शुक्रबार, वैशाख ७, २०८१

प्रत्येक दिन हुन्छन् ठगीका घटना, नियन्त्रणको उपाय के हो ?

चार वर्षमा २ हजार ४ सय ८४ ठगीका घटनाहरु दर्ता

दया दुदराज २०७८ असोज १ गते २०:२३

काठमाडौं । बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ६ की २० वर्षीया मीना बुढामगरलाई एउटा बिदेशी नाम गरेको पेसबुक अकाउण्टबाट फेसबुकमा रिक्वेस्ट आयो । उक्त विदेशी नाम थियो ‘डोनल्ड किन्ले’ ।

बिदेशी नागरिकबाट आएको रिक्वेस्ट मीनाले स्वीकार गरिन् । उनीहरु सामाजिक सञ्जालमार्फत साथी बनेपछि एकअर्काबीच कुराकानी बाक्लिन थाल्यो ।
त्यहीबीच ०७७ असोज ६ गते दिउँसो बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी भयो । कुराकानीकैबीच ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताए ।

किन्लेले केही सामान पठाएको बताए लगत्तै उनले अपरिचित नम्बरबाट फोन आउँछ र बुढामगरको कानमा गुञ्जिन्छ, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि मीना केही समय अक्क न बक्क पर्छन तर केही बोल्न सक्दिनन् । त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी थालनी हुन्छ ।

फेसबुक र ह्वाट्सएपको लगातार कुराकानीका क्रममा किन्ले नाम गरेका व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । जब किन्ले नाम गरेको व्यक्तिले सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् । तब चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा परेर बुढामगरको ठगिने श्रृृङ्खला शुरु हुन्छ ।

आइएमई र आइपीएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन् । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार रुपैयाँ पठाइन् । उनले असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गरिन् ।

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार रुपैयाँ बुझाइन् । तर चिठ्ठाको रकम र ल्यापटप भने हात परेन । प्रलोभन देखाएर ठग्नेहरु भने त्यसपछि पनि रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहे । त्यसपछि बल्ल बुढामगरले आफू ठगिएको महशुस गरिन् । र, कात्तिक ३ गते प्रहरीमा जाहेरी दिइन् ।

उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गर्यो । प्रहरीले तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मीलन क्षेत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौँ महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेलगत्तै पीडित बुढामगरले केही न्यायको आश गरेकी छन् ।

विदेश पठाउने वाहनामा ठगी

पछिल्लो समय विदेश पठाउने बाहनामा ठगी गर्नेहरुको संख्यामा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय विभिन्न अपरेशन अन्तर्गत धेरै वैदेशीक रोजगारीको वाहनामा ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

गत असार ४ गते महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक मार्फत नक्कली आइडी बनाई विभिन्न व्यक्तिहरुलाई जापान कामदार भीसामा जापान पठाइदिन्छु भन्दै अवैध रुपमा रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाले अवैध रुपमा विभिन्न पीडितहरुसँग रकम असुली गरेको अभियोगमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्दै आएका ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका ४ श्रीअन्तु घरभई काठमाडौंको नयाँबजार बस्ते ३३ वर्षीया पूजा राई, भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटी बाँसवारी बस्दै आएका २१ वर्षीया दीपिका केसी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३३ वर्षीय राजेन्द्र ढकाललाई पक्राउ गरेको हो ।

सामजिक सञ्जाल फेसबुुकमा टानाकायोका को नामबाट फ्रेन्ड रिक्वयस्ट पठाई आफू जापानको इमिग्रेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग कामदार भीसाका लागि रकम ३९ लाख ६८ हजार ९ सय ९६ नेपाली रुपैयाँ डिपोजिट गर्न लगाई सम्पर्कविहिन भई ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

त्यस्तै, सिङ्गापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दीपबहादुर गुरूङलाई गत साउन २६ गते पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ का ३९ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ५ हाँडीगाउँमा धादिङ थाक्रे गाउँपालिका ८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भन्दै भिसा प्रक्रिया मिलाउन उक्त रकम उठाएर सम्पर्कविहीन भएको जाहेरीका आधारमा महानगरीय प्रहरीवृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

त्यसैगरी वर्किङ भीसामै इटली पठाइदिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई ठगी गर्ने एक जनालाई ललितपुरको टिकाथलीबाट गत असार १६ गते प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले उदयपुरको त्रियुगा नगरपालिका ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रेग्मीले जिल्ला रामेछाप उमाकुण्डगाउँपालिका ३ बस्ने २३ वर्षीय सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी प्रलोभनमा पारे १० लाख ५० हजारका दरले उठाएका थिए ।

प्रहरीका अनुसार रेग्मीले तीनै जनाबाट ३१ लाख ५० हजार रकम लिई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार रहेका थिए ।

त्यस्तै, कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैंयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले गत वैशाख १२ गते पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाले मकवानपुरको बागमती गाउँपालिका–८ भवानचुली घर भएका २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार मकवानपुरबाट पक्राउ गरेको छ ।

पक्राउ परेका मोक्तानले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया लैजान भन्दै प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाइदिन्छु भन्दै उनीहरुबाट ३९ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

ठगीका अनेक बाहना

नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।

उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको उनले जानकारी दिए । चन्दा ऐन २०३० अन्तर्गत जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तै, आफुलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृतको परिचय दिदैँ ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गत साउन ७ गते डोटीका कुशल भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो ।

उनलाई यसअघि पनि २६ चैत्र २०७५ मा प्रकृतिको विद्युतीय मुद्दा र ठगी मुद्दामा महाशाखाले नै कारबाही गरेको थियो । सो मुद्दामा उनी १ वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरेर बाहिर निस्किएको खुलेको छ ।

महाशाखाको अनुसन्धानमा उनले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरी साथी बनेर ‘आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ’ भनि विश्वासमा पारी ठगी गर्दै आएको खुलेको छ । प्रहरीले यसका साथै अन्य विभिन्न वाहनाहरुमा ठगी गर्न सक्रिय समूहहरुलाई पक्राउ गरेको छ ।

कति छन् ठगीका घटना ?

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा २ हजार ४ सय बढी ठगीका घटनाहरु दर्ता भएका छन् । पछिल्लो ४ आर्थिक वर्षमा देशभर २ हजार ४ सय ८४ वटा ठगीका घटनाहरु दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले मेरोन्यूजलाई जानकारी दिए ।

एसएसपी कुँवरका अनुसार आर्थिक वर्ष २०७४/२०७५मा ६ सय ७ वटा, आर्थिक वर्ष २०७५÷२०७६मा ६ सय ६८ वटा, आर्थिक वर्ष २०७६÷२०७७ मा ६ सय ७२ र आर्थिक वर्षमा ५ सय ४२ वटा गरी जम्मा २ हजार ४ सय ८४ वटा ठगीका घटनाहरु दर्ता भएका छन् ।

पछिल्लो आर्थिक वर्षमा ठगीका घटनामा ओरालो लागेको देखिन्छ तर चालु आर्थिक वर्षमा ठगीका घटना बढ्न सक्ने प्रहरीले आकंलन गरेका छन् । ‘लकडाउनका कारण ठगीका घटनाहरु अझै वृद्धि हुन सक्छ ।’ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले मेरोन्यूजसँग भने ।

राज्यले पीडितलाई हेला गर्योः पूर्वडीआइजी भण्डारी

ठगीका घटनाहरु नियन्त्रणमा राज्यको ठूलो भूमिका रहेको नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (डीआइजी) राजेन्द्रसिंह भण्डारीले बताए । उनले ठगी नियन्त्रणमा राज्यपक्षे नै विशेष जोड दिनुपर्ने बताए । ‘पछिल्लो समय ठगीका घटनाहरु मौलाएको पक्कै हो । यसको दोष सरासर राज्यलाई जान्छ ।’– उनले भने ।

राज्यले ठगीलाई गम्भीर रुपमा नलिएर सामान्य ठानेको उनले बताए । ‘राज्यले यसलाई जसरी लिनुपर्ने हो त्यसरी लिएकै छैन ।’, मेरोन्यूजसँगको संवादमा पूर्वडिआईजी भण्डारीले भने, ‘राज्यपक्षले यस्ता अपराधिक घटना नियन्त्रण गर्न विषेश ध्यायन दिनु आवश्यक छ, यसलाई हेल्चेक्राई गरियो भने यस्ता अपराधिक घटनाले राष्ट्रयस्तरमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा नै देशको इज्जतमा दाग लाग्छ ।’

राज्यले चाहेमा यस्ता घटनाहरु नियन्त्रण हुन सक्ने पूर्वडिआईजी भण्डारीको भनाई छ । ‘ठगीका कारण पीडामा परेकाहरुलाई राज्यले झन पीडा थप्ने काम गरेको छ ।’ उनले भने, ‘धेरै प्रमाण जुटाउनुपर्ने प्रावधानका कारण पिडित पक्ष झन पिडामा परेको छ । जसको कारणले गर्दा पिडितहरुले अनेक झमेला बोक्नु भन्दा मुद्दालाई सामान्य बनाउन तत्पर हुन्छन् र अभियुक्तहरुले यसै उन्मुक्ति पाउँछन्, फेरि त्यही ब्यक्तिले अर्को अपराधिक गतिविधि गर्छ ।’

यस्ता घटनाको न्यायीक व्यवस्था स्थानिय सरकारमा नै गर्नुपर्ने र सरकारले शिक्षामा बढी जोड दिनुपर्ने पूर्वडीआईजी भण्डारीको सुझाव छ ।

व्यक्ति आफैँ सचेत हुनु आवश्यक ः पूर्वडिआईजी ठकुरी

ठगीका घटनाहरुको विषयमा व्यक्ति आफै सचेत हुनुपर्ने नेपाल प्रहरीका पूर्वडिआईजी हेमन्त मल्ल ठकुरीले बताए ।

‘ठगीका घटना सामान्य भने होइनन्, यहाँ मान्छेले मान्छेलाई नै ठगेका घटनाहरु बढी मात्रामा सुनिन्छ तर मान्छे आफै सचेत हुनु आवश्यक छ ।

कसलाई विश्वास गर्ने र कसलाई विश्वास नगर्ने आफैले सोच्नु आवश्यक छ’, उनले भने, ‘राज्यले यस विषयमा बढी शिक्षा छर्नु आवश्यक साथै नयाँ प्रविधिअनुसार बढ्ने विभिन्न अपराधिक घटनाहरुबारे प्रहरी तथा सम्बन्धित निकायले बेलावखत सुसुचित गराईराख्नु आवश्यक छ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया