शुक्रबार, चैत १६, २०८०

बजारमा आउने भयो टेलिकमको ‘नमस्ते पे’

मेरोन्यूज २०७८ भदौ २८ गते १८:१२

काठमाडौं । नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ ।

कम्पनीले आवश्यक तयारी पूरा गर्दै ‘नमस्ते पे’ को सेवा मंगलबार भदौ २९ गतेदेखि सञ्चालनमा ल्याउन लागेको हो ।

त्यसो त कम्पनीले यसअघि समेत भुक्तानी सेवा सार्वजनिक गर्ने मिति तय गरेको थियो । तर आवश्यक तयारी पुरा नहुँदा केही ढिलो गरी सेवा सञ्चालनमा आउन लागेको टेलिकमले जनाएको छ ।

नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको र मंगलबारदेखि सञ्चालनमा आउन लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनुका साथै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।

त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सकिने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया