बुधबार, वैशाख १२, २०८१

तालिवान सरकारपछि अफगानबाट सवा ६ लाख जना विस्थापित

मेरोन्यूज २०७८ भदौ ३१ गते १६:४५

काठमाडौँ । अफगानिस्तानमा तालिवानको सरकार आएसँगै ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो संख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरूको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८ सयभन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग प्रदान गरिएको अधिकारीहरूले जनाएका छन् ।

देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ । तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाको संख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ । देशबाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकको संख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

विस्थापितमध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले सबैलाई आह्वान गरेको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायता स्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्र संघले विदेशी समुदायलाई आग्रह गरेको हो ।

संयुक्त राष्ट्र संघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने जनाएका थिए । त्यस क्रममा उनीहरूले तत्काल यति रकम दिने बताएका थिए ।

हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो । सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दातासँग संयुक्त राष्ट्र संघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरे ।

उनले अहिले अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताए । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिवानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । एजेन्सी

प्रतिक्रिया