शनिबार, वैशाख ८, २०८१

एमालेमा ७० वर्षे उमेर हद : कुन नेता कति उमेरका ?

मेरोन्यूज २०७८ भदौ २८ गते १७:३७

काठमाडौं । एमालेको विधान महाधिवेशनको मिति तोकिएपछि भावी नेतृत्व र संगठनको संरचनाबारे बहस आरम्भ भएको छ । खासगरी एमालेका नेताहरुको उमेर र भावी नेतृत्वको विषयमा बहस आरम्भ भएको छ ।


नवौ महाधिवेशनले पास गरेको विधानले ७० वर्षे उमेर हद तोकेको र धेरैजसो नेताहरु सोही उमेरहदका कारण राजनीतिक रुपले अवकाश समेत पाइसकेका छन् । दशौ महाधिवेशन अघि विधान महाधिवेशनले तय गर्ने ७० वर्षे उमेर हदको विषयमा एमालेका युवा नेतृत्वले जोड दिइरहेका छन् ।

अहिले माधवकुमार नेपालले नयाँ पार्टी खोलेर अघि बढेपछि एमालेभित्रको नेतृत्व चाडै नै पुस्तान्तरण हुने अवस्थामा छ । वामदेव गौतम ७४ वर्ष, झलनाथ खनाल ७२ वर्षको हुँदा पार्टीबाट बाहिरिएका छन् । उनीहरुको हकमा पार्टीको विधान आकर्षित हुनु परेन ।

केपी शर्मा ओली फागुनमा मात्रै ७० वर्ष पुग्ने भएकाले फागुन अघि महाधिवेशन भए एक पटक अध्यक्षका लागि उम्मेदवार हुन पाउँछन् । तर फागुनपछि उनले पनि पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । अमृतकुमार बोहोरा अहिले ७४ वर्षका भए । उनी पार्टी विधान बमोजिम जेष्ठ कम्युनिष्ट मञ्चमा जाने अवस्था छ । उनी पार्टीको नेतृत्व तहमा आउने अवस्था छैन । पार्टीको नेतृत्वमा माधव नेपाल आउन सक्ने भएपनि उनी बाहिरिएपछि अन्य नेताहरुलाई सहज भएको छ ।

नेकपा एमालेको आगामी दुई- तीन ओटा महाधिवेशनमा नेतृत्व दावी गर्ने यिनै हुन् नेताहरु । एमाले स्थायी कमिटिमा रहेका नेताहरु । तस्वीर :ओलीको नीजि सचिवालय

ओलीपछिको उमेरमा यतिबेला सुवास नेम्वाङ रहेका छन् । उनी अहिले ६९ वर्षका भए । अबको एक वर्षपछि मात्रै उनी ७० वर्षका हुनेछन् । फागुनपछि ओलीले पार्टीको नेतृत्वमा कार्यवाहक अध्यक्षको रुपमा छाडे भने सुवास नेम्वाङ वा इश्वर पोखरेल मध्ये एक जनाले जिम्मेवारी लिने अवस्था छ । ११ औं महाधिवेशन नआइपुग्दै दुवै नेताहरु अवकाश पाउनेछन् । ११ महाधिवेशनअघि युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्यले पनि राजनीतिक रुपमा अवकाश पाउनेछिन् । केशव बडाल, महेन्द्र पाण्डे लगायतका नेताहरु अबको दशौ महाधिवेशनबाटै विदा हुनेछन् । वामदेव गौतम, झलनान खनाल र मुकुन्द न्यौपाने एमालेमै रहेको भएपनि उनीहरुले दशौ महाधिवेशनबाट ससम्मान विदाइ हुनुपर्ने थियो । न्यौपाने अहिले ७१ वर्षका भए ।

एमालेको विधान-२०४९ (नवौं महाधिवेशनबाट संशोधन २०७१)ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन रोक लगाएपछि २०७१ बाट लागू भएको यो बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्दिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । ६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधानको पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएपछि त्यतिबेलाको माहोलले युवा पुस्ताको नेताहरुलाई भने भावी नेतृत्वका लागि उत्साही बनाएको थियो ।

फागुन पछि होला त ओलीको विदाई होला ?

एमाले अध्यक्ष ओली ११ फागुन २००८ सालमा जन्मिएका हुन् । एमालेको महाधिवेशन ५ मंसिर २०७८ मा भयो भने उनी अध्यक्षमा उम्मेदवार हुन पाउछन् । ओली ७० वर्ष पूरा हुन महाधिवेशनका बेला अझै तीन महिना बाँकी भएकाले उनी अध्यक्षका लागि योग्य उम्मेदवार हुन् । तर उनले धेरै पटक आफूले दोहोर्याएर कक्षा नपढ्ने घोषणा पनि गरेका छन् ।

उचित समयमा नेतृत्व हस्तान्तरणको वातावरण पनि बनाउने बताएका छन् । तर पनि ओलीले एक पटक एमालेको नेतृत्व लिने उनी निकटका नेताहरुले बताउने गरेका छन् । यसवर्ष हुने स्थानीय निकायको निर्वाचन र संघीय तथा प्रदेश निर्वाचन ओलीकै नेतृत्वमा भाग लिएर मात्रै ओलीको विदाई प्रकृया शुरु हुने ओली निकटका नेताहरुको भनाई छ ।

यद्यपि ७० वर्ष पूरा भएर ७१ वर्षका लागेको बेला ओलीले नैतिकता देखाएर नेतृत्व हस्तान्तरण गर्न पनि सक्ने एक थरी नेताहरुको आँकलन छ । फागुनपछि ओलीले कार्यकारी पद छोड्न सक्ने वा नसक्ने भन्नेबारेमा ओली निकटका नेताहरुनै अलमलमा छन् ।

ओलीले फागुनपछिनै नयाँ नेतृत्व हस्तान्तरण प्रकृया शुरु गरे भने उनकालागि पार्टी सम्मानजनक स्थान छुट्याएर विदाई गर्ने संभावना रहेको पनि नेताहरुले बताउन थालेका छन् । तर त्यो सम्मानजनक स्थान भनेको के हो भन्ने बारेमा भने नेताहरु अलमलमै छन् ।

एमालेमा उमेर हदको वहस : कुन नेता कति वर्षका ?

केपी शर्मा ओली : २००८ फागुन ११ (७० वर्ष)
ईश्वर पोखरेल : २०१० माघ २२ (६८ वर्ष)
अमृतकुमार बोहोरा : २००५ वैशाख १५ (७४ वर्ष)
सुवास नेम्वाङ : २००९ फागुन २८ (६९ वर्ष)
अष्टलक्ष्मी शाक्य : २०१० असोज (६८ वर्ष)
रामवहादुर थापा (बादल) : २०१२ वैशाख १९ (६६ वर्ष)
प्रदीप ज्ञवाली : २०१९ भदौ २८ (६० वर्ष)
भीम रावल : २०१३ मंसिर २९ (६६ वर्ष)
घनश्याम भुसाल : २०१८ भाद्र २६ (६१ वर्ष)
विष्णु पौडेल : २०१६ मंसिर ५ (६३ वर्ष)
सुरेन्द्र पाण्डे : २०१५ भदौ ९ (६४ वर्ष)

प्रतिक्रिया