुख्यतः पार्टी सदस्यहरुको लेविबाट नै हो । हामीले पार्टीका सदस्यहरुको लेवी, जनप्रतिनिधिहरुको लेवी नियमित रुपमा उठाउने गर्दै आएका छौँ । त्यसबाट नै हाम्रो पार्टीको कार्यालय लगायतका काम सञ्चालन हुँदै आएको छ,’ तामाङले भने, ‘त्यसबाहेक पनि अन्य सहयोगीहरुले दिने सरसहयोग भरथेग हुने गर्छ ।’

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सबै दलले पार्टी सदस्यको लेवीलाई नै आफ्नो प्रमुख आम्दानीको स्रोत बनाउने गर्छन । मुख्यतः लेवीबाटै पार्टी चल्ने गरेको राजनीतिक दलका नेताहरु बताउँछन् ।

०००

प्रतिक्रिया